excerpt from the sun and her flowers-poem by rupi kaur
मेरो भगांकुर वरिपरिका
कपाल जल्न थाल्छन्
प्रत्येक उप्काइसँग
म खुम्चिन्छु
पिडाले काम्दै
म यो किन गर्छु
म मेरो शरीरलाई किन यातना दिन्छु
हुनुपर्ने जस्तै भएकोमा
पछुताउँदै गर्दा म आफूलाई आधैमा रोक्छु
जब म उसको बारेमा सोच्छु र कसरी
उसलाई देखाउन म लज्जित हुने गर्छु
सफा नभएसम्म |
खर्बौको व्यापार ध्वस्त हुनेछ
यदि हामीले आफू पहिले देखि नै सुन्दर भएको मान्यौँ भने
रुपि कौरको पछिल्लो पुस्तक हात पार्न ठूलै तिकडम खेलियो । प्रणय दिवसमा अघिल्लो वर्ष उचित किसिमले शुभकामना नदिएको र उपहार नपठाएको झोकमा प्रेमिका रिसाइरहेको अवस्था थियो । यसपाली त्यसको भरपाइ गर्नु थियो । शुभकामना त उही हो, यसपाली विशेष केहि छैन भनेर विश्वास दिलाएर उ सुतीसकेपछि मध्यरातमा उसका लागी मैनवत्तीको उज्यालोमा केक सजाएर देखाइ दिइयो । उपहारमा के दिने भन्दा यो पुस्तक झट्ट दिमागमा आयो । यो पुस्तक उसलाई उपहारमा दिनु भनेको आफू पनि पढ्न पाउनु हुन्थ्यो । त्यसैले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने खालको यो जुक्ति लगाएर उसलाई पुस्तक उपहार पठाएँ । फरक सहरमा बस्ने भएकोले साता दिन पछि मेरो पढ्ने पालो आयो ।
निदाउनका लागी
मैले तिम्रो शरीर कल्पनु पर्छ
मेरो पछिल्तिर कुप्रिएको
चम्चामा चम्चा खप्टिए जस्तै
तिम्रो स्वास नसुनेसम्म
तिम्रो नाम लिइरहनु पर्छ
तिम्ले उत्तर नदिदा सम्म
र हामीले कुराकानी नथाल्दा सम्म
त्यसपछि मात्रै
मेरो मन
निदाउन थाल्छ
रुपि कौरको पहिलो पुस्तक मिल्क एण्ड हनी पढ्दा साहित्य प्रतिको फरक अपेक्षा स्थापित भएको थियो । साहित्य सबै एकै किसिमका हुँदैनन् । केहिले गम्भीर मुद्दा उठाएका हुन्छन् र एकदमै जटिल किसिमले लेखिएका हुन्छन् । केहि भने सरल भाषामा लेखिएका हुन्छन् र पनि धेरै मुद्दाहरु पाठक समक्ष पु¥याउन सफल हुन्छन् । अनि ती सरल किसिमले लेखिएका साहित्य जो पढ्दा एकदमै आनन्द समेत आउँछ, हो त्यस्तै साहित्यको रुपमा प्रिति कौरको मिल्क एण्ड हनी लागेको थियो । हालसालै निस्किएको द सन एण्ड हर फ्लावर पनि उस्तै शैलीको पुस्तक छ । कौरका दुबै पुस्तक न्यूयोर्क टाइम्सको सर्वाधिक विक्रिहुने पुस्तकको सूचिमा छन् ।
पाँचवटा भागमा बाँडिएको यो पुस्तकमा चित्र सहितका कविताहरु राखिएका छन् । कौर आफैले कोरेका चित्र र तिनैसँग भाव मिल्ने कविताहरुले उनको अभिव्यक्ति एकदमै सशक्त बनाइ दिएको छ । सशक्त हुँदाहुँदै ती अति सरल पनि छन् । कविताको उस्तो पारखी नभएपनि उनका कविताहरु पढ्दा एकदमै आनन्दित महसुस गरेँ । कतै कतै एक दुई पंक्ति मात्रै लेखिएका छन् तर ती अपूर्ण लाग्दैनन् । कतैकतै अनुच्छेदहरु मात्रै पनि छन् तर पढ्न मजा आए सम्म जे सुकै होस् के को खसखस ?
विशेष गरी नारीवादी शैलीमा लेखिएका कविताहरु पढ्दै गर्दा पनि यो पुरुष चाहिँ रमाइ रह्यो । पहिलो पुस्तक पनि पढेपछि धेरैलाई पढ्ने सल्लाह दिएको थिए । यो दोश्रो पुस्तक पढि सकेपछि पनि त्यहि सल्लाह दिन्छु । पढ्ने मात्रै होइन अझै नेपाली कविताका लेखकलाई पनि यस्तै प्रयोगहरु मार्फत कवितालाई व्युँताउन जमर्को गर्दा कसो होला भनेर सोध्न समेत मन लाग्छ । नेपालमा पनि कवितावाचन कार्यक्रम त विस्तारै मौलाउँदै गएको छ । त्यो अति नै सुखद कुरा हो । शैलीहरुमा पनि प्रयोगहरु थपियो भने त्यसले कविता क्षेत्रलाई समेत अघि बढाउन मद्दत गर्थ्यो कि ?
के आफ्नो सर्वस्व दाउमा राख्नु ठीकै थियो
त्यो देशको सपनाका लागी
जसले हामीलाई पुरै निल्दैछ
****
कपडा भरिएका बाकसलाई उनीहरुले जीवन वनाए
र नियमित तलबहरुलाई पनि
ताकि कुनै आप्रवासीका सन्ततीले१
आप्रवासीका सन्तती भएकैमा तिनीहरु (आफ्ना सन्तानहरु)लाई घृणा नगरुन
(१. क्यानेडाका गोराहरु सबै युरोपकाबाट बसाइ सराइ गरेर आएका आप्रवासीका सन्तती हुन्)
वाककला र व्यवसायिक लेखनमा स्थानतकोत्तर गरेर लेखनमा प्रवेश गरेकी कौरले पंजावी महिला सहित्यकारहरुको माझमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएकी छिन् । क्यानेडामा बसाइ सराइ गरेर आएका पंजावी समुदायका संघर्षको कुराहरु पनि उनले यो पुस्तकमा प्रवेश गराएकी छिन् । आप्रवासीहरु प्रतिको दृष्टिकोणमा पनि कडा प्रतिरोध जनाएकी छिन् ।
घृणा गर्नु
एउटा सजिलो अल्छी काम हो
तर माया गर्न बल चाहिन्छ
सबैसँग हुने
तर सबै
अभ्यास गर्न नचाहने
समग्रमा पुस्तक पठनीय छ । बजारमा आएदेखि नै पढ्ने तलतल लागेको थियो । पछिल्लो पटक कुमार नगरकोटीले सुझाएका पुस्तकहरुको सूचीमा समेत यो पुस्तक परेको थियो । हातमा परेर पढि सक्दा पुस्तकका थुप्रै पानाहरु दोब्रिएका छन् । किन्डरमा त राम्रा लागेका पंक्तिहरु सोझै सुरक्षित राख्न सकिन्छ र पानाहरु नपल्टाइ सोझै ती टिपोटहरु मात्रै पनि हेर्न सकिन्छ । पुस्तकका हकमा पाना दोब्रयाउनुको विकल्प भेटेको छैन । नयाँ पुस्तकका पाना दोब्रयाउन दुःख त लाग्छ तर पनि त्यो त्यस्तै भइरहेको छ । केहि टिपोटहरु यहाँ पनि उतारेको छु । पुस्तक पठनमा आनन्द मिलोस् भन्ने सुभकामनाका साथ विदा !