Lee Kuan Yew, Deuba अनि Oxford

deuba

July 5, 2017 •नेपाली •Author:

ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगतिको धेरैले आरिस गर्छन् । पश्चिमा जगतले उनलाई नरम तानाशाह भनेर व्याख्या गरेका छन् । अहिले नेपालमा पनि ली क्वान यू को खोजी भइरहेको छ । समस्या कहाँ नेर छ भने नेपाल भनेको सिंगापुर होइन । 

 
ली क्वान यूलाई टम प्लेटले (पुस्तक चर्चा यहाँ हेर्नुहाेस्)भारतमा पनि सिंगापुरको जस्तै रुपान्तरण सम्भव छ वा छैन भनेर सोधेका थिए । उनले भातरको विविधतालाई तेस्र्याउँदै भारतको हकमा सिंगापुरको जस्तो परिवर्तन गर्न आफूले सक्दैन थिए । ब्रिक्स देशहरुमध्यबाट भारत र चाइनाको बारम्बार तुलना हुने गर्छ । त्यसमा भारतलाई चाइनाले सजिलै पछार्न सक्ने अनुमानहरु छन् । त्यसको कारण के भने भारत विभिन्न जातजाती, भाषा, र  संस्कृतिमा विभक्त छ । तर चाइनामा एक हौँ भन्ने भावना छ । त्यसैले भारतमा सबैको चित्त बुझाउन जति गाह्रो छ चाइनामा त्यस्तो छैन । नेपाको हकमा पनि भारतको जस्तै सांस्कृतिक विविधता छ र सिंगापुरको जस्तो सामुद्रिक पहुँच पनि नेपालसँग छैन । सामुद्रिक पहुँच नहुनु भनेको अन्तर्राष्ट्रिय व्यापारमा असहजता आउनु हो । त्यसैले पनि नेपालमा सिंगापुर जस्तै विकासको अपेक्षा गर्नु उच्च महत्वाकांक्षा हुन्छ । बरु नेपालमा स्वीट्जरल्याण्ड जस्तै वैदेशिक नितीले सफलता दिलाउन सक्छ । जातीगत र सांस्कृतिक विविधताको पाटोले त्यो अवस्थामा पनि बाधा त पु¥याउँछ नै तर छिमेकि मुलुकहरुसँगको सम्बन्ध भने नेपालको लागी फाइदा पुग्ने स्तरमा निर्माण हुन्छ । 
 
ली क्वानको प्रसंग साझा सवालका एक प्रश्नकर्ता सागर ढकालले प्रम देउवालाई प्रश्न राख्दा निस्किएको हो । त्यसैले लीका सम्बन्धमा आफूले जानेको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । नेपाल ली कै जिम्मा लाउँदा पनि विकास गर्न सकिन्न थियो । एक ठाउँमा सफल भएको प्रयोग अर्का ठाउँमा पनि सफल हुन्छ भन्न के छ र ? हिमालमा फलेको स्याउ तराईंमा रोप्दा अनि तराईंको आँप हिमालमा रोप्दा के दुबैमा फल लाग्छ र ? विकास अर्थशास्त्रका सिद्धान्तहरु पनि त्यस्तै हुन् । कति सम्म भनिएको छ भने विकसित देशका नितीहरु विकासोन्मुख देसमा लागु गर्न खोज्नु भनेको एक ठाउँमा उम्रने उनिउको बोटलाई अर्को ठाउँमा सार्नु जस्तै हो । उनीउ मर्ने मात्रै होइन कहिलेकाहिँ विसाक्त भएर झ्याँगिन पनि सक्छ । 
 
ली को प्रसंगसँगै उनले बेलायतका प्रधानमन्त्री र तिनको योग्यताको बारेमा प्रसंग उठाएका थिए । नेपालमा किन शैक्षिक रुपमा अब्बल विद्यार्थीहरु प्रधानमन्त्री हुँदैनन् भनेर उनले प्रश्न तेस्र्याएका थिए । सायद प्रश्न कर्तालाई थाहा थिएन कि प्रम देउवा त्रिविबाट कानुनमा स्नातक, राजनीति शास्त्रमा स्नातकोत्तरलण्डन स्कुल अफ इकोनमिक्समा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा सोधार्थ भर्ना भएका छात्र हुन् । शैक्षिक योग्यताको सवालमा देउवालाई कमसल भन्न मिल्दैन । फेरी हामीले देउवाको समयकालको पनि ख्याल राख्नु पर्छ । देशमा पञ्चायत चलेका बेलामा शिक्षामा कत्तिको पहुँच थियो भन्ने सबैले हेक्का राख्नु जरुरी छ । 
 
प्रश्न कर्ताले ली क्वानको प्रसंग र अक्फर्डको प्रसंगमै प्रश्न रोकेको भए सायद बेग्लै माहोल हुन्थ्यो होला । तर उनले व्यक्तिगत आक्षेप समेत लगाए । देउवाले हिरा पाएर ढुङ्गा बनाएको र देशले उनीबाट उन्मुक्ति चाहेको कुरा राख्नु र प्रश्न सकिएपछि पनि कुरा राख्न नरोक्नुले माहोल अलि असहज बनाएको कार्यक्रम हेर्ने जो कोहिले पनि अनुमान लगाउन सक्छ । 
 
शैक्षिक योग्यता सम्बन्धी प्रश्न र ली क्वान यूको प्रसंगले देउवा तातिएका हुन् जस्तो मलाई लाग्दैन । किनभने उनी शैक्षिक योग्यताका सवालमा कमजोर छैनन् बरु उनी पार्टीले भावी नेतृत्व निर्माणका लागी विदेश पढ्न पठएको व्यक्ति हुन् । ली क्वान यूको सन्दर्भमा कांग्रेसीहरुले सायदै सहमती जनाउलान् । स्वतन्त्रता र प्रजातन्त्रलाई सर्बोपरी मान्नेले तानाशाहीलाई आदर्श मान्ने कुरै भएन । फेरी ली क्वान यू शैली महेन्द्रले अपनाउन नखोजेका होइनन् । त्यसले कति सफलता पायो यो समयले देखाइ सकेको छ । अझै पनि मधेसीहरुले महेन्द्रीय राष्ट्रबादको विरोध गरिरहेको स्थिति छ । देउवा तातिनुमा उनलाई नेपाललाई हिराबाट ढुङ्गा बनाएको आरोप लाग्नु अनि कहिले विस्थापित हुने भनेर सोधीएको प्रश्न हो जस्तो मलाई लाग्छ । त्यसको जवाफ दिने क्रममा पनि प्रतिवाद गरि रहनुले उनलाई झन् आक्रोसित बनाएको थियो । प्रम रिसाउनु हुन्छ वा हुँदैन भन्ने कुरामा मान्छे भएपछि संवेगहरु पूर्णतया निशेध गर्न सकिन्न । सकियो भने राम्रो हो । साझा सवालले सम्पादन गर्दा पूर्ण प्रश्न नराखी आधा प्रश्न राखेकाले पनि प्रम त्यत्तिकै तात्तिए भन्ने परेको छ । प्रश्नकर्ताको फेसबुक पेजमा जाने हो भने उनले पुरा प्रश्न राखेका छन् । त्यसलाई हेर्दा प्रम तात्तिनु त्यति अस्वाभाविक लाग्दैन ।  
 
 

Sagar Dhakal added 2 new photos.
July 1 at 11:54am ·
हिजोको BBC साझा सवालमा प्रधानमन्त्री शेर-बहादुरसंग उहाको निवास बालुवाटारमा मेरो र उहाको नराम्ररी झोक्का झोक्कि नै भयो l मेरो प्रश्नले प्रधानमन्त्रिको मन र मस्तिस्कमा नराम्ररी घोचेको हुनुपर्छ ! ( २-३ मैले सोधेका साना प्रश्न तल छन् )==============================================
बिध्याजीले तपाइले प्रस्न गरेपछि बहस तात्यो भन्नु भयो, एती सम्म कि सम्पूर्ण उपस्थित जनता नै सहि प्रस्न गर्दा उत्तर नदिएर उल्टै रिसाउने भनेर सबै कराएर केहि उठेपछि चाही आखा रातो बनाएर संयमित हुनु भो ! रेकर्ड देखाए भने भोलि राती ९ बजे हेर्नु होला, देखाऊदैनन् कि, खोइ हेरौ l मेरो टिपाएको प्रश्न यस प्रकार थियो, रेकर्डमा थोरै फरक होला !

(भिडियाे हेर्दा सबै सवाल उस्तै देखिँदैन केहि उनले गलत लेखेका छन् केहि सम्पादित भए हाेलान् ।)
 
 यो अक्फोर्ड काण्ड बाहेक पनि धेरै कुराहरु कार्यक्रममा उल्लेख भएको थियो । तिनको खासै चर्चा भएन । कसैलाई तथानाम भन्ने मौका नेपालीले प्राय गुमाउँदैनन् । ‘कञ्चनन रेग्मी काण्ड’मा एकतर्फी कुरा सुनेर तथानाम गर्नेहरु जस्तैको अवस्था हाल पनि रह्यो । असारमा त पानी पर्छ, रोपाईं गर्न जानुपर्छ चुनाव हुँदैन भनेर तर्क गर्नेहरु देख्दा सामाजिक सञ्जाल भरि सबै किसान मात्रै छन् कि भन्ने लागेको थियो तर चुनावमा ७०.५ प्रतिशत सहभागिताका साथ सम्पन्न भयो । मान्छेहरु मताधिकार प्रयोगको लागी जेठ असार केहि नभन्दा रहेछन् भन्ने पुष्टि भयो । दुई नम्बर प्रदेशमा चुनाव सारिनुको कारण देउवाले प्रदेश नम्बर २ मा चुनाव क्षेत्र थप गर्ने निर्णयलाई सर्बोच्चले गैह्रकानुनी बनाउनु रहेको र थप समयमा त्यहि समस्या समाधानको प्रयास गरिने कुरा उल्लेख गरेका थिए । बाहिर आए जस्तै संविधान संसोधनको ग्यारेण्टि दिइएको नभएर प्रयास गर्ने शर्तमात्रै रहेको कुरा देउवाले प्रष्ट पारे । थप समयमा वैकल्पिक बाटोहरुबाट असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याउन पर्याप्त समय मिल्ने र चुनावमा सफलताकै लागी भएपनि एमालेले मधेसी प्रति नरम बाटो अपनाउने हुँदा प्रदेश नम्बर २ को चुनावको सम्भावना बलियो छ । यी कुराहरु हालको लागी सबै भन्दा महत्वपूर्ण भएपनि ओझेलमा परे वा पारिए ।
राजनीतिक स्थिरताका लागी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागी कांग्रेस किन नउभिएको भन्दा ‘देशलाई प्रतिनीधित्व गर्न सक्ने एउटा अनुहास पाउन मुश्किल हुने र सबै जातजातीको अवसरको सुनिश्चितताका लागी संसदीय व्यवस्थाको विकल्प नभएको’ तर्क देउवाले राखेका थिए । सांस्कृतिक, भाषिक, जातीय रुपमा नेपाल जति विभक्त छ त्यस आधारमा एक जना व्यक्तिले देशकै प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने तर्क उनको थियो । हुन पनि त्यस्तो हुँदा बहुसंख्यक जनताले चुनेको व्यक्ति मात्रै कुर्सीमा पुग्ने र अल्पसंख्यकको प्रतिनिधित्वको सुनिश्चितता असहज हुने देखिन्छ । ली क्वान यूलाई नै पनि प्रत्यक्ष कार्यकारीका सन्दर्भमा गरिएको प्रश्नमा उनले संसदीय व्यवस्था नै ठीक भनेका थिए । उनको भनाइमा प्रत्यक्ष निर्वाचनले अघिल्लो दिन सम्म किसानी गरिरहेको मानिसलाई पनि एकाएक प्रधानमन्त्री बनाइ दिन सक्छ । त्यसो हुँदा राजनीतिक अनुभव र संसदीय अभ्यासका बारेमा नजानेको मान्छेलाई गाह्रो हुन्छ । सायद लीको भनाइलाई अहिलेका अमेरिकी प्रधानमन्त्री ट्रम्पले प्रमाणित गर्दैछन् । उनका एक पछि अर्को कदमको विरोध हुनुले प्रत्यक्ष निर्वाचनले स्थायित्व त दिन्छ तर त्यो नै विकासको शुत्र भने होइन भन्ने प्रष्ट हुन्छ । झन गलत मानिस माथि पुग्यो भने त्यसलाई ओराल्न गाह्रो हुन्छ भन्ने कुराको अनुभव अमेरिकी राष्ट्रपति प्रतिको व्यापक विरोधका बाबजुद उनी सत्तामा रहनुले प्रष्ट बनाएको छ । झन रक्सी र मासुमा भोटको कारोबार हुने हाम्रो समाजमा प्रत्यक्ष कार्यकारी हुने बित्तिकै सबै समस्या छुः मन्तर हुन्छ भनेर कसरी मान्ने ?देउवा धेरै आलोचित पात्र हुन् । आलोचकले उनलाई ४० बुँदे नसुनेर जनयुद्ध सुरु गर्ने, चुनाव गराउन नसकेर असक्षम घोषित भएको, प्रजातन्त्र दरबारमा बुजाएको, कांग्रेस फुटाएको, लगायतका थुप्रै आरोपहरु लगाउने गर्छन् । ०५२ सालमा माओवादीले राखेको मागमा १९५० को सन्धीको खारेजी, महाकाली सन्धीको खारेजी, खुला सिमाना नियन्त्रण, राजा र राजपरिवारको विशेषाधिकारमाथिको नियन्त्रण, धर्मनिरपेक्षता, नयाँ संविधान, लगायतका धेरै मगहरु थिए । कुन माइकालालमा त्यो बेला यी सबै माग पुरा गर्न सक्ने आँट र क्षमता थियो ? यदि थियो भने देउवाको कार्यकाल सकिएपछि किन पुरा गरिएन ती मागहरु ? ०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो भन्ने बित्तिकै त्यो साल जन्मेका सबै शिशुलाई तिमीहरु अलच्छिना भएकाले तिमीहरु जन्मेपछि माओवादी जनयुद्ध सुरु भयो भनेर भन्न मिल्छ ? देउबा राजाबाट खोसिने र असक्षम घोषित हुने दोश्रो जननिर्वाचित प्रधानमन्त्री हुन् । विपिलाई पनि अनेक आरोप लाएरै जेल कोचिएको होइन र ? अनि कोइराला र देउबालाई र्हेने नजर चाहिँ किन फरक ? ६ दलले चुनाव सार्न निवेदन दिएको नदेख्ने दोष जति देउवालाई मात्रै दिने ? वहालवाला प्रधानमन्त्री भएकै अवस्थामा पार्टिको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेपछि कोइरालाई दवाव दिन आयोजित भेलामा रामचन्द्र पौडेल सभापति चुनिने कुरा थियो । उनी देउबा उचालेर काखा लागे। देउबाले उनको रिक्तता पुरा गरे । देउबा मात्रै दोषी अनि पौडेल र कोइराला निर्दोष भन्नेहरु पूर्वाग्रही होइनन ? थुप्रै कम्जोरीहरुका बाबजुद देउबाले गरेका राजस्वको प्रमुख श्रोतको रुपमा रहेको भ्याट करको थालनी, कदमजम, उदारवादी अर्थनीति, दलित आयोग, महिला आयोग, युवा तथा खेलकुद मन्त्रालयको गठन, विज्ञान तथा प्रविधि मन्त्रालयको गठन, कमैय मुक्ति, लगायतका कामहरु त गरेकै हुन् नि ! तिनको किन चर्चा हुँदैन ? आलोचनाहरुमा सम्पूर्ण सत्यहरु भन्दा पनि धेरै पूर्वाग्रहहरु लुकेका छन् ।
 
समग्रमा भन्नु पर्दा अपजस मात्रै दिन हतार गर्नेहरुले त्यसो गर्दा कसको हित हुन्छ भन्ने कुराको पनि हेक्का राखौँ । राम्रो गर्दा राम्रो र नराम्रो गर्दा नराम्रो भन्दा मान्छेले नराम्रो कुरा त्याग्ने प्रेरणा पाउँछ । जे गरेपनि जे भनेपनि नराम्रै मात्र भन्ने र आधारहीन आरोप मात्रै लाउने हो भने उसले राम्रो गर्ने प्रयास किन गर्नुप¥यो ? आँखिर सबैले बद्ख्वाइँ नै गर्ने भएपनि जे गरे पनि भइहाल्यो नि ! फेरी आज देउवा छन् भोली ओली होलान् या अन्य कुनै नेता होलान् । यो संस्कारको रुपमा बस्यो भने यसले राम्रो नजीर दिँदैन । झापड काण्डमा संसदमै उल्ल्याउने प्रचण्डलाई पछि झापड पर्दा उनी गम्भीर बनेका थिए । आफूलाई पर्दा मात्रै गम्भीर हुने अरुलाई पर्दा खिसिटिउरीमै समय खर्चने परम्परा तोडिनु पर्दैन ? नेतृत्व मात्रै गलत प्रसासन, जनता, शिक्षक, आदि सबै सहि भएरै हो त देश विग्रेको ? अनि त्यसमा पनि एक व्यक्तिलाई इतिहासका सम्पूर्ण गल्तीहरुको भार बोकाउन खोज्नु पूर्वाग्रही नभएर के हो ? सबैले एक पटक सोचौँ । 
 

अँ साँच्ची सप्तरीमा बाढिले १३ जनाकाे ज्यान गइ सक्याे । अब त्यता तिर पनि ध्यान दिने हाे कि ?

Comments are closed.