हेर्दा गोलो देखिन्छु म, थाहा छ नि तिमीलाई
हो त्यसैको काँडाले घोच्छु म, थाहा छ नि तिमीलाई
कोरोना भाइरस भनेर नाम राखिदिए मेरो
दुनियाँमा धमाका मच्चाएको छु, थाहा छ नि तिमीलाई ।। (१)
तिम्रो फोक्सो मेरो, वासस्थान भएको छ
तिम्रो पीडा मेरो, हर्ष बनेको छ
ऐया, आत्था भन्छौ, खुशी लाग्छ मलाई
आँशुको ढिका बगाउँछौ, प्यारो लाग्छ मलाई ।। (२)
फोक्सोमा बसेर म, सास तिम्रो अड्काएँ
मेरो मिहिनेतले, तिम्रो सबै आफन्तलाई भगाएँ
आउन दिइन नजिकमा, दुरी कायम गराएँ
स्वर्गको बाटो देखाएर, त्यो गगन चिनाएँ ।। (३)
समय थिएन तिम्रो परिवारसगँ बिताउने
बानि परेको थियौ, बाहिरी दुनियाँमा रमाउने
त्यसैले त आज, तिम्रो परिवार चिनाइदिएँ
हेर त पापी मानवलाई, भगवान जप्ने बनाइदिएँ ।। (४)
स्वार्थले भरिएको दुनियाँलाई, आज मैले कुल्चिएँ
हेर न तिमीलाई तल पारेर, मैले शिर उठाएँ
कुकर्म तिमीले गर्यौ, सजाए म दिदैँछु
मेरो स्वभावले तिमीलाई, जिउँदो लास बनाउँदैछु ।। (५)
विरुवा रोप्ने बेला, आँखा तिमीले चिम्लीयौ भएको पनि सबै आफ्नो स्वार्थलाई ख्वाइदियौ
आफ्नै कारणले तिमी, मृत्युको बाटो रोज्दैछौ हेर त रुख सबै मासेर, आज अक्सिजन खोज्दैछौ ।। (६)
मेरो ठुलो, तेरो सानो भन्थ्यौ नि संस्कृति पनि
सबै रितीरिवाज छुट्याउने, तिमी मानव त हौ नि
आजसम्म कहिले पनि देखिन मैले, तिम्रो ठुलो मन
हेर न मेरै कारणले,
आज एउटै चितामा, तिम्रो शरीर बालिदिएका छन् ।। (७)
ढुङ्गालाई पुजा गर्थ्यौ तिमी, देवतालाई चिनाइदिएँ
तिमीले चिन्छौ कि भनेर, त्यही देवतालाई अस्पतालमा पुर्याइदिएँ
सलाम गर तिनीहरुलाई, तिम्रो नयन खोलिदिए
मैले आक्रमण गर्दागर्दै पनि,
आफ्नो ज्यानको माया मारेर, तिमीलाई जीवन दिए ।। (८)
छोराछोरी खोज्थ्यौ तिमी, मरेको शरीर बोक्नलाई
अहिले छुन पनि पाउँदैनन्, त्यो तिम्रो अङ्गलाई
हेर त मेरो बलियोपन, तागत देखाए तिमीलाई
धन्यवाद देऊ तिम्रो लाश बोक्ने, ती सेनालाई ।। (९)
म देखि टाढा हुन, तिमी आफ्नो गृह नछोड
देशले बनाएको नियम, कानुनलाई तिमी नतोड
सक्छौ मलाई पछार्न, हिम्मत कहिले नहार्नु
हातमा हात समातेर, एकतामा तिमी जुट्नु ।। (१०)
Leave a Reply
You must be logged in to post a comment.