• Prem Sapkota posted an update 4 years, 10 months ago

    कविता 🌹🌹तिमी त शहरमा हुर्केकी मान्छे🌹🌹

    तिम्रा दुई मुलायम हातहरुमा चित्रोको काँडो बिझाउला,
    ऐसेलुले चिथर्ला,कुरिलोले घोच्ला अनि ताँमा चिलाउला
    सायद कोइराल गनाउला, फोर्सोको बोटमा चिप्लने हो कि
    भ्याकुर तीतो लाग्ला अनि खजुरी देखी डराउँछेउ पो कि
    तिमी त शहरमा हुर्केकी मान्छे….

    भारमा टाउको ठोकिएला,दियालो बाल्दा कालो मोस्लो आउला
    कोदालीले हत्केलामा ठेला उठ्लान्, सेगु ओड्दा बिझाउला
    चिउरीको घीउ गनाउला अनि निगालोले हात काटिएला
    घट्ट देख्दा पो डर लाग्ला क्यारे , पाथीसंग मानो साटिएला
    तिमी त शहरमा हुर्केकी मान्छे….

    बडहरलाई कटहर अनि , बेडुल्लोलाई टिमिलो ठान्छेउ होला
    अमृसोलाई कुच्चो भन्ने तिमी, डालोलाई टोकरी मान्छेउ होला
    मालूलाई टाटा देख्ने तिमी बाबियोलाई घाँस सम्झिन्छेउ होला
    सुन्तालालाई “ओरेन्ज” भन्थ्यौ, दाम्लोलाई डोरी भन्दिन्छेउ होला
    तिमी त शहरमा हुर्केकी मान्छे….

    भकारा सोहोर्दा नङ भाचिएलान्, चूलो लोटाँउदा गोबर गनाउला
    थाप्लोमा पर्ने नाँम्लोको डाँमले सक्दिन शहर जान्छु भन्ने बनाउला
    जाँतो चलाँउदा उल्टो घुमाउली, आगो नबल्दा लोरी नै फुटाउली
    बजारमा मील सम्म नदेखेकी मान्छे ढिक्किमा कसरी धाँन कुटाउली
    तिमी त शहरमा हुर्केकी मान्छे….

    तिनताराले समय जनाउछन्, जुनकिरीले रात उज्यालो बनाउछन्
    स्वच्छ हावा, जनावर साथी छन्, काफल पाके चरीले बोलाँउछन्
    हाम्रो कुवाको पानीमै ओखती छ, बिदेशी पनि पिँउन आँउछन्
    गाउँको विशेषता नै अर्को धनी हैन दाँनी ठुलो मान्छे कहलाँउछन्
    तिमी त शहरमा हुर्केकी मान्छे….

    नुनसंग आटो खाँने आँट भए, बिहानै उठि मेला जाँने आँट भए
    खाजामा मकैले चित्त बुझाइ, पिँडालु अनि ढिँडो खाँने आँट भए
    उकाली अनि ओराली झर्छेउ भने, पहाडमै बसाइँ सर्छेउ भने
    तिमीाई नयानो स्वागत छ प्रिय मलाई साच्चै माया गर्छेउ भने
    तिमी त शहरमा हुर्केकी मान्छे….

    🖊️ प्रेम सापकोटा