Register
A password will be e-mailed to you.

दुर्गाको अंश भनी पुजिएकी म
माथि एक गरी दरिद्रले आफ्नो दरिद्रताको उदाहरण प्रस्तुत गर्यो
म रोए कराए अनेक बिन्ती बिसाए तर
आफ्ना ती राक्षसी हातले मेरो देह मुसार्दै मभित्र आफूलाई प्रवेश गरायो
मेरो शरीरबाट मेरा बस्त्र, मेरो साहस र मेरो सम्मानको हरण गरी लग्यो
मेरो शक्ति र बलको मरण भएको त्यो दिन मेरो अस्तित्वको हरण भयो

सोह्र श्रृंगार गरी लक्षण कि बुहारी भनी भित्रिएकी म
अलच्छिनी र बोक्सी भनी बोलाईदै छु
आफ्नै परिवाररुपी दानवहरुले मलाई पैसा र सम्पत्तिका मोलमा दाज्न नपाउँदा
मेरा शरीरमा भएका यी नीला डाम र जलेको छालाका कारण बने
मेरो महत्व र स्वाभिमानको मरण भएको त्यो दिन मेरो अस्तित्वको हरण भयो

जसको जन्ममा घरमा लक्ष्मी आइन् भनी
पुजिएकी छोरी मलाई आज अपवित्र भनी पशु बस्ने गोठमा लगी फालिदिएको छ
यस गोठमा घामले शुद्ध आफ्नो किरण छिराउन डराउँदो रहेछ
मौसमले पनि आफ्नो निर्दयी रुप देखाउँदो रहेछ
जब म मेरो शरीरसँग लड्दै थिए
म पुस को जाडो मा कठ्याङ्ग्रिदा र मेरी आमाको त्यो न्यानो काखबाट टाढिन बाध्य भए
मेरो यस्तो बाध्यता देखेर मेरो विश्वास र मेरो आत्म गौरवको मरण भएको त्यस दिन मेरो अस्तित्वको हरण भयो

देहको मरण हुँदा केही कष्ट नभएपनि अस्तित्वको हरण हुँदा आत्माको मरण हुँदो रहेछ
अस्तित्व बिना मेरो यो शरीर केबल हाड र छाला बनीसक्यो
रामायणको दोषी सिता ठहराउने भेडाहरु माझ म नीसासिने गर्छु
हरेक दिन त्रास बोकी हिड्नुसाटो म आफूलाई लुकाउन अनेक प्रयास गर्छु
समाजका भेदभावी नियम र पाबन्दीहरुमा बाँधिनबाट टाढा भाग्ने गर्छु
आफु भित्रबाट खोक्रो भएको देख्दा अन्धकार र बिरक्ततामा हराउने र रमाउने गर्छु

मलाई न दुर्गाको अंश भनि पूज न त लक्ष्मीको दर्जा देउ
नियम र सीमाको भार नदेउ ममतामयि र दयाकी खानी पनि नभन
नारी भनि भिन्न सत्कार मलाई चाहिँदैन महान बनाई मेरो श्रद्धा पनि नगर
मात्र मलाई तिमी जस्तै एक मानिस सरह तुल्याउ
सक्छौ भने मेरो अस्तित्व खोजेर ल्याइदेउ

म तिम्रो मनोरन्जनको पात्र होइन
मलाई हेर्ने दृष्टि र दृष्ट्रिकोण को परिवर्तन गर
म मानिस भएकाले मलाई पशु वा वस्तु सरहको व्यवहार नदेखाउ
मेरो हित र अधिकारका लागि लड्नु अघि म जस्ता अन्य को अस्तित्वको रक्षा गर्न आफूलाई सिकाउ
जसरी मेरो अस्तित्वको हरण भयो त्यसरी अरूको अस्तित्व हराउन नदेउ
मेरो आदर गर्न सक्दैनौँ भने मेरो अनादर पनि नगर

Leave a Reply