Register
A password will be e-mailed to you.

उ पर खल्चयाङ-खल्चयाङ गर्दै हिँड्ने,
को रहिछ त्यो साड़ी माथि उद्रेको स्वीटर लगाउने?
यो कुनाको मेरो दोकान बाट अब छर्लङ्ग मैले देखें,
त्यो त टेकमाया होइन, यतैतिर आउँदै गर्ने?

हिजो सापटीमा लगेकी एक पावा चामल खातामा लेख्नै छ,
आज लगत्तै देखा परि, तर उसलाई ऋण दिन मलाई के को कर छ?
दिँदा कसरी दिनु, नदिँदा त्यसको छाक कसरी टर्छ!
आमा दोकान नआएको धेरै भो, आइन भने खाता हेर्ने डर छ!

आज कति दिन भयो त्यसले त्यो मैलो साडी लाएको,
त्यो भुस्स उडेको कपाल, सप्प पारे हुन्थ्यो, दलेर तेल तोरीको।
हिजो आउँदा गाला भरि लेग्रा थियो आँशुको,
साह्रै पर्यो होला अब, धेरै भयो सहेको।

अब आउँदै-आउँदै उ आई नै पुगी मेरो सामु,
मुटु च्यास्सै घोच्यो, मन लाग्यो भनूँ, दाल चामल सित्तैमा लानु।
पाखुरा च्याप्प समाती थाली टेकमाया मलाई तान्नु,
टाउको घुम्यो मेरो, हर-बर भएं, लू आज पनि धेरै नै भएछ पिउनु!!

घिसार्दै- तेसार्दै आफुपनि लड़बड़िंदै हिँडे़र,
टेकमाया तान्छे मलाई एक हातले, अर्को हातमा झोला भिरेर।
कुनाको मेरो दोकान तिर नजर घुमाउछु फेरेर,
झसँग हुन्छु भत्केको एक कोठो खाली-बिरानो देखेर।

लत लाग्यो जामको जबदेखि आमा गइन् छोडेर,
मन फिरेन पनि हाड़-छाला भइसकेकी जोईको अनुहार देखेर।
कुनाको त्यो दोकान मेरो लिएको ऋण काढेर,
त्यो धरी बिकाऐं, अब के जीउनु यत्तिको गिरेर!!

Leave a Reply