• Yagya posted an update 5 years, 1 month ago

    कविता “साँच्चै उ परिवर्तन भएको छ”
       “साँच्चै उ परिवर्तन भएको छ” ।।
    याद छ है तपाईँलाई,
    उ पल्लो गाउँको वीरे, जनयुद्ध मा होमिएको वीरे
    देशको रक्षाको लागि दुस्मनको अगाडि छाती देखाउदै हिनेको वीरे
    प्रत्येक कोष-कोष मा राष्ट्रियताले भरिएको वीरे
    आज उसकी आमाको अंग काटिन खोज्दा,
    त्यहि वीरे एक शब्द नि बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    इतिहास साची छ,
    उ यतिकै कैयौँ वर्ष युद्धमा धाएको होइन
    उ यतिकै कैयौँ वर्ष परिवारलाई छोडि देशको लागि वनवास गएको होइन।
    उसले यतिकै रमाइलो का लागि बन्दुक उठाएको होइन।
    तर त्यहि वीरे आज छिमेकि भनाउदा ले सीमा मिच्दा नि केही बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    त्यहि वीरे जसलाई परिवार र देश रोज भन्दा देश रोजेको थियो
    आलीशान महल र वनवास रोज भन्दा वनवास रोजेको थियो
    देश मिच्ने फुटाउनेको लागि बन्दुक र खुकुरी खोजेको थियो
    त्यहि वीरे आज कैयौँ पल्ट उसकी आमा को अस्मिता लुटिदा
    उ एक शब्द नि बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    याद छ,
    त्यो तल्लो गाउँको हर्केले देशको बारेमा केही अपशब्द बोल्दा
    गाऊँ बासिलाई देश छोडि खाडी जाने बाटो खोल्दा
    खुकुरी समाउदै हर्केलाई दुई टुक्रा पार्छु भन्दै हिनेको वीरे
    देश द्रोहि लाई जिउदै जलाउँछु भन्ने वीरे
    आज आफ्नै चेली विदेशीको कोठी मा बेचिदा
    अझै उ केही बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    कुनै बेला
    दिनरात मरिमेटि गाउँ बासी को सहयोग मा जुट्ने वीरे
    गाऊँ गाउँ विकास गर्दै देश विकास गर्छु भन्ने वीरे
    आमाको आँखामा एक थोपा  आँसु देख्न नसक्ने वीरे
    आज दिनरात आमा चिच्याउदै, कराउदै खुन को आसु झार्दा नि वीरे बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    हजारौं करोडौं वीरे को सपना सपनामै सीमित भएको छ
    आज उसले देशद्रोहिको पद पाएको छ।
    सबै जनता को गाली पनि खाएको छ
    तर उसलाई कसैले परिवर्तन को रहस्य सोधेन
    त्यसैले वीरे केही बोलेको छैन
    उ लाटो भएको छ
    उ अन्धो भएको छ
    साँच्चै उ परिवर्तन भएको छ।।

    ✍️यज्ञ