आज उसको जीवनको अन्तिम दिन
समय बाँकि छ मात्र सात घन्टा
उसलाई थाहा छ कि उ मर्दैछ
केहि डर, केहि आत्म सन्तुष्टि बोकेर
घरबाट निक्लिन्छ उ
बाँच्न चाहाने इच्छाले तरंगीत हुन्छ
तर उ सँग धेरै समय थिएन
घरबाट निस्किएर
एक्कासी नजिकैको पसल पुग्छ उ
त्यहाँ बसेका मान्छेलाई
चिया पिउँदाको सहयात्री बनि दिएकोमा धन्यवाद भन्छ उ
पाँच घण्टा बाँकि रहँदा उ
सुन्दर बगैँचामा पुग्छ
झरेका पातहरु र
ओइलाएका फुलमा,
आफ्नो पुनरजन्मको विम्व देख्छ उ
अनि मन्द हाँसो हाँसीदिन्छ
बिसौँ वर्ष नबोलेको साथीलाई अचानक देख्दा
उ मुस्कुराइदिन्छ, अनि भन्छ
के छ साथी खबर ?
Photo: Pexels/ Máximo
चार घण्टा बाँकि रहदा
केटाकेटिहरु भाँडाकुटि खेलीरहेको चौरमा पुग्छ उ
उसलाइ एक्कासी बच्चा बन्ने रहर जुर्मुराउँछ
र उ,
केटाकेटिसंगै भाँडाकुटि खेली दिन्छ
कसैले नाच भन्दा चार कोष पर भाग्ने उ
कयौँ यात्रुहरुको माझ व्यस्त सडकमा गएर
विना संकोच नाचीदिन्छ
हिँड्दा हिँड्दै चिसो हावाको वेग
उसको नजीकैबाट निस्कन्छ
हावा प्रति कृतज्ञ हुन्छ उ
रुख देख्छ अनि नमन गर्छ
खेतमा झुलिरहेका धानका बाला देख्छ
अनि कृतज्ञ भइदिन्छ
पहिले कुरुप लाग्ने हरेक वस्तु
सुन्दर लाग्छ उसलाई
यत्तिकैमा आफ्नो घर पुग्छ उ
समय बाँकि छ मात्र एक घण्टा
घरको दैलोबाट भित्र छिर्दै गर्दा
दियो घरमा निभ्न लागेको दियो देख्छ
अनि आफ्नो निभ्नै लागेको जिन्दगीको सहाराले
दियो बालिदिन्छ
कोठामा छिर्छ अनि
‘मृत्यु के हो ?’ नामक पुस्तक पढिरहेकि
आफ्नी श्रीमतीको सिउँदोबाट
सिन्दुर मेटिएको देख्छ अनि
आफ्नी श्रीमतीको सिउँदोमा सिन्दुर भरिदिन्छ
र आफ्नी श्रीमतीलाइ भन्छ
तिमी यो सिन्दुर जस्तै चम्किरहनु
किनकि चम्किने वस्तु सबैको प्यारो हुन्छन्
उसँग समय बाँकि छ मात्र दश मिनेट
परीवारसँगै बसेर अन्तिम पटक खाना खाँदैछ उ
सधै तितो लाग्ने तिते करेलाको तरकारी
आज उसलाई मिठो लाग्छ
मिठो मानि मानि खान्छ
समाजमा उदासीको पर्याय भनेर चिनिने उ
आज आौधी खुसी छ
अटहास हाँसो हाँसीरहेको छ
उसलाई देखेर उसको परीवार
अक्क न बक्क हुँदै थिए
तर उ हाँसीरह्यो
अन्तिम पल्ट धर्तीका सबै वस्तुहरु प्रति
कृतज्ञता प्रकट गर्यो
अनि हाँस्दा हाँस्दै अस्ताइदियो !!