लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज
‘लौ छोरो भयो । अब यसले परिवारको विडोँ थाम्ने भयो । ’
जन्मने वित्तिकै उसको काम–कर्तव्यको घोषणा हुन्छ । परिवारमा हर्षाेल्लासको वातावरण छाउँछ । मानौ कुनै निकै नै ठूलो उपलब्द्धि हाँसिल गरेको झै सबैले फलानाले छोरा पायो भनेर गाउन थाल्छन् । जन्मदिने आमाले पनि राम्रो स्याहार पाउँछे । छोरो त झन् भुइँमा खुट्टा टेक्नै पाउन्न, एकपछि अर्को काखीमा समाउनेको कमी हुँदैन । परिवारका सबै सदस्य भन्दा मिठो मसिनो उसकै थालमा हुन्छ ।
बामे सर्दै जाँदा र तोते बोली निस्कँदै जाँदा उसका हरेक साना भन्दा साना प्रगतिले वाहवाही पाउँछन् । सानै देखि उसलाई सिकाइन्छ, ‘बाबु ठूलो भएपछि के गर्ने ?’
‘ ……… ’
‘ठूलो मान्छे हुने, धेरै कमाउने अनि बाबामामालाई पाल्ने ।’
सानै देखि एउटा आशाको भारी बोकेर हुर्कन्छ छोरो । उसको एक मात्रै उद्देश्य सफल हुनु हुन्छ । उसको सफलताको परिभाषा भनेको समाजले उसका काँधमा थोपरेको जिम्मेबारी बहन गर्न सक्षम हुनु हो ः असल विद्यार्थी हुनु, असल छोरो हुनु, असल पति हुनु अनि असल बाबु हुनु । संसारबाट बिदा हुनु अघि आफ्नो बंशलाई निरन्तरता दिन ऊ जस्तै कर्तव्य परायण अर्को छोरो जन्माउनु बाबु हुँदाको उसको सबै भन्दा महत्वपूर्ण दायित्व हो ।
असल विद्यार्थी हुन उसले बालपनका सबै रहर किताब र कापीका पानामा अटाउन सक्नु पर्छ । उसलाई चित्रकलामा रुचि भएपनि विज्ञान नजानेका कारण मास्टरको कुटाइ खप्नु पर्छ । विज्ञानमा रुचि भएपनि उसले वाष्पिकरणको प्रकृया बुझ्ने भन्दा पनि परिभाषा घोक्न चुक भएमा ऊ मुर्ख कहलिन्छ र सबैका सामु हाँसोको पात्र पनि बन्छ । उसको रुचि र क्षमता नबुझि आमाबाबुले उसलाई च्यवनप्रास ख्वाएरै भएपनि कापी–किताबमै सिमित राख्न हर सम्भव प्रयास गर्छन । किनभने ऊ बुढेसकालको सहारा हो । अहिले ढङ्गले पढेन भने भोलि के गरेर पाल्छ ?
असल छोरोको रुपमा उसले आमाबाबाका हरेक आज्ञाहरु शिरोपर गर्नु पर्ने हुन्छ । आमाबाबा सन्तानको कुभलो कहिल्यै चिताउँदैनन् । तर भलो र कुभलोको भनेको कसले कसरी परिभाषित गर्छ भन्नेमा भर पर्ने न हो । नारायण गोपाल, देवकोटा, भैरव अर्याल, बैकुण्ठ मानन्धर, पारस खड्का, आदि सबैका आमाबाबाले उनीहरुले परम्परागत भन्दा फरक पेशामा सफलता चुम्न अघि उनका लागी पनि डाक्टर इन्जिनीयरका सपना देखे हुन् । त्यसले उनीहरुको कुभलो त पक्कै हुने थिएन, तर उनीहरु एउटा सामान्य जुनी बाँचेर बिदा हुने थिए । भाग्यले साथ दिए आमाबाबुले चिताएको पेशा अंगाल्न सफल हुने थिए नभए एक असफल जीवन जीउन बाध्य हुने थिए । जे भए पनि इतिहाँसमा उनीहरुको नाम रहने थिएन । जीवनभर उनीहरु आफ्ना प्रतिभा गुम्स्याएर र भावनाका शीरहरु निमोठेर बाँच्न बाध्य हुने थिए ।
साना छँदा त विवेकले केहि काम गर्दैन । रहरहरु भनेका लडिबडि खेलेरै भएपनि पुरा गर्न सकिन्छ । नभए अघाउन्जेल रोयो सक्कियो । ठूलो हुँदै जाँदा समाजले र परिवारले लैङ्गिक भुमिकाहरु सिकाउँदै जान्छ । शारीरिक भिन्नताका अलाबा छोरो हुनु अन्य कारणले पनि फरक हुँदै जान्छ । छोरो मान्छे रुनु हुन्न, छोरो मान्छेले बलियो हुनु पर्छ, छोरो मान्छे डरछेरुवा हुनु हुँदैन, छोरो मान्छे भुस्तिघ्र हुनुपर्छ, पढाइमा जान्ने हुनु पर्छ नत्र पछि स्वास्नी छोराछोरी पाल्न गाह्रो हुन्छ, आमाबाबु हेर्न गाह्रो हुन्छ, आदिआदि । उसका खेलौना पनि फरक हुँदै जान्छन् । बहिनीले खेल्ने पुतली उसले खेल्न हुँदैन । ऊ आफ्नै केटा साथीहरुसँग ‘केटाहरुको खेल’ खेल्न जानु पर्छ । सानै देखि बहादुरीका कर्तब देखाउँदा उसले वाहवाही पाउँछ । उसका हिंसात्मक क्रियाकलापले उसको निडर छबि बनाउँछ । उसको जिद्दी स्वभावले उसलाई अडिक व्यक्तित्वको ताज पहि¥याउँछ । घरायसी काम धन्दामा पनि उसको छुट्टै भुमिका हुन्छ । बहिनी प्राय घर भित्रका काम गर्छे । घरबाहिरका पसल गएर सामान लिने देखि लिएर बारीका भारी कामहरु उसको जिम्मामा आउँछ । गाउँघर हो भने दाउरा गर्ने काम उसको हुन्छ । पानी पँधेरो र घासकाट्ने उसकी बहिनीको भागमा जान्छ । ऊ गोरु चराउन पठाइन्छ बहिनी चुलो चौकामा सघाउँछे । चुलोमा कसरी पाक्छ के पाक्छ उसलाई केहि वास्ता हुँदैन । विहान–साँझ खाएको थालमा हात चुठ्छ अनि आमा नभए बहिनी जुठोभाँडो गरेर मात्रै छुट्टि पाउँछे ।
किशोरावस्थामा प्रवेश गरेपछि उसमा शारीरिक र मानसिक परिवर्तनहरु देखिन थाल्छन् । उसलाई आफूमा देखिएका परिवर्तनहरु बुझ्न न आमाबाबुले नै सघाउँछ न समाजले नै । साथीभाइका अपरिपक्व सुझाबहरुबाछ ऊ आफैलाई बुफ्नै प्रयासमा लाग्छ । अरुकुरा भन्दा पनि यौनजन्य परिवर्तनहरुका हकमा उसलाई सहि बाटो देखिइदिने कोहि हुँदैन । गाउँघरमा समुहका ठूलाले जे भन्यो त्यहि मार्गनिर्देशक बन्छ भने सहरमा चलचित्र र ‘विशेष चलचित्र’हरुले ति काम गर्छन् । मेरो हकमा केहि पुस्तक र पत्रिकाहरुले पनि सघाएका थिए । तर यसरी पाइने जानकारीहरु कत्ति ने भरपर्दा हुन्छन् र ?
किशोरावस्थामा विपरित लिङ्ग प्रतिको आकर्षण र यौनिक्षा पनि थपिन्छ । छोरो र छोरीले यी परिवर्तनहरु छुट्टाछुट्टै किसिमले सामना गर्छन् । छोरो प्राय साँडे नै भएर हिड्छ । छोरीलाई हरेक बन्देजहरु हुन्छ । छोरी कुनै केटा प्रतिको आकर्षणलाई परिवार सामु सजिलै राख्न पाउँदैने । छोरो त्यस मामिलामा अलि बढि नै स्वतन्त्र हुन्छ । केटि जिस्काउनु, प्रेम प्रस्ताबहरु राख्नु, सकेसम्म शारीरिक सम्बन्ध राख्नु, धुम्रपान तथा मद्यपान थाल्नु, गालीगलौजमा पोख्त हुनु, समुह बाँधेर हिँड्नु र सामुहिक झगडाहरु गर्नु, काटाकाट र मारामार सम्म पुग्नु, आदि छोराका किशोरावस्था देखि युवावस्था सम्मका उपलब्धीहरु हुन् । अवस्यै पनि यी कुराहरु गर्नका लागी परिवार र समाजले प्रत्यक्ष रुपमा छुट्कारा दिएको हुँदैन । तर उनीहरु हुर्कँदै गरेको जमातमा यी कुराहरु एक प्रकारले स्थापित भएर बसेका हुन्छन् । प्राय चलचित्रहरुले यस्ता प्रवृत्तिहरुको विकास गर्ने गर्दछन् । गाउँघरका तुलनामा सहरमा यी कुराहरु निकै बढि देखिन्छ । समाजले ‘अल्लारे’ हुन् भनेर एक किसिमले आँखा चिम्लिन्छ । परिवारले ‘तातो रगत’ भनेर चित्त बुझाउँछ । कतिपय कुराहरु त परिवारबाट निकै अबेर भइसक्दा सम्म लुकाएर राखिन्छन् ।
छोरीका हकमा परिवार र समाज हेरि अनेक अनुशासनहरु लादिन्छन् । जन्मे देखिनै उसले छोरा भन्दा बेग्लै व्यहार भोग्दै आउँछे । जति नै उदार भएपनि बाबुआमालाई उसको विवाहको चिन्ता निकै अघि देखि हुन्छ । उसको शिक्षा उसको भविष्य निर्माणका लागी भन्दा पनि उसलाई असल घर दिलाउनका लागि हुन्छ । आफूले चाहेको कुलघरानमा विवाह होस् र उसको जीवन सफल बनोस् भन्ने दुबैको चाहना हुन्छ । छोरा सरह छोरीको बेग्लै अस्थित्व न त परिवारले न समाजले नै कल्पना गर्छ । विवाह पश्चाछ छोरीले घर छोडेर जानुपर्ने सामाजिक रीत उहिले देखि र निकै पछि सम्म निरन्तरता पाइ रहनेमा सायदै कसैले सन्देह गर्ला । त्यसैले त ‘बिहे गरेपछि कसरी घर गरी खान्छेस् ?’ भन्दै उसलाई एक असल गृहणी, असल आमा र असल पत्नी बन्न तालिम दिइन्छ । उसलाई जोरले हाँस्ने, गोडा फाडेर बस्ने, जवाफ फर्काउने, विपरित लिङ्गसँग नजिकिने, आफ्नो नितान्त एक्लो भविष्यको सपना देख्ने, आदि अनुमति हुँदैन । ऊ पुरुषकी सहयात्री हुनकालागी हुर्काइन्छे । उसको गन्तव्य भनेको अलस पतिलाई रिझाएर खानु । यी भुमिकामा समय सँगै धेरै फेरबदल भएका छन् र पनि समाजले अपेक्षा गरेका छोरीको महिनाबारीसँग सम्बन्धित संस्कारहरुका कारण उसको आँगन अझै साँघुरिन्छ । ऊ एक नौलो ग्रहकी प्राणी सरी रहन्छे । छोरोलाई ती कुराहरुबाट परै राखिन्छ । उसले ती कुराहरु बुझ्नै पाउँदैन । ती महिलाका नितान्त व्यक्तिगत समस्या भएर रहन्छन् । सहरी परिवेशमा र अहिले पाठ्यक्रममा प्रजनन् शिक्षा समावेश गरेदिेखि केहि हद सम्म भएपनि जानकारी पाउने अवस्था छ तर ती पर्याप्त छैनन् । ती विषयहरुलाई त्यति गहन रुपमा लिने गरेको पाइँदैन । न विद्यार्थी अवस्थामा न शिक्षक भएका बेलामा ती कुरहरुले स्थान पाए । एकपटक महिनाबारीको शीर्षकमा एक छात्र र अन्य सबै छात्राहरु भएको कक्षामा पढाउन पर्दा एकै सासमा पाठ सिध्याएको थिएँ । कसैले प्रश्न गरेनन् न आँखा जुधाएर नै सुन्न सके । यो निजी विद्यालयको कुरा हो जहाँ सकेसम्म किताबका सबै पाठहरु पढाउनु पर्ने शिक्षकको जिम्मेबारी हुन्छ । सरकारी विद्यालयमा यस्ता विषयवस्तु कसरी पढाइन्छन,् म कल्पना सम्म पनि गर्न सक्दैन । संक्षेपमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी मुद्दाहरुमा खुल्ला रुपमा बहसहरु कहिल्यै हुँदैनन् । अनौपचारिक रुपमा भएका अवस्थामा पनि तिनमा पुरुषहरुलाई समावेश गरिँदैन ।
यति भइसक्दा सम्म उनीहरु दाम्पत्य जीवनका लागी तयार भइसकेका छन् । पहिले पहिले समाजले नै यस्ता सम्बन्धहरु स्थापित गरिदिन्थ्यो अचेल प्रेम सम्बन्धहरुबाट यो चरण सुरु हुन्छ । आइमाइ फकाउन सक्नु पौरुषको लक्षण मानिन्छ । कतिपय अवस्थामा आर्थिक अवस्था र पेशागत असफलताका कारण त्यस्ता प्रयासहरु फलिफाप हुँदैनन् । विरक्त्याउने वियोगका दिनहरुमा प्राय लोग्नेमान्छे लामो समयसम्म रहन्छन् भने आइमाइका लागी त्यो काल तुलनात्मक रुपमा छोटो हुन्छ र केहि समयपछि ऊ ती पल सहजै भुल्छे । लोग्नेमान्छेको असफलता उसको पौरुषसँग जोडिएको हुन्छ । उसको पौरुष उसको अहंसँग जोडिएको हुन्छ । प्रेम सम्बन्धको असफलता उसकालागी उसको पौरुषको र अहं दुबैको हत्या लाग्छ । त्यसैले पनि त्यो वियोग उसको जीवनकालमा निकै पछि सम्म रहिरहन्छ । कतिपय अवस्थामा ऊ ह्रिंसक कदमहरु लिन पनि तयार हुन्छ । भारतीय समाजमा आइमाइका मुखमा तेजाब फाल्ने चलनहरु त्यसका उदाहरण हुन । आइमाइमान्छेका हकमा अरुलाई नोक्सान गर्ने भन्दा पनि आत्मघाती क्रियाकलापहरु बढि देख्न पाइन्छन् । अहिले सम्मको तालिमले लोग्नेमान्छेलाई हिंसक र परपिडक अनि आइमाइलाई कम्जोर र आत्मपिडक बनाएकाले यस्तो प्रवृत्ति देखिन गएको हो भन्ने मलाई लाग्छ ।
विवाहका हकमा मेरो बेग्लै धारणा छ । मलाई लाग्छ विवाह उतिबेला लोग्ने मान्छेलाई निःशुल्क रुपमा यौन, स्याहार र सन्तान उत्पानको साधन उपलब्ध गराउनका लागि गरिएको व्यवस्था थियो । विवाह पूर्व यौन र सन्तानोत्पान सम्भब थिएन न त नारीपुरुष सँग बस्न नै छुट थियो । पश्चिमा समाजमा परिस्थिति बेग्लै भइसकेको भएपनि नेपाली समाजका हकमा अझै पनि त्यस्तै स्थिति छ । व्यक्तिमाथि समाज हावी छ । व्यक्तिगत इच्छाहरुलाई सामाजिक मूल्य र मान्यताका काँडेतारले छेकेका छन् । आइमाइहरुको जात देखि लिएर घर र समाज सबै फेरिने भएकाले सायद विवाह उनीहरुका लागी नयाँ अवतार झैँ हुन्थ्यो (हुन्छ) होला । यौन अझै सम्म पनि लोग्नेमान्छेलाई मात्रै चाहिन्छ झैँ गरिन्छ । यी कुराहरुमा कतिपय आइमाइहरु पनि संस्कारका माध्यमले सहमत गराइएको मैले देखेको छु । पुरुषसँगको सम्बन्धलाई चुम्बन्मा मात्रै सिमित राखेको र यौन सम्म पुग्न नदिएका दावी गर्ने नारीहरु नदेखेको होइन । कारण सोध्दा ‘मलाई मनै लाग्दैन’ भनी जवाफ दिन्थी । कुमारित्व जोगाउने कुरामा पनि हाम्रो समाज अmभै उस्तै छ । पुरुषको विवाह बाहिरको सम्बन्ध र आइमाइको विवाह बाहिरको सम्बन्धलाई एकै रुपमा हेरिन्न । आइमाइ पुरुषको निजी उपभोगका लागी हुन्छे भने पुरुष भवँरा जस्तो जताततै रस चुस्न पाउँछ । समाजले रण्डो भनेर कुख्यात बनाउँदैन । आइमाइको विवाहपूर्वको यौन जीवनका सम्बन्धमा नयाँ पुस्ता केहि फेरिएको अवस्यै छ तर पुरानो पुस्ताले (आमाबाबु) उनीहरुको निर्णय अनुमोदन गर्नु पर्ने हुँदा यस सन्दर्भमा समाजको धारणा फेर्न सायद अझै एक पुस्ता लाग्ला । त्यतिञ्जेल ‘विवाह’को औचित्य नै विस्तारै समाप्त भएर जानेछ भन्ने मलाई लाग्छ ।
लोग्नेमान्छे र आइमाइमान्छे (म महिला भन्दा बढि सम्मानित हुन्छ भन्ने ठान्ने जान्नेहरुको बिरोधी हुँ ) दुई अलग ग्रहका प्राणी (एक अर्काका बारेमा भएको जानकारीका आधारमा) एकसाथ जीवन जिउने ध्याउन्नमा एकठाउँ आइपुग्छन् । एक अर्काबाट निकै अनभिज्ञ अनि फरकफरक भुमिकाका लागी तयार पारिएका यी दुई प्राणी कहिले काहिँ ती भुमिकालाई चुनौति दिने गरेपनि प्राय ति भुमिकामा खरो उत्रने प्रयासमै जीवन सिध्याउँछन् । चुलो–चौको, घरको सरसफाइ, सजावट, सन्तान जन्माउने र स्याहार गर्ने, घरलाई व्यवस्थित पार्ने, आदि सबै आइमाइका जिम्मामा आउँछन् । लोग्नेमान्छे प्राय सानै देखि सिकाइएको जिम्मेबारी पतिका रुपमा पालना गर्न पट्टि लाग्छ । मुख्यतया परिवारको बलियो आर्थिक श्रोत बन्न सक्नु उसको सफलता हुन्छ । वंशलाई आफू जस्तै छोरा दिन सक्नु उसको अर्को दायित्व हुन्छ । आइमाइको धर्म उसलाई यस कार्यमा सघाउनु हुन्छ । त्यसकालागी उसले लहरै छोरी जन्माउने देखि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनु सम्म पनि हुन जान्छ । चरम अवस्थाहरुमा अर्को विवाहका लागी अनुमति दिनु सम्म हुन सक्छ । शिक्षित समाजमा भात्रै लाग्नेमान्छेका कारण शिशुको लिङ्ग निर्धारण हुन्छ भन्ने मान्यताले स्थान पाउन थालेको हो । नत्र ग्रामीण भेगमा अझै आइमाइहरु नै त्यसका दोषी ठहरिन्छन् । छोरो जन्माउनु लोग्नेमान्छेका लागि आफ्नो पौरुष प्रमाणित गराउनु हुन्छ भने त्यो प्रकृयामा उसको सहभागीता भनेको विर्य स्खलन गर्ने बित्तिकै सकिन्छ । नौ महिने व्यथा आइमाइको एक्लो समस्या हुन्छ । लोग्नेमान्छेले यसमा केही गर्न सक्दैन । सन्तान जन्मदा समेत प्रशुती गृहमा लोग्नेमान्छेलाई केहि अभि सम्म जान दिइँदैन थियो । प्रशवको बेदना लाग्ने मान्छेले देख्न सम्म पाउँदैन थियो । आइमाइ एक्ली त्यो बेदनासँग जुध्नु पर्ने सामाजिक चलन भएकैले न हो लोग्नेमान्छेले सन्तान उत्पादनलाई सहज रुपमा लिने गरेको । लोग्नेमान्छेले सन्तान जन्माउनु भएको भए के हुन्थ्यो होला ?
छोरो भए पनि छोरी भएपनि बाबुको रुपमा लोग्नेमान्छे उनीहरुको राम्रो भविष्यका लागी भरसक धन थुपार्ने कोशिस गर्छ । शिक्षा, स्वास्थ्य, लत्ताकपडा, खानपिन, आदि सबैको प्रत्याभुति दिने धनै हो । आइमाइ जुनरुपमा सन्तानसँग नजिकिन्छे लोग्नेमान्छे त्यो रुपमा सन्तानसँग नजिकिनै पाउँदैन । कतिपय अवस्थामा त परिवारका लागि पाहुना भएर जीवन व्यतित गर्न बाध्य हुन्छ । अचेल त खाडीमामुलुक, दक्षिण कोरिया, इजरायल लगायतका मुलुकमा घरधान्ने ध्याउन्नमा जीवन बिताउने बाबुहरुको ताँती बढेको छ । ्यसले त सन्तानसँको दुरी अझै टाढा बनाएर लगेको छ ।
लोग्नेमान्छे सन्तानको सफलता र असफलतामा सफल र असफल हुन्छ । उनीहरुकालागी जोरजाम गर्दै लाग्ने मान्छेको जुनी बित्छ । आफ्ना सन्ततीलाई ‘थिरी बाबु थिरी’ भन्दै हिड्न सिकाएका, बोल्न सिकाएका अनि उनीहरु हुर्कँदै जाँदा उनीहरुसँग भावनात्मक रुपमा नजिकिन पाएका प्राय कमै बाबु होलान् । आमाहरुलाई त्यो सौभाग्य प्राप्त छ । तर त्यसकालागी उनीहरुले आफ्नो व्यक्तिगत जीवनको मोल चुकाउन परेको छ । आफ्ना खुशी र सपनाहरुलाई सन्तान नहुर्कँदा सम्म थाती राखेर जीउन परेको छ ।
छोराबाट बाबु बनि सक्दा सम्म लगभग जीवन चक्र टुङ्गिन्छ । वृद्धावस्था अझै अन्यौल ग्रस्त छ । त्यसमा अरु कुनै दिन प्रवेश गरौँला । यहाँ सम्म सरसरती हेर्दा मलाई लाग्छ ‘आइमाइहरु जन्मदैन (समाजद्वारा) बनाइन्छन्’ भनेर भनि रहँदा हामीले ‘लोग्नेमान्छेहरु जन्मदैनन् (समाजद्वारा) बनाइन्छन्’ भन्ने कुरा चटक्के विर्सेछाँै । समाजमा जति पनि विभेदका घटनाहरु हुन्छन् ति सबैका लागी शिशु जन्मे देखि दिइने संस्कार र शिक्षाहरु दोषी छन् । यदि समाजमा लैङ्गिक समानता ल्याउनु छ भने सन्तान जन्मेदेखिका सबैसंस्कारहरुमा समानताका पाठहरु समावेश गर्नु जरुरी छ । यसो गर्नमा आमाहरुको धेरै ठूलो भूमिका रहन्छ । साथै शिशुसँग उसका आमा र बाबु दुबैको उत्तिकै सामिप्यताको प्रत्याभुति गराउनका लागि परिवारमा महिला पुरुषका दायित्वहरु पनि पुनःपरिभाषित गरिनु अत्यावश्यक छ । समाज परिवर्तन गर्नु छ भने ती परिवर्तनहरु परिवारबाट र व्यक्तिबाट सुरु हुनु जरुरी छ । त्यसो भएमा मात्रै हाम्रो समाजमा लैङ्गिक समानता बलियो रुपमा स्थापित हुनेछ । अस्तु ।
जनअास्थामा प्रकाशित
Next Article: WHAT DO I DO NOW?
Leave a Reply
You must be logged in to post a comment.