कहिले आउँछौ ? प्रश्न
ए ! मरुभूमिमा
ऊँट चराउदा चराउँदै
ऊँट जस्तै भएका छोराहरु !
ए! विदेशीका कामेच्छित नजरले
घोचिदा घोचिदै
आँसूले बलात्कृत भएका छोरीहरु !
तिमीले पठाएको रेमिट्यान्सका
सुनौला थैला साहुको पाउमा चढाउदा
साच्चै रोएकी थिइन तिम्री आमा ।
झरेका थिए आँखाबाट
गुरासका थुंगाहरु,
चर्केका थिए
ऐनाका देशका सपनाहरु,
निभेका थिए
बाबाको आँखामा बलेका साँझबत्तिहरु।
ए सुन सुन
झिसमिसेमै नौडाँडा काटि हराएका जुनपापि ताराहरु
ए सुन सुन
पछिया हावाको झोक्कासँगै सिमाना काटि उडेका पुतलिहरु,
आमाको फुटेका सपना टाल्न कहिले आउँछौ ?
बाबाको अनुहारमा समयले पारेको चिरा पुर्न कहिले आउँछौ ?
बादलको पछ्यौरीले बुईँ बोकेको देशलाई
हृदयका सेता फुल चढाउन कहिले आउँछौ ?
Leave a Reply
You must be logged in to post a comment.