Register
A password will be e-mailed to you.

प्रसव पीडाले छट्पटाइरहेकी
बनिनसकेकी आमाले
सन्तान जन्मिनुँको
पूर्व सन्ध्यामा
जमिन जतिकै उचाइको आवाजमा
मागिन् आगोको मसीले भावना कोर्ने अनुमति
र भनिन्

जुनाफ
एकैछिन पर्खनुहोस्
एउटा तीतो चिठी लेख्न चाहन्छु
मेरो शल्यक्रिया हुनु अघि नै ।

चिठीको व्यहोरा यस्तो छ
प्रिय सन्तान
तिमी जन्मिनु भन्दा
केही समय मात्रै अगाडि
तिम्रा लागि यो चिठी लेख्दैछु
ताकी तिमीले
यो ढुंगा जस्ता मान्छेहरूलाई
देउता बनाउने कला सिक्न सक।
छाडेर बनाउन मान्छेले पुज्ने
पत्थरका देउता।

म रहुँला या नरहुँला
कम्तीमा तिमी रहँदा सम्म
जोगिनू ती ढुंगाको ठेसबाट
जो तिम्रै पसिना पिएर
भर्छन् प्राण अनि तिनै हातले
समाउँछन् कठालो र घोक्राउँछन् तिमीलाई
मन्दिर पसेको कसूरमा
तिमीले बनाएको बहु भूजा भएकी
देवी पूजा गर्नेहरूले
तिमीलाई नै वर्जित गर्छन्
खुसी माग्न टाउको ठोक्काउँछु भन्दा

आरनको कोइलामा जवानी पगालेर
नअर्जाप्नु हँसिया र खूर्पा
धार नलगाउनु खुकुरीमा पनि
किनकी
तिमीले तातो रापमा पिल्सिएर
तिमीले नै धार लगाएको त्यो खुकुरीले
तिम्रै घिच्रो छिनाउनेछन्
केही कथित उपल्लो जातको पगरी भित्रका
ठ्याक्कै मान्छे जस्तै देखिने पाखण्डीहरूले
प्रेम गर्नुको अपराधको सजाय
केवल मृत्यु हुनेछ तिम्रा लागि।
त्यसैले तिमी बन्दै नबन्नू
प्रेमको चखेवा,
बरु बन्नु तिमी एउटा लडाकू
जसलाई गुमाउँदा
फुलोस् मेरो छाती
चौडा चौडा भएर।।

Leave a Reply