Site icon Rising Junkiri

तिम्रो कथा

तिम्रो कथा

त्यो निर्जन भुमिमा
घामको रापले ओइलाएको
अनि बिहानीको शितले मुर्झाएको
फूलको कथानै तिम्रो कथा हो ।।

त्यो ढुङ्गे बगरमा उम्रेको दुबो
अनि
पहाडको छाती चिरेर पलाएको
पिपलको कथा नै
तिम्रा कथा हो ।

कैयन बाधँहरु नाघेर
कैयन घुम्तीहरु
सगरबाट सागरमा पुग्ने नदिको
कथा नै तिम्रा कथा हो ।

हावाको कथा नै तिम्रो कथा हो
मायाको कथा नै तिम्रो कथा हो
आशुँको कथा
हाँसोको कथा
संसारको सबै दुखको कथा
हामी सबैको कथा तिम्रो कथा हो ।

अनि
तिमी र हामी तिम्रो कथाका पात्रहरु
ति पात्रहरु जुन जिवनको रङ्गमञ्चमा
नाटक गरिरहेका छन्
हार र जितको
मिलन र विछोडको ।।।

Exit mobile version