नहरबाट पानी सरर निकास भए पछी सुरु हुन थल्थियो असारे रोपाइँ । घरको सबै परिवार गएर सुरुवात गरिन्थियो । जोत्नेले जोत्नको लागि हल गोरु लिएर जान्थिए, खन्नेले कोदालो बोकेर जान्थिए, घाँस काट्नेले हसिया बोकेर जान्थिए, बीउ काढ्नेले बीउ काढ्न थाल्थिए, यसरी सबै जना खेतमा निस्किन्थिए । बीउ पुग्ने भए पछी मेलो बनाउन सुरु गरिन्थियो, बीउ तरिन्थियो अनि सबै जना गएर रोप्न थलिन्थियो । सबै सङ खेतमै खाजा, खाना, चिया गफ गर्दै खानको छुट्टै आनन्द आउथियो । महिनौ दिन सम्म थोरै थोरै गरेर सकिन्थियो हाम्रो रोपाइँ । मैजारोको दिन त रोप्न नि छुट्टै अनुभूति आउथियो किनकि भोलि बाट रोप्छु भन्दा नि रोप्न नपाउने अवस्थामा पुगिन्थियो । हिलो दलेर, पानी छापेर रमाइलो गर्दै सकिन्थियो हाम्रो रोपाइँ । सबैको अनुहारमा उज्यालो चमक चम्किरहेको हुन्थ्यो । बर्ष भरीको लागि पुग्ने धान रोपेर घर आइपुग्दा आनन्दको अनुभुति हुन्थियो । भन्छन नि मानो खाएर मुरि उब्जाउने बेला हो यो ।
अहिले सबै तरिका परिवर्तन भएको छ । बीउ कत्रो भयो, पम्प छ कि छैन पानी चलाउन भन्ने कुराले जनाउदो रहेछ रोपाइँको सुरुवात । त्यहि पनि पम्प र आकाशबाट परेको पानीमा धेरै फरक हुन्छ, यो कस्ले बुझ्ने। नहरबाट कहाँ पानी आउने भयो र, सबै घर, बाटाे जस्ता पुर्वाधारहरुले छेकेका छन । आजकल त राता निला डिजल बाट चल्ने गोरुहरु छन, घण्टाैमा बिघाको बिघा जितेर सक्छन । खेती त सकिन्थियो तर त्यो महिनौ गलेर सकेको जस्तो आनन्द नआउने रैछ । आजकल सबै कुरा लटरपटर हुन थाल्यो । गोबर मलको सट्टा डी. ए. पी. , युरीया अझ अब त जाँर मार्ने बिसाधी प्रयोग गर्न थालेका छन । रोप्यौ भन्दा रोपे भन्नू जस्तो मात्र छ। काम गर्न नि हिलो लाग्छ कि भन्दै डराउदै काम गर्छन । हाम्रो खेती गर्ने तरिकामा धेरै परिवर्तन भएको छ र काम गर्द रमाइलो नि हुन छोडयो ।
लगभग 10 वर्ष अघिसम्म हाम्रो गाउँमा पनि यसरी नि रोपाइँ हुन्थ्यो। गाउँका सबैजना भेला भई एकदिन पल्लो घर त अर्को दिन तल्लो घरको रोपाइँमा खेताला जान्थे। ठूलो कितलीमा ल्याएर बाँडेको कालो चियाको स्वाद अहिलेको COKE र PEPSI भन्दापनि बढीको हुन्थ्यो। अब त गाउँ छोडियो, घर छोडियो। ई सब यता-उता पढ्न पाउँदा याद आउछ पहिलेको। त्यो त संसार नै अर्को थियो जस्तो लाग्छ अति नै रमाइलो संसार।