बेहुली
बिहे को चर्चा छ रे,आज उनको,
मन्द लज्जा को भाव लुकाउदै उनले मलाई भनिन,सबै भन्दा पहिले,
खुशी बाड्ने उनको बानी,
मनका कुरा सबै खोलिन,
मन खोलेर बोलिन मसंग,आज पनि,
म खुशी हुन्छु भनेर,
म पनि कहाँ खुशी न हुनु र,
देखाए मैले पनि खुशी छु भनेर,
तर….
होईन,म खुशी नै त छु,उनको खुशी मात्र त मेरो खुशी हो नि..?
अनि किन झेली,यो मन आज?
किन स्वार्थी म आज..?
उनको खुशीले संसार नै रमाएको छ आज,
होइन,मेरो मन पापी हुनु हुदैन,
तर….
उनलाई बेहुली हुनुको कुनै पीर छैन,
पराइ भएर जानू को कुनै अर्थ पनि थाहा छैन,
न त विहे भनेकै के हो,उनलाई थाहा छ,
कति अबोध छिन उनी,
बेहुली बन्ने उत्सुकता उनको आँखामा झल्किएको छ आज,
श्रृंगार मा रमाएकी छिन उनी,
आकाशका तराहरूले सजिएको उनको घुम्टो
सुर्य को लालिमा बोकेको बिन्दी,
राता चुराले सजिएका हात,
त्यो मेहन्दी को बासना,
गाजलु आँखा,
तेम्माथि उनको मुस्कान,
कुनै अप्सरा भन्दा के कम देखीन्थिन र बेहुली को रूप मा,
हरेक कुरा कल्पना को साकार रूप जस्तै,
खुशी छिन उनी आज पनि,सदा झैं र त्यो खुशी पुरै परिवार ले महसुस गरेको छ,
मैले पनि,
हो,मैले पनि उनलाई खुशी भएकै देखें,
मक्ख पर्दै,मुस्कान छर्दै,पराई हुने हरेक पलमा रमाउँदै,
सबै लाइ आश्वस्त गरेको उनको खुशी,
भिजेको परेली र देखावटी खुशी को मुस्कान लिएर सबैले अंगालो हालेर बिदा गरे,
खुशी छर्दै,सबै लाई उदास बनाएर डोली चढिन् उनी,
म संग आँखा लुकाउँदै,
खै किन होला,
किन पीडा लुकाएको जस्तो महसुस भयो मलाई,
किन होला हिजो त्यो अँध्यारो कोठामा, मेहन्दी लगाएको हत्केला हेर्दै आँसु झारेकी थिइन् उनले,एक्लै हुँदा|
Leave a Reply
You must be logged in to post a comment.