बिहानीको झिसमिसेमै हलगोरु लिएर सिराने पाटाका लमतन्न बारीका गरामा मकै छर्ने मेलो बनाइदिन कुदिहालें | घाम नलागी ओछ्यानलाई चट्टै छोडीहाल्न मलाइ रहर लागेको पनि हैन तर बाउआमाको ढल्केको उमेर र थोत्रो शरीरको म बुङ्गोमात्र साहारा थिएँ, साथिसङ्गतले नसामा फसेको एक्लो छोरो | मलाइ गाँजा तान्न सिकाउने र सँगै तान्ने साथीभाई टाढा टाढा पुगिसके | कसैको निकै प्रगति भएको सुन्छु, कोइ अझै मै जस्तै लन्ठु रैछन, समिरलाइ पोहोर नै कालले रोज्यो | त्यसैले मेरो साहारा पनि केटि खोज्दा खोज्दा थाकेका तिनै बुढाबुढी नै हुन् | गाँजाले बाजा बजाइदिए पछी गाँजाको परित्याग गरि चुरोटमा भुल्न थालेको पनि करिब एक वर्ष पुरा हुँदै थियो तर कुनै केटिका बाउले पत्याएनन् | जानीजानी कुन चाहिँ बाउले म जस्ता गाँजाले सडिएकोलाइ छोरी भिराउने ? मलाइपनि बिहेको कुनै रहर छैन, जसरिपनि दुध पिउन पाए किन गाइ डोर्याउनु ? तर बाउआमालाई गोठमा गाइ हेर्ने रहर छ जुन मैले अझै पुरा गर्न सकेको छैन |
कसेरी भन्ज्याङबाट घाम निस्किनु भन्दा पहिले मेरो शरीरबाट पसिना तुरुरु निस्किसकेको थियो | काले र तारे पनि थाकीसकेछन् त्यसैले दुश्मन बनेका काकाको र आफ्नो बारीको साँधमा ठडिएको डाली घाँसको बुटोबाट एक अँगालो घाँस ल्याएर भोकाएका तारे र काले लाइ हाल्दिएँ | आँफु पनि काल्लामा अढेस लाग्दै हातैले मुख लोपार्दै मनमा “ई खा तेरो कर्म !” भन्दै निदार देखिको पसिना पुछें | खल्तीबाट पाइलट चुरोटको खिल्ली निकालेर सल्काएँ र सुर्तिले छोडेको धुवाँलाइ मुखमा एकछिन थुनेर खुल्ला आकाशमा स्वतन्त्र छोडीदिएँ | आकाशमा छोडिएको धुवाँले बिस्तारै कोमलको सुन्दर मुहारको आकृति बनायो तर उसलाई धित मरुन्जेल हेर्न नपाउंदै आकाशबाट धुवाँसँगै कोमलको मुहार पनि गाएब भयो | उसको सुन्दरता अझै नियाल्न हतार हतार फेरी एक सर्को तानेर मुखभरिको धुवाँ हावामा उडाएँ | कोमल मलाइ हेरेर मुस्कुराउदै थिइ, मनको प्यार बाट उब्जिएकी कोमल धुवाँसँगै बिलाई |
नशा अर्थात लत नभएको मान्छेको कुनै अस्तित्व छैन भन्ने सुनेकै थिएँ तर कुलतले मेरो र परिवारको सबै खुशी लुटिदै थियो | जिन्दगि भयावह हुनु अगावै गाँजाको नशाबाट त म मुक्त भएँ तर नशामुक्त मेरो जीवनमा कोमलको प्रवेश भयो | ऊ झन् नसालु रैछे, मलाइ झन् ठुलो लतमा फसाएर गई | प्यासी जड्याहा मदिराको कुवामा डुबे जस्तै प्रेम, स्नेहको खाँचो भएको समय उसले मलाइ प्यारमा डुबाएकि थिइ | गाँजा छोडी सुधारकेन्द्रबाट सुधारिएर गाउँ आएपछि कोमललाइ देखेर मात्र मलाइ सुन्दरता प्रति मोह जागृत हुन थाल्यो |
पढेकै भए जागिर लागिसक्ने उमेर भैसकेकाले कुनै केटीको पछी लाग्न मलाइ रहर थिएन | एकदिन बेरोजगारेहरु मिलेर चोकमा क्यारम खेलिरहेकै बेला सृंगारिएकी कोमल त्यहि बाटो हुँदै कतै जाँदै थिइ | त्यत्तिकैमा केटाहरुले मलाइ “पवन यसलाई जसरि पनि उडा” भनेर बेतुकको सल्लाह दिए | मैले पनि तुरुन्तै फर्किएर उसलाई हेरेँ | साच्चिकै अति सुन्दर थिइ कोमल, तुरुन्तै आफ्नो बनाइहाल्न मन लाग्यो | मेरोलागि केटि खोज्दा खोज्दा बुवाआमाले पनि निकै दुख पाएका थिए त्यसैले मैले पनि आँट गरेर मन बनाएँ | सुन्दर लचिलो कम्मर लच्काउदै कोमल टाढा पुगिसकेपछि मैले केटाहरुलाइ असम्भव कुरा नगर्न आग्रह गर्दै “म बाहुन, त्यो मगर | नहुने कुरा नगराओ केटाहो |” भनें | मेरो कुरा सुनेर सबै गलल हास्न थाले | हाँस्दै हाँस्दै एउटाले प्वाक्क बोल्यो “कुचीकुची गर्न जातले रोक्दैन भाइ हाम्रो नेपालमा, तेरै बाउबाजेले नि जवानीमा गरेकै होलान् |” त्यसपछि सबै झन् ठुलो आवाजले हाँस्न थाले | मैले पनि “नचाइने कुरा नगर केटाहो” भनेर कुरा टार्दिएँ |
सङ्गतले बिग्रेको मलाइ फेरी सङ्गतकै जालोले जेल्दै थियो | वास्तवमै गाँजाको नशामा भुलेको मैले शरीरको वास्तविक आवश्यकता महशुस गरेकै रैनछु भन्ने कुरा ढिलै भएपनि जानें |
जसरि भएपनि उमेर कट्दै गएको मेरो भोको आत्मालाई खाना खुवाउनु थियो त्यसैले कोमलका हरेक क्रियाकलापलाइ लुकीलुकी नजिकै रहेर बुझें | कोमलका आँखा प्राकृतिक झिल भन्दापनि अति सुन्दर थिए त्यहिमाथि सिरुपाते झैँ धारिलो गाजलले उसको सुन्दरता अझै मोहक बनाउँथ्यो | घाम झैँ टलक्क टल्किएको निधार, मोहित मुश्कान, सर्लक्क सेतो घाँटी, सुन्दर बाग जस्तै शरीर, लचिलो कम्मर अनि नागवेली चाल, पहाडको जस्तै छाती, तराइ जस्तै सम्मिएको पेट अनि चेरीको वृक्षजस्तै धपधप बलेको शरीर देख्दा मेरा सारा इच्क्षा कोमलमात्र भएकी थिइ | वास्तवमै प्रकृतिझैँ पूर्ण थियो कोमलको सुन्दरता | प्रकृतिको सुन्दरतामा भन्दा दोहनमा आनन्द देख्ने म कोमललाइ पछ्याउन थालेँ | सुरुवातमा उसलाई राम्रो लागेन, मलाइ पनि तेत्ति राम्रो त के लाग्नु झन् तर पनि मिसन दोहन जारि रह्यो | बिस्तारै पानीपँधेरो, घाँसदौरा, वस्तुभाउ चराउने उसको दिनचर्यामा मैलेपनि एकै समयको दिनचर्या बनाएँ | बिस्तारै उसले मलाइ दाजुभाइको स्थानबाट प्रमोट गरेर साथि मान्न थालेकी थिइ | मेरा हरेक कुरामा हास्थी, मुश्कुराउथी | अचानक कोमलको सुन्दर मुश्काइरहेको मुहार हावामै विलिन भयो, चुरोटको सर्को मुखले जोरले तानें तर स्वाद आएन | पाइलट चुरोट त पर्यो, फिल्टर मात्र बाँकी रैछ | आखिर मैले फुकेको धुवाँको कण यहींकतै वरपर कुदिरहेछ भन्ने भावनासहित धुवाँमा बिलाएकी कोमललाइ भुलेर चुरोटको ठुट्टा पर फालिदिएँ | जुरुक्क उठेर तारे र कालेलाइ हलोसँगै अघि लगाउदै मेलो बनाउन तिरै लागेँ |
सबै गरा एकाबिहानै जोतिसकेपछी तारे र कालेलाइ ढाडस दिदै घरतिर फर्काएँ | घरमा आमैले आफ्नै खेतबारीको अर्गानिक अन्न तरकारीले खाना बनाइसक्नु भएको रैछ | काम अनुसारकै खाना खाएँ,टन्न | एक गिलास मोही पिएर दलानमा ओछ्याइएको गुन्द्रीमा टसक्क बसेँ | बुहारी नपाएकी आमै एक्लै घरधन्दामा एताउता गर्दी थिन, बाबै गोठका बस्तुलाई घाममा निकाल्दै थिए | फेरी तेइ छोटो पाइलट चुरोट झिकेर सल्काएँ, बाउआमाको अगाडी गाँजा उडाएको मलाइ चुरोट सल्काउन कुनै गारो थिएन | स्वाद लिंदा नलिंदै चुरोट सक्यो, ठुट्टा आँगनमै मिल्काएँ र बसेकै गुन्द्रीमा लम्पसारीएं | चटारो परेको काम फत्ते गरिसकेकाले शरीरलाइ आराम दिन एक डेढ घण्टा निदाएंछु |
उठ्ने बित्तिकै कामै सम्झिएँ र गोठका एक बथान खसीबाख्रा फुकाएर च्याङ्मारामको जङ्गलतिर लागेँ | जङ्गल मुनिको त्यो गुराँस फुल्ने चौरमा पुगेपछि स्वतन्त्ररुपले खसीबाख्रा चर्न थाले | चौरको अलि माथिपट्टि ठुलो चुच्चे ढुङ्गोमा बसेर चिसो हावामा भुल्दै अगाडी पट्टि देखिएको हिमाली लस्कर हेर्दै, खसीबाख्रा गन्दै, घरि टोलाउँदै, हातको लठ्ठीले ढुङ्गो कोर्दै, सुसेल्दै, घामपानी चर्किए त्यहि ढुङ्गोको पछाडी पट्टिको कापमा लुक्दै दिन बितिहाल्थ्यो | कोमल र मेरो प्रेमको साक्षि यई चुच्चे ढुङ्गो हो |
“एउटा बाख्री लिएर तेती टाढा किन जान्छस ?” भनेर आमाले कराएपनि म नसुनेकै जस्तो गरेर यई चौरमा बाख्रो डोर्याउदै आउंथे किनकि कोमलपनि आफ्ना खसीबाख्रा चराउन यतै आउथी | हरेक दिन यसै ठाउँमा लामा लामा तनाहा गफ मार्दामार्दै कोमल र मेरो सामिप्याता असल दोस्तीको रुपमा परिवर्तित भैरहेको थियो | जुन हेतुले कोमलसँग नज्दिकी बढाएको थिएँ त्यो अझै असम्भव जस्तै थियो | सिधा जे गर्ने मन छ त्यसको प्रस्ताव राख्नु कि प्रेम प्रस्ताव राखेर घुमाउरो बाटो प्रयोग गरौँ भन्ने सोचमा अल्मलिनु त ठिकै थियो, त्यहिमाथि मनको डरले केइ गर्ने आँट आइरेको थिएन | धेरै दिनहरु उस्तै उस्तै बिते |
आत्मा भोको हुने हैन हाम्रो शरीरको इन्द्रीयहरू भोकाउँदा रहेछन र शरीरले आत्मा हैन आत्माले शरीर डोर्याउने रहेछ भन्ने कुरा भर्खर बुझ्दैछु | सजिलै पूर्ति हुने शरीरको यति सानो आवश्याकता प्रति म निकै आकुल,व्यग्र र आतुर भएर जस्तो कष्ट गर्नपनि तयार हुने स्थितिमा थिएँ | अज्ञानताले ढाकेको आत्माले मेरो शरीर डोर्याउदै र मैले बाख्रो डोर्याउदै च्याङ्मारामको जङ्गलतिर लाग्नु, कोमलसँग दिनभरि गफमा भुल्नु नियमित दिनचर्या बनेको थियो |
एक दिन बाख्रो घरै देखि निकै करायो, चौरमा पुर्याएपछी भने घाँसमा भुलियो | केहिबेर पछी कोमलले पनि आफ्ना खसीबाख्रा लिएर आइ | सदाझै तेइ चुच्चे ढुङ्गोमा बसेर हामि फेरी गफमा लठारिन थाल्यौं | त्यत्तिकैमा कोमलले ल्याएको बथान बाट जंगे बोको हुत्हुतिदै मैले ल्याएको बाख्रीतिर लम्कियो | केहि क्षण बाख्रीले छल्न खोजेपनि अन्तमा बोकाको वशमा आउनैपर्यो | सजिलै सम्भव भएको त्यो सहवास देखेर घुटुक्क थुक निल्दै कोमल तिर हेरेँ, लाजले रातोपिरो हुदै कोमल मुश्कुराइ | तुरुन्तै ढुङ्गाको कापमा हामफालेर कोमलको हात समाएँ, कुनै मोहनीले काम गरेझै कोमलले पनि हामफाली | त्यो दिन मैले त्यो कापको महत्व झन् राम्ररि बुझें |
सजिलै सहवासिन पुगेका ति बोका र बाख्रा त्यसपछि कहिल्लै एक अर्काको समीपमा आएनन् तर पहिलो स्वादनै ट्वाक्क पाएको मैले सजिलै तृप्ति प्राप्त गर्न सकिन त्यसैले धेरै पटक मैले कोमललाइ त्यो चुच्चे ढुङ्गोको कापमा तानेर लगें | कोमलले आफ्नो शरीरको भोग चढाईरही, मैले भोग लिरहें किनकि हाम्रो सम्बन्ध यो भन्दा अगाडी बढ्न सम्भव छैन भन्ने पनि हामि दुबैलाई ज्ञात नै थियो | त्यसैले हामि दुबैले शारीरिक सुखभोगका लागि मात्र एकअर्कालाइ अँगालेका थियौं | गाउँ समाजमा अनैतिक मानिने हाम्रो सम्बन्धको बारेमा अझैसम्म कसैले एक सुइँको पत्तो पाएको थिएन | त्यसैले होला एकदिन पछी अर्कोदिन गर्दै हामीलाई एकआपसमा लिन हुन केइको डर लाग्न छोडेको | मेरो बाख्री गर्भवती भईछे तर मानवकोलागि धेरै किसिमका साधन र दबाई भएकाले त्यो डर पनि हामिमा थिएन | यस्तो बर्जित कार्य गर्न समेत हामीलाई अब कुनै डर थिएन |
त्यो निडरता हाम्रो घनिष्ट प्रेमको कारणले हैन, हाम्रा इन्द्रीयहरूको भोकको कारणले हो भन्ने गलत सोचाइ मेरो थियो तर एक दिन यई ढुङ्गोको कापमा कोमलले मेरो अँगालोमा बेरिदै आँखाबाट बलिद्र आँसु बगाउँदै धेरै बेरसम्म रोएकी थिइ | उसले रुँदै “म तपाइँसँगै बाँकि जिन्दगि स्वतन्त्ररुपले बिताउन चाहान्छु” भन्दा म पापी छागोबाट झरेझैँ भएँ | त्यहि हाम्रो अन्तिम मिलन थियो |
सुत्ने बेला रातभरि उसको आँसुले मलाइ सताईरह्यो | कोमलको आँसुले मलाइ प्रेमको परिभाषा सिकाएको थियो, त्यहि दिनदेखि मैलेपनि उसलाई प्रेम गर्न थालेछु | त्यहिदिन कोमल बिनाको मेरो जिन्दगि उराठलाग्दो हुने मैले अनुभूत गरें | सङ्गतिको कुरामा आएर मैले कोमलबाट जे चाहेको थिएँ, कोमलले म बाट पनि त्यहि चाहेकी हो भन्ने बुझ्नु मेरो जीवनको सबैभन्दा ठुलो पाप हो र कोमललाइ स्वीकारेर आफ्नो बनाए मात्र त्यो पापबाट मुक्त हुन सक्थेँ | मैले उसको चोखो मायालाई घात नगर्ने ठानेर जसरिपनि आफ्नो बनाउने वचन दिने निधो गरें |
उसको आँसुले मलाइ भोलिपल्ट त्यहि चौरमा तानेर लग्यो तर धेरै बेर कुर्दापनि कोमल आइन | अँध्यारो हुन लाग्दा सम्म कुरें तर उसको आगमन भएन | त्यो दिनदेखि हरेक दिन यसै ठाउँमा आएर कोमललाइ पर्खिन्छु तर आजसम्म मेरो लागि भनेर कोमल आएकी छैन | हाम्रो त्यो अन्तिम मिलनको बेला रोएकी कोमल त्यसपछी मेरो सम्झनामा मात्रै आएकी छे | आजपनि अँध्यारो हुन लागिसकेछ, खसीबाख्रा मेरो अगाडी आएर कराएपछी कोमलस्वप्न बाट बिउझिएछु | त्यसपछि खसीबाख्रा लिएर घरैतिर लागेँ |
भमरा बनेर फुलजस्ती कोमलको रस चुस्नु भन्दा पहिल्लै म पापीलाइ थाहा थियो कि हाम्रो जात मिल्दैन भनेर | मलाइ यो पनि थाहा थियो कि कोमल विवाहिता हो भनेर | उसको मेरो जात फरक परेनि, ऊ अरुकसैको पत्नी भएनि उसको त्यो आँसुले म प्रतिको चोखो माया प्रस्ट्याउथ्यो | तर, एउटा विवाहित पुरुषले श्रीमती घरमा राखेर बाहिर केटि घुमाउदा केइ नमान्ने मेरो समाजले एउटा विवाहित नारीलाई भने स्वतन्त्र भइ खुसि रोज्न वन्चित गरेको छ | कोमलले आफ्नो पतिलाई धोका दिएकी हैन, किनकि प्रेम भएपो धोका हुन्छ | बाँकी जीवन मसँग बिताउने उसको इच्क्षा भनेकै मप्रतिको प्रेम हो | तर, अझकल्टो समाजले गर्दा उसले मलाइ छोड्न बाध्य भएर आफ्नो बुढालाइ रोजी | अरु कसैबाट सुनेको, कोमलको पति विदेशबाट आएर कोमललाइ लिएर बार्हबिसे बजारतिरै घर किनेर बसेका छन् अरे | उसले छोडेर जाने बेला आफुपनि रोइ र मलाइ पनि रुवाएर गइ, जता भएनि कोमल खुशी रहोस भन्ने कामना गर्दछु |
कोमलसँग बिताएका सुन्दर पलहरुलाई आफ्नै मन मस्तिस्कमा कैद गरेर चुरोट तान्दै आफुलाई सामान्य जस्तै बनाउदै घर पुगेँ | खसीबाख्रा गोठमा हुलेर चाढै पाक्ने बेलुकीको खाना खान भान्सातिर पसेँ | चोलो खोलेर तेस्को ठाउँमा सारी बेरेर आमाले तुरुन्तै खाना पस्केर दिनुभयो भोकले पेट कुइँकुइँ भएकोले हतार हतार सिबिको झोलसँग भात मुसेर ठुलो गाँस हाल्नै लाग्दा सदाजस्तै आमैले फेरी मेरो बिहेको कुरा निकालेर किचकिच गर्न थाल्नु भो | तितो भएको पेटको भोक पनि टरेर गयो | “कुलकि छोरी, जात मिल्ने, संस्कारि, दरि” आमाको सधै यस्तै कुरा सुनेर वाक्क लाग्न थालेको थियो | कठै हाम्रो गिरेको सोच अनि गिरेको समाज, अर्काको छोरिचेली, दिदीबहिनी, बुहारीको शरीरसँग खेल्न हामीलाई कुनै जातधर्मले रोक्दैन तर विवाह कुलकै छोरी सँग गर्नुपर्ने | विवाहित अनि विदुवाको जवानी पाएसम्म लुट्ने तर विवाह त कुमारीसँग मात्र गर्नु पर्ने | यस्तो विडम्बना सम्झिदा आमालाई मुखभरिको जवाफ फर्काउन मन लाग्छ तर चुप बस्छु | आमालाई “म गर्दिन बिहे सिए” भन्दिन्छु किनकि जबसम्म यो समाजले प्रेम, विवाह र शारीरिक सम्बन्धको सहि परिभाषा बुझ्दैन तब सम्म विवाह नगर्ने अठोट जो लिएको छु |
आमाको कुराले तातेको टाउकोलाइ आँसु सोस्ने साथि सिरानीमा पल्टाएँ, पल्टी पल्टी चुरोट सल्काएँ, स्वाट्ट स्वाट्ट तानेर कोठा धुवाँमय बनाएँ | कति स्नेहपुर्वक कोमलले चुरोट मेरो मुखबाट थुतेर फाल्थी, बेलुकी घर फर्किदा शरीर गनाउँछ ठानेर | “सासु र नन्दले अलिकति सुइँको पाए जिउदै काट्छन्” भन्थी | अब त्यो समय फर्केर आउदैन | हाम्रो प्रेमिल जोडीले अब फेरी त्यो एकान्त, त्यो आनन्द पनि पाउदैन तर उसको मनमा र मेरो मनमा हाम्रो प्रेम जीवित रहनेछ भन्ने कुरोमा विस्वस्त छु | उसको र मेरो प्रेम अनुभूत मात्र गर्न मिल्छ तर व्यक्त गर्न मिल्दैन | ठ्याक्कै कोमल पवन जस्तै, आनन्दित स्पर्श हुन्छ तर अदृश्य छ |
– विवेक अरुणय काफ्ले
Leave a Reply
You must be logged in to post a comment.