Register
A password will be e-mailed to you.

चुच्चेपाटीस्थित ‘मार्क नेपाल’मा एक महिनादेखी उपचाररत अर्धबैसे आइमाई दुर्गामाया थामीको अप्रत्यासित निधन भयो | शव बुझ्न आफन्त कोहि आएनन्, भएका आफन्तहरु पनि “त्यो पिशात्नीको किरिया गरेर केइ धर्म पाइदैन” भन्दै मृत्युको खबर पाउँदा समेत आइदिएनन् | निकै अनौठो केस भएकाले र लामो समयसम्म कसैले पनि शव नबुझिदिएकाले ‘मार्क नेपाल’ले दुर्गाको शव कुनै मेडिकल कलेजलाई क्याडाभरको अध्ययन, अनुसन्धानकोलागि कानुनिरुपले बुझायो | अन्ततः हिँसाले जन्माएको हिँसाको काहानीपनि दुर्गाको मृत्युसँगै सकियो |

एकदिन अचानक दुर्गाले दराजजस्तै देखिने ठुलो डब्बा मिनीट्रकमा हालेर रत्नराज्य स्कुल नजिकैको उसको कोठामा लिएर गइ | उसको कोठामा दुइटा थोत्रा खाट, ऐना फुटेको स्टिलको दराज, भुइमै लडेको ग्यासचुल्हो र भद्रगोल भएर छरिएका कपडा अनि भाँडाकुँडा बल्लतल्ल अटाइएको थियो | घाम नछिर्ने त्यो अध्यारो र साँघुरो कोठामा त्यो डब्बाले भनें सजिलै स्थान पायो किनकि दुर्गाले डब्बा हैन, उसका छोराछोरीको खुशी भित्राएएकि थिइ | त्यो डब्बा रेफ्रिजेरेटर थियो, बोलीचालीको भाषामा भन्नुपर्दा ‘फ्रिज’ | खुशी खुशीमा उद्दव र उषाले मिलेर स्प्राइटको जम्बो बोतलमा पानी भरि तुरुन्तै फ्रिज भित्र राखिहाले | ति देवता समान बच्चाहरुको खुसि देखेर घरपेटीलेपनि “धेरै पैसा उठ्ला कम चलाउनु” भन्न सकेन |

दुर्गा आफ्नो परिवारलाइ मिठोमसिनो खुवाउनकै लागि भनेर दैनिक ज्यालादारीको काम गर्थी | एउटी चरीले त दुरदुर गई चारो खोजेर भोकले मुख बाएर बसेका चल्लाहरुको मुखमा चारो हालिदिन्छे भने दुर्गा त मान्छे, आफ्ना बच्चा भोकाएको के देख्न सक्थी र ? उसलाई प्रकृतिले प्रदान गरेको अव्याख्य नारीत्व गुण नै उसको क्षमता थियो त्यसैले ऊ सधै एक माहान आमा र एक असल पत्नी बन्नको लागि हरेक कष्टसँग पनि रमाईरहेकी थिइ |

दुइतिन बर्षेदेखि ढाढले बोकेका ति ठुला भारिहरु परिवारको खुशीकालागि विशाल भएपनि भारि नहुने आकाश समान मान्थी | उसलाई तेतिका दुखको वावजुद पनि सन्तुष्टिनै थियो किनकि उसले काम गर्न थालेदेखि उसको कोठामा कहिल्लै नमिठो पाकेको थिएन | तर, खान पाएर मात्तिएको साँढेझैँ जड्याहा पति उसको फुलरुपी जीवनको काँडा थियो | उसको बुढो दुर्गाको दिनभरीको कमाइ राति जाँड खानकै लागि भनेर जबर्जस्ति माग्थ्यो | नदिए ति कलिला आँखा अगाडी बुढीलाई निर्घात कुटेर पैसा खोस्थ्यो र दिएपनि टन्न धोकेर रक्सि बोल्थ्यो, शंकाको आसयमा अश्लिल शब्द समेत प्रयोग गरि फेरी हातपात गर्थ्यो | आमालाइ बचाउन गएका साना छोराछोरीले समेत हातपातमा पर्नुपर्थ्यो तर छोराछोरी तर्सिन्छन, रुन्छन भनेर दुर्गा नरोई आफुलाई सम्हालेर बच्चाहरुलाई जोगाउँथी | तर उसको रोइरहेको मनले “गानो खुस्काउने दिनभरीको काम र यिनको कुटाइले छिट्टै मर्छु होला, बाँचुन्जेल छोराछोरीलाई खुशी बनाएर स्वर्गको बाटो खुल्ला राख्छु” भन्दै काल पर्खीरहन्थ्यो | नचाहेरै नर्क जस्तै दैनिकी कट्दै थिए, उनीहरुको |

दुर्गाको पति पनि उस्तै मजदुरीको काम त गर्थ्यो तर केहिदिन काम गरेर पाएको पैसा नसक्किएसम्म गाएब हुन्थ्यो | पैसा सक्किएपछी कोठामा आएर कुटपिट गरेर भएपनि रक्सि धोक्न पैसा उम्काउथ्यो | यसरि नै बगिरहने नदिजस्तै दुर्गाको जिन्दगिपनि चलिरहेको थियो | ऊ दुखको त्यो क्षणलाइ टक्क रोकेर बाँकी जिन्दगि सुखमात्र भएपछि खुसि खुसि बिताउन चाहान्थी तर त्यो काहाँ सम्भव थियो र ? दुख सुख सबै भोग्नु त जीवनको नियम नै हो | त्यसैले “दुखपछि भगवानले सुखपनि मेरो भागमा छुट्टाएका होलान्” भन्ठानेर खानलाउन पुग्ने बाहेकको पैसा उसले सहकारीमा जम्मा गर्न थालेकी थिइ | त्यो थोत्रो फ्रिजपनि सुकेधारामा एक घर निर्माणको क्रममा घरसाहुले मजदुर दुर्गालाई खुशी खुशी दिएकाले मात्र ल्याएकी नत्र फजुलको खर्च गर्दिनथी दुर्गा |

दुर्गाले जड्याहा बुडोको मतलब नगरी छोराछोरी लिएर गाउँतिर लाग्ने सोच पनि नबनाएकी हैन तर बुढोको गाउँमा एक चपरी जमिन थिएन, खाँबो गाड्न एक हात माटोपनि थिएन | पराइकेटोको हात समाएर बाउआमाको नाक काटेपनि चाढै नयाँ ज्वाई र बिउ पलाएको पुटुक्क पेट लिएर फर्केकी भए माइती गुहार्ने बाटो रहन्थ्यो | तर, जुन केटामा उसले सर्वस्व खुसि पाउने सोचेर माइती त्यागी उसले न त्यो खुसि दियो न अब माइती फर्किने बाटो रह्यो | दुर्गाका अब तेइ बुढो खेपेर, छोराछोरी हुर्काउने, पढाउने बाहेकका अन्या बाटाहरु बन्द थिए, सम्भावनाहरु न्यून थिए |

बुढोको माया पाउदै नपाएकी पनि हैन उसले, टन्नै पाएकी | जुनबेला उसले दुर्गाको हात समाएर त्यसै कोठामा भित्राएको थियो, माया र स्नेहले उसको संसार भरिदिएको थियो र गर्भवती हुँदा ख्याल गरेको थियो, त्यो समय दुर्गा आफुले आफुलाई संसारकै भाग्यमानि केटि ठान्दथी | जुम्ल्याहा छोराछोरी एकैसाथ जन्मिदा “देखेउ बुढाको पाउर” भन्दै गिज्याउदा, सुत्केरी भएको समयमा शरीरमा तेल घसिदिदा उसले जीवनको बाटोको नयाँ मोडको बारेमा सोचेकी पनि थिइन | त्यसपछि उद्दव र उषा जतिजति हुर्किदै गए त्यतिनै उनीहरुको सुवासयुक्त सम्बन्धमा रक्सिको गन्ध थपिदै गयो | दुई सन्तानको अभिभावक भैसकेपछि दुर्गाले आफ्नो पतिलाई बन्ध्याकरण गर्न आग्रह गर्दा उसको पतिले नमानेपछि फेरी केहि हुने डरमा दुर्गा आँफैले पत्तो नदिई आफ्नो बन्ध्याकरण गराई | यै कुरो पत्तो पाउँदा उसको बुढो पहिलो पटक रिसाएको हो र त्यसपछि केइ गर्दा पनि ऊ दुर्गासँग कहिल्लै खुशी भएन | उद्दव र उषा चार वर्षका हुँदा रक्सिको लतमा डुबेको बुढोले घरमा खानाको समेत व्यवस्था नगर्दिएपछी पहिलोपटक दुर्गा आफ्नो खोटो कर्मलाइ सराप्दै काम गर्न भनेर घर बाहिर निस्की | भोक मेटाउनकै लागि संसार चलिरहेछ, चराहरु उडिरहेछन्, माछा पौडीरहेछन, जनावर दौडीरहेछन, दुर्गा पनि भोकको कारण नै निस्केकी | त्यसपछि मात्तिएको बुढोले झन् केइ गर्नै छोड्यो र दुर्गाको दुखहरु झन् बढिरहे |

“आजपनि रक्सि धोकेर आउला, फ्रिज नि फुटाउला” भन्ने लागेपछि दुर्गाले सबैभन्दा राम्रो तन्नाले फ्रिज छोपिहाली | खाना खाने, खुवाउने गरिसकेपछी दुर्गा सुत्ने तयारि गर्दै थिइ, नभन्दै हावाले हल्लाएको बुटोझैँ हल्लिदै बाहिरबाटै ढोकामा लात्तीले ड्वाङ्ङ हानेर ऊ कोठाभित्र पस्यो | छोराछोरी मुसो लुकेझै तुरुन्तै खाटमा चढेर पोको परिहाले, दुर्गापनि सरक्क उठेर अर्को खाटमा बसी | गन्हाएको मुखले मुर्मुरिएर, राताराता आँखा ठुला पार्दै दुर्गालाइ रिसले हेर्यो र लार्खरीदै छोरीलाई मायाले समाउदै स्नेहपुर्वक “खाना खायो बाबुले” भन्यो | आफ्नै बाबुले त्यति मायाले बोलाउदा पनि उषा डरले उम्किएर अर्को भित्तामा पुगी | हुर्किदै गरेका उद्दव र उषालाइ पनि आफ्नो जन्मदाता बाबाको अँगालोमा बेरिने मन त कहाँ थिएन र?, थियो, तर उनीहरुको आँखाले तेइ मान्छेले आमालाइ मरुन्जेल कुटेको पनि देखेको छ त्यसैले हो उसको आगमनमा उनीहरु निकै डराएका |

यतिन्जेलसम्म दुर्गाको मनमा पनि डर जन्मिसकेको थियो | “आजपनि पक्कै मलाइ हातपात गर्ला, नबोली बस्छु” भन्ने ठानेपनि पत्नी धर्म पनि त निभाउनै पर्यो | त्यसैले बुढो भोकै आउला भनेर एक डल्लो भात र एक कचौरा तरकारी बचाएरै राख्दिएकी थिइ | बुढोको व्यवाहार जति फेरिएपनि दुर्गाले भने उसलाई हात समाएर आउदा जति माया गर्थी तेती नै अहिले पनि गर्थी | के गर्नु ? राक्षस् होला तर बुढा हो, उसलाई भोकै राखेर आफ्नो मात्र पेट भर्न मनले मान्दैन | त्यसैले बल्लबल्ल कनेर दुर्गा मसिनो आवाज निकाल्दै बोलि | “खाना त्याँ छोपेर राख्दिछु, खानु !”

रक्सि र पत्नीको मायाले मातेको पति बाट अरु के नै राम्रो आशा गर्न सकिन्छ र | तेस्ता चिन्ता त दुर्गाले उसकोलागि कति लिएकी थिइ तर उसले दुर्गाको माया र हेरचाहलाइ सधै कुव्याख्या मात्र गर्यो | बुढीले तेती माया र ख्याल गरेर खाना राखीदिँदा खुशी हुनु सट्टा ऊ जुरुक्क उठेर दुर्गालाइ नै लर्बरिएको बोलिका वाण प्रहार गर्न थाल्यो, गर्जिएको आवाजमा | “तेरा दुनियाँ नाठाले देको खाना खान्छु म ?”

“त्यसोभए तेइ नाठाहरुले मलाइ देको पैसाचाइ लुटेर किन कुकुरको मुत सुंग्न जान्छौ त” |

भनिन्छ नि आवश्यकता भन्दा बढी डर देखाए भएको डरपनि हराउछ भनेर | त्यस्तै दुर्गापनि पहिलाको जस्तो डराउन छाडीसकेकी थिइ त्यसैले आज उसले निरुत्तर हुनेगरि बुढोलाइ जवाफ फर्काइ | तर अझैपनि दुर्गाको दुखको कमाइलाइ अपवित्र मानेर आफ्नै पत्नीको चरित्रलाइ दाग लगाउने उसको बुढोले दुर्गाको दुख बुझेको थिएन |

ठुलो स्वरले “अझ बढी बोल्छेस्? मुखमुखे लाग्छेस्?” भन्दै ऊ लर्खरिएर दुर्गा भएतिर अघि बढ्यो | छोराछोरी पनि कहाल्लिदै, दगुर्दै आमा भएतिरै कुदे, “अब पक्कै यसले मलाइ कुट्छ” भन्ने थाहा पाएपनि दुर्गा निडर भएर जहाँको त्यहि बसिरही | उसका अरठ्ठीएका हातले दुर्गाको नरम गालामा चिरापर्ने गरि जोरको एक थप्पड बजायो | थप्पडको आवाज त्यो बन्द कोठा भित्र प्रतिधोनित भैरह्यो, बच्चाहरु झन् जोरले रुँदै कहाल्लिन थाले | एकोहोरे शंख बजेझैँ दुर्गाको कानमा टुनु…नु….नु आवाज मात्र बजिरह्यो | काम र कुटाइले थङ्थिलो बनाएको शरीर सम्हाल्न नसकेर ऊ ब्वाङ्ङ खाटमा लडेर भित्तातिर फर्किएर आँसु बगाउन थालि | तर, रुनु पनि के का लागि ? थलिदै गएको शरीरको लागि ?, सढिएको बुढो अनि अन्धकार भविष्यको लागि ? त्यसैले आफुलाई सम्हाल्दै छोराछोरीलाइ तानेर अँगाली |

कोठामा सन्नाटा छाएपछि त्यो एकान्तलाइ तोड्दै उसको बुढो फेरी बोल्यो “छोराछोरी भएर आको नत्र तँ जस्ती नाठो खेलाउने को मुख पनि मलाइ हेर्न मन छैन, बुझिस ? भोलि नै अर्की ल्याएर देखाउँछु तलाई |”

उसको यस्तो वाईयात धम्कीले दुर्गापनि चुप बस्न सकिन, चर्को स्वरले जवाफ फर्काइहाली | “किन, अर्कीलाइ नि मेरै जस्तो हालत बनाउने ? यिनै भाका छोराछोरीलाई सुखमा हुर्काउने लाकत छ भने भन, म तिम्रो आगाडी मुख देखाउन कैले आउदिन, सक्छौ ?, छ हिम्मत ?” आमाले साँच्चै छोडेर जान्छिन कि ठानेर उद्दवले आमालाई झन् जोरले समात्यो |

रिसले आगो भएको बुढोले उसका अधर्मी खुट्टो माथि उचाल्दै दुर्गाको कम्मर खुस्किने गरि कट्टीमा जोरले कस्सेर एक लात हान्यो | दुर्गाले ‘आइया’ पनि नभनी छोराछोरीलाइ अँगालोमा झन् कस्सेर बेरी | बोलिपिच्छे मुखमात्र हैन हातखुट्टा पनि चलाउनेसँग नबोल्नु नै बेस मानेर दुर्गा नबोली पल्टीरही | आमा र छोराछोरी एकै अँगालोमा डरैडरमा तेत्तिकै निदाएछन् |

अरुकोलागि असामान्य लाग्ने दुख, भोग्ने मान्छेको लागि नियमितता हो | त्यस्तै सबेरै दुखेको शरीरलाइ तन्काउदै उठेर छोराछोरीलाइ खाना खुवाएर स्कुल पठाउनु उसको बिहानीको नियमितता थियो र त्यसपछि बल्ल आफ्नो कामको लागि निस्किन्थी | आजपनि कटक्क दुखेका मांसपेशीहरुलाई चलायमान बनाउदै ऊ सबेरै उठी किनकि उसले “नाई आज जिउ दुखेको छ, नाई आज अल्छि लागेको छ” भनेर सुतिदिए कसैको मुखमा माड लाग्दैन | भुइँमा लडेको रित्तो थाल र छरिएका भातका सिताहरुले दुर्गालाई चिल्लाउदै “ऊ बिहानै उठेर, टन्न पेट भरेर आफ्नो बाटो लागिसक्यो” भन्दै थिए | दुर्गापनि जुरुक्क उठेर उसको जे नियमितता थियो तेइ गरि |

बेलुकी कामले लखतरान भएर कोठा फर्केकी उसले आराम गर्न समेत भ्याउदिन थिइ, आफ्नो र छोराछोरीको भोक मेटाउनु जो छ | हिजै ल्याएको फ्रिजले गर्दा भने उसलाई आज केइ आराम मिल्यो किनकि बिहान पकाएको खाना तताउनु पर्ने मात्र काम रह्यो | तर समस्याहरु मानौं दुर्गाकैलागि भनेर तांत लागेर बसेकाछन्, खाना तताउनको लागि ग्यासचुल्हो बलिदिएन | जति समस्याहरु थिए त्यतिनै दुर्गासँग सामाधान पनि थिए | “कस्तो तिन मैना नि नपुगी सक्केको” भन्दै खाटमुनि बाट धुलोले ढाकिएको पुराको माटाको हिटर झिकी र तेस्मै बिहानको खाना तताएर खुवाई र आफुले पनि खाइ र थोरै बुढोको लागि पनि बचाएर राख्दि |
हल्लिदै समयमै कोठामा आएको बुढो हिजोकोभन्दा बढी मातेको दुर्गाले चाल पाईहाली त्यसैले बोल्ने बित्तिकै उपद्रो गर्छ भन्ने लागेर केइ नबोली चुप बसिरही | कोठामा पस्ने बित्तिकै उसका आँखा सिधै तेइ फ्रिजमा र भर्खरै बन्द गरिएको हिटरमा परे, दुर्गा आत्तिएर छोराछोरी पोको परेको खाटमा चढीहाली | जड्याहा खुट्टाले भुइँ नाप्दै दुर्गा अगाडी पुगेर ठीङ्ङ उभियो | “यो चिज कस्ले दियो तलाई ?” बुढोको यो प्रश्नलाइ नसुनेको झैँ गर्दै दुर्गा लुगा सुम्सुमाउदै बसी | रक्सिको मातमा उसको बुढो झनै झर्कियो “यो सामान तलाई कुन चाइ नाठोले दियो ? भन्”|

आफ्नो चरित्रलाइ नराम्रो भनेको सुन्दा कुनै नारिले पनि सहन्न | त्यसैले दुर्गालेपनि फनक्क फर्किएर नराम्रो मुख बनाइ | रक्सीको लत र रिसको मातले अन्धो भएको बुढोले दुर्गाको मौन अभिव्यक्तिलाइ बुझिहाल्यो | सायद उसलाई म के गर्दै छु? भन्ने कुराको पत्तो थिएन, पत्तो भएको भए गर्दैनथ्यो तर गर्यो | दुर्गाको हातलाइ तानेर खाटबाट दुर्गालाई पछार्यो | दुर्गा “मरे नि आमा” भन्दै ठुलो चित्कारले भरिएको पिडादाई आवाजले कराई | तर घोप्टो परेर सुक्क सुक्क रोइरहेकी दुर्गाको पिडा अझैपनि उसले बुझेन र दुबै हात समाएर दुर्गालाई घिसार्दै भर्खरै बन्द गरेपनि राप्पिएको हिटर नजिक लगेर दुर्गाका दुबै हात हिटरमा ठोसिदियो | जुम्ल्याहा सन्तान जन्माउँदा पनि यति पिडा नाभोगेकी दुर्गा घोक्रो फुट्ने गरि “आइया… .आत्था.. .आमा ..बचाउ…मरेंनि” भन्दै चिच्याउँदै, दुबैहातलाइ झट्काउदै कोठा भित्रै उफ्रीरही | उसको बुढो भने श्रीमतीलाई त्यति पिडा दिएर रुवाउदा ठुलै जित भएझै आरामले खाटमा गएर पल्टियो |

जलेको हातको पीडाले असिमित आँसु बगाई आफ्ना गालागला भिजाएकी आमाको दुख देख्न नसकेर उषाले दुर्गाको दुबै हात च्याप्प समाई, उद्दवले फ्रिजमा रहेको चिसो पानी ल्याएर दुर्गाका जलेका हातमा खान्यायो | कोठाको सबै पानी सक्किएपछि उद्दव र उषाले आमाको एक एक हत्केला समाएर फु….फु… गर्दै फुकिदिए तर दुर्गालाई झन् बढी पिडाले सताइरहेको थियो | रात जति छिप्पिदै थियो, हत्केलामा हिटरको रिङ्ले बनाएका गोला गोला डाम तेत्तिनै गाडा हुँदै थिए | रातको त्यो एकान्त छिचोल्दै उसको रोदनको आवाजले सारा वातावरणलाइ नै रुवाइरहेको थियो | उसको रुवाई, उसको छटपटी, उसको सारा पिडा एउटा रमितामात्र बन्यो | रमिते बन्नु भन्दा त्यो पिडादाई कालरात्रि पछिको सुन्दर बिहानी सम्झिदै उसले आफुलाई सम्हालेर छोराछोरीलाइ सुताई तर हातहरु को पीडाले उसलाई छटपटीमात्र भइरह्यो | हत्केला आकाशतिर फर्काउदै कोल्टे परेर सुतिरहेको बुढोलाई हेरी, मुसुक्क मुस्कुराई | तबसम्म तातो आँसुले कन्चट भिजाईसकेको थियो | जीवनका सबैभन्दा आनन्दित रातहरु दिएको बुढोले यति पिडादाई रात पनि दियो | दुर्गाले यस्तै मिठा सम्झनालाइ मस्तिष्कमा संकलित गर्दै, आँसुको भेल बगाउँदै बुढोलाई हेरेर टोलाउदै त्यो लामो लागिरहेको कठिन रात बिताउने चेष्टा गरीरही |

आँफुलाई त्यस पिडामा जतिनै भुलाउन खोजेपनि उसले सकिन | जलेका हात र पोलेको मनको पीडालाई उसले जसोतसो लुकाएर उज्यालो नहुँदै नजिकै बस्ने साथी सुस्मालाइ एक दिनको लागि आफ्ना छोराछोरी जिम्मा लगाई र आँफु तुरुन्तै नजिकैको ‘भरोसा अस्पताल’मा गएर इमर्जेन्सीमा भर्ना भइ | जलेर फोका उठेका हात लिएर आएकी दुर्गालाई अस्पतालमा एक्लै आएकोमा केरकार पनि गरियो तर त्यस्तो मौकामा पनि उसले आफ्नो बुढाको पोल खोलीन | केहि प्राथमिक उपचार र हातमा ड्रेसिङ् गरेर लगाउने र खाने दबाई दिई दुर्गालाई दिउसोको एक बजे डिस्चार्ज गरियो | “थेरापी गर्नुपर्ने अवस्था छैन, चाडै निको हुन्छ | अलि ख्याल राख्नुपर्ने हुन्छ | निकै कमजोर हुनुहुन्छ टन्न माछामासु, सागपात, फलफुल खानुस |” भनेर डिस्चार्जको समयमा डाक्टरले सुझाए र दुर्गा हुन्छ भन्दै एक्लै कोठातिर लागी |

दुर्गाले भगवान ठानेको मान्छे यति असुरी छ भनेर सोचेकी पनि थिइन | कर्म गर्न बनेका आफ्ना हातहरुको दुर्दशा हेर्दा मन डराएपनि कामिरहेका कदमलाइ हिम्मतले उर्जा दिदै ऊ कोठा तिर लम्किरही | त्यो पुरानो सुमधुर सम्बन्ध अनि त्यसको भविष्यको चिन्ता भन्दापनि अब उसलाई आफ्नो जीवन प्यारो लाग्न थालेको थियो | यो घटना पछी उसले जीवनको आधार कुनै सम्बन्ध हैन शरीर हो भन्ने बुझी | सम्बन्धहरु कमजोर हुन्छन्, सकिन्छन र नयाँ पनि बन्छन तर शरीर कमजोर भए, सक्किए फेरी बनाउन मिल्दैन | हातका घाउ पुरिने बित्तिकै तेइ शरीरको भोक मेट्न तेइ शरीरनै घोट्नु पर्ने रहस्य उसको जीवनको सत्यता हो तर ति अनगिन्ति रातहरु मा भोगेका कुटाइहरु र पिडाहरुले उसको शरीर छिट्टै थोत्रो हुँदैछ भन्ने ठानेर उसले अन्तत आफ्नो शरीरको पक्ष लिएर सम्बन्धको अन्त्य गर्ने निर्णय गरि | पिडाले ढाकिएका उसका आँखाले भविष्यमा कमजोर बन्ने उसको शरीरको साहारा तेइ सम्बन्ध नै हो भन्ने देख्न सकेनन् | तर, आसुमात्र दिएको सम्बन्धको दिर्घायुका लागि उसका हातले अझै धेरै पटक जल्नु पर्ने पनि हुनसक्छ त्यसैले ऊ सम्बन्धलाई अब जसरिपनि टुंग्याउन चाहान्थी |

अन्तत ति सुस्त हिडाई अब रोकिने वाला थिए किनकि यात्रा गन्तव्यहिन थियो | सलायन पानीले अढिएको शरीरलाइ बिभिन्न भावनाहरुले बिस्तारै डोर्याउदै ऊ बल्लतल्ल कोठामा पुगी | राति अलि बढी नै भएर होकी आज त स्वास्नी कुट्ने मर्द राजकुमार जस्तै खाटमा आरामले पल्टीराको रैछ | दुर्गाले आफ्नो जीवनको महत्वपूर्ण पाटोलाई टोलाएर हेरिरही, ऊ निन्द्रमा मस्त थियो | “दुर्गा तँ यो के गर्न गैरहेकी छेस् ? आफैले रोपेको बिरुवा हुर्काएर फल दिएन भनेर त्यसको हत्या गर्दैछेस ? मुर्ख तैले जस्तो पत्नी धर्म निभाउने मौका कसैले पाउदैन | ऊ तेरै पति त हो, उसको जीवनमा माया भरिदे अनि उसलाई राम्रो बाटोतिर डोर्याएर लैजा | सबै राम्रो हुनेछ |” यति भनेर दुर्गाको भावनाले जन्माएको छायाँ बिलिन भयो | तुरुन्तै कोठाको अर्को कुनातिर हेरी, जन्मिसकेको अर्को भावात्कर्स चिच्याईरहेको थियो “दुर्गा तलाई यसले भोलि पक्कै मार्नेछ | तँ मरेर गएपछी ति बिजोक पाएका छोराछोरीको भोको आत्माले तँलाई सराप्नेछ, बुझिस् ! त्यसैले यो सम्बन्ध आजै बाट सक्काइदे | मुर्ख तैले जस्तो मातृधर्म निभाउने मौका सबैले पाउदैन | जस्तोसुकै भएपनि यस्लाई आफ्नै बाटो हिड्न दे, तँ आफ्नो बाटो लाग् | सबै राम्रो हुन्छ | यो सम्बन्ध आजै बाट अघि बढ्न नदे, एक्लै यात्रा तय गर् | छोड्दे दुर्गा ! यसलाई छोड्दे |” यत्तिकैमा गंद्र्याङ भाडा खसेको आवाजले दुर्गाको उकुसमुकुस तोडीदियो | फर्केर हेर्दा बुढो उठेर सिलाबरे अम्खोरामा पानी सार्दै रैछ तर एक नजर दुर्गातिर पार्ने उसले हिम्मत गरेन |

भावनाहरुले अल्झिदै गर्दा उसले आफ्ना डढेका हातहरुलाई ओल्टाईपल्टाई हेरी | रसाएका आँखाबाट एक थोपा आँसु तुरुक्क खसाली र खाटमा थचक्क बसी | आशाहरु मरेका रित्तो मन र शुन्य मष्तिस्कमा बोल्नुपर्ने शब्दहरु नै निर्माण भैरहेका थिएनन् तर आजपनि ऊ चुप रहे भोली उसैले कष्ट भोग्नुपर्ने बिडम्बना थियो | त्यसैले आफुलाई सम्हाल्दै हिम्मत गरेर पानी पिईरहेको बुढोलाइ हेर्दै ऊ बोली |

“अब म सधै आफैलाई मारेर तपाइँले जितेको हेर्न सक्दिन |” सास् फुलेर बोल्नै गाह्रो भएपछी यति बोलेर ऊ अड्कीइ | बुढोलेपनि मुखको पानी घुटुक्क निल्दै दुर्गातिर हेर्यो | आँसुहरु दुर्गाका गाला पखाल्दै थिए, रोदन मिसिएको आवाजमा ऊ फेरी बोली “छोराछोरी मेरो जिम्मा, हामी मरेपनि तपाइँले चिन्ता नलिनु | तिनको भविष्यको अलिकति पनि चिन्ता लाग्छ भने नआइदिनु अब देखि यो कोठामा | हामीबीच कुनै नातो साइनो छैन, अब फेरी यो कोठामा आएसी म पुलिसलाइ फोन गर्दिन्छु |” यति बोलिसक्दानै दुर्गाका आँखाबाट धेरै आँसु बगे, ति ताता आँसु मुटुसम्म पुगेर चिसिए | बुढोले पनि एक शब्द जवाफ फर्काएन, हातको आम्खोरा भुइँमा राखेर पछुताए झैँ अध्यारो मुख बनाउँदै सरक्क कोठाबाट निस्कियो | डढेर फोका उठेका हातले दुर्गालाई पनि “रोक्नुस्, नजानुस्, खराब बानी छोड्नुहुन्छ कि भनेर पो त्यस्तो बोलेको” भन्ने आँट दिएनन् |

‘बुढो’ जीवनको एक पाटो दुर्गाबाट टाढा भएको थियो, ऊ ढोका थुनेर धेरैबेर सम्म रोइ | “मलाइ क्षमा गरेर सम्बन्ध सुधार्ने नयाँ अवसर देऊ” भनेर दुइ शब्द ओकल्ने कष्ट मात्र गरिदिएको भए दुर्गाले आफुले बोलेका सारा बोली फिर्ता लिने थिइ | तर, मर्दले आफ्नो बुढीसँग माफी माग्ने कुरै भएन | महिलाहिंसा महिलाअधिकार भन्ने शब्द समेत नसुनेकी दुर्गाले अझैपनि बुढो सुध्रिने आशा भने त्यागेकी थिइन | तर वास्तविकता, अन्तत दुर्गा एक्ली भई | छोराछोरी को लागि भएपनि उसले अझै हार भने मानेकी थिइन | धेरैबेर रोएर आफुलाई सम्हादै लामो सास् फेरेर खाटमा पल्टी | भोक नलागेको पनि हैन तर उसलाई केइ खाने इच्क्षा थिएन त्यसैले भोकै पल्टीरही |

हिँसा सहेको शरीरमा बिस्तारै मेलाटोनिन् फैलदै थियो | दुर्गा गहिरो निन्द्रामा डुब्नै लाग्दा कसैले ढोका जोरले ढक्ढकायो | हतार हतार आफ्नो मैलो आँखा उल्टो हत्केलाले पुस्दै, बिग्रेको कपाल मिलाएर ड्रेसिङ् गरिएको हात कपडाले छोपेर ढोका खोली | उसको हिजोको पिडा र चित्कारलाइ बेवास्ता गरेको घरपेटी आफु अगाडी उभिएको देखेर उसले सामान्य मुश्कान दिई |

“के हो ? आजकल के भैछ तिमरुलाई ? निकै हल्ला गर्छौ, रोइकराई हुन्छ त राति | यो घरमा तिमरु मात्रै बस्छौ ? वरपरको ख्याल छैन ? निकै भैसक्यो | अन्तै मिलाएर हाम्रो कोठा खाली गर्देउ |” घरपेटिको चर्को वचनले उसलाई एकछिन स्थिर बनायो तर विपुलध्वनीकारी शब्दहरुलाई शान्तिले मेटाउने कोसिस भने गरी “हैन, आफ्नै घर मानेर यतिका वर्षदेखि बसेकाछौँ कता जानु अन्त ? आजबाट सानो आवाजपनि सुनिन्न | अब एकचोटी तेस्तो भए म आँफै निस्किन्छु |” यसरि हात जोडेर अनेक बिन्ति भाउ चढाएपछी घरपेटीले अन्तिम मौका दिएर गयो |

तनावग्रस्त मनमष्तिस्कलाइ फेरी आराम दिन ऊ दोका ड्याम्म लगाएर खाटमा पल्टी | घामले आकाशमा आधाभन्दा बढी व्रितांश नापिसकेको थियो तरपनि उसले अझै केइ खाइन | बिछोड र दुखाइहरुले उसका मनका आकांक्षा र पेटको भोक सबै भुलाइदिएका थिए | सारा पिडालाइ बिसाएर उ गहिरो निन्द्रामा डुबी | फेरी कसैले ढोका ढक्ढकायो | ढोका बजेको आवाजले उसको निन्द्र फेरी खल्बलियो | कमजोरीले मुर्झाएका आँखालाई तनक्क पारेर, भोकले सिथिल भएको शरीरलाइ लार्बराउदै ऊ ढोका सम्म पुगी | जे ऊ चाहान्थी तेइ भयो तर जे भयो त्यो उसको चाहाना थिएन | ठर्रा रक्सि ह्वास्स गनाएको उसको बुढो ढोका बाहिर देखीयो | फर्केर नआउन चुनौती दिएको बुढो दिउसै खाली पेटमै टन्न रक्सि धोकेर आएको देखेर दुर्गाले तुरुन्तै ड्याम्म ढोका लगाउने प्रयास गरी | तर, जबर्जस्ति धकेलेर उसको बुढो कोठा भित्र पसीहाल्यो |

भर्खरै घरपेटीलाई दिएको वचन सम्झेर ऊ चुपचाप सरासर भोकले कमजोर पारेको शरीरलाई सम्हाल्दै आफु सुत्ने खाटतर्फ बिस्तारै लम्कीइ | खाटमा नपुग्दै होस गुमाएको बुढोले दुर्गाको ढाडमा जोरले लात्ताले हान्यो | पिडा सहन नसकेर दुर्गा त्यहि भुइँमा पछारिएर रुन थाली | आफ्ना दुबैहातले तल्लो पेट जोरले समाई, त्यो पिडाले उसलाई सास् फेर्न समेत मुश्किल महशुस भैरहेको थियो, रुनलाई आँसु त बगिरहेका थिए तर मुखबाट ‘आइया’ भन्ने शब्द निकाल्न समेत सकिरहेकी थिइन | आँखाहरुले बुढोको फोहोरी खुट्टाहरु धमिलो देखाईरहेका थिए, कानहरुले कता कता “तँ मलाइ निकाल्ने?” जस्ता शब्दहरु मसिनो आवाजमा सुनाईरहेका थिए | स्वासले साथ दिएपनि जिउदो लास जस्तै उठ्न नसकेर ऊ घोप्टिएर आफ्नो दुखेको तल्लोपेट चेप्दै लडिरही | आफ्नो शक्तिले भ्याएसम्म बुढोले हात खुट्टाले निर्मम प्रहार गरिरह्यो तर दुर्गा कुनै प्रतिक्रिया दिनसक्ने अवस्थामै थिइन |

घोप्टिएकि दुर्गाले अचानक आफ्नो ढाडमा केहि तातो तरल चिज बगिरहेको आभाश गरी | उसको बुढोले बुढीसँग रिस उठ्यो भनेर मरुन्जेल कुटेर लास समान उसको शरीरमाथी पिसाब फेरेर आफ्नो पाप पखालेको पो रहेछ | रक्सिको मात्रा बढी रहेको पिसाबले बिस्तारै ढाड हुदै सारा शरीर भिजायो | केहि गर्न नसकेकी निरिह दुर्गाले मनैमन रुँदै “यो मान्छेको आज जित हुन्छ भने सारा मन्दिरहरुमा आगो लागोस्” भनेर सारा भगवानहरुलाई श्रापको भागीदार बनाइ | तर सोहि क्षण आफ्ना अङ्गहरु कमजोर भएपनि सासले अढिएको दुर्गाको प्राणवायुमा अचानक दैवीउर्जाको प्रवेश भयो | दुर्गाका आँखाहरु अघीको भन्दा अझैबढी चम्किला भए, कानहरु ठडीए, सारा पिडा भुलाएर दुर्गाले चङ्गा महशुस गरी | दुर्गाले सारा भगवान पुकार्दा साक्षात् देवी दुर्गाले उसलाई आवश्यक पर्ने उर्जा दिएकी होलिन् त्यसैले त दुखाइलाइ भुल्दै मुश्कुराउन थालेकी थिइ ऊ | घोप्टिएकि दुर्गा अचानक दन्ते लहर टल्काउदै डरलाग्दो हाँसो सहित लामो लामो सास् फेरेर आफु अगाडी लडिरहेको ठुलो घन आफ्ना हातमा लिएर उठठी | रक्सीको मातलाइ तुरुन्तै त्यागेर बुढोले आफु अगाडी विकराल नारि ‘काल’को दर्शन पाउँछ | उसले त्यस नारिमा दुर्गा, काली, भैरवीलाइ देखेर धन्य भएर नियालीरहन्छ जसरि उसले आफु जन्मिदा एक नारिमा सति, सरस्वति देखेर नियालेको थियो | सृजना गर्ने नारीको विनाशक रुप देखेर ऊ स्थिर भइ उभिईरह्यो, दुर्गाले दाइने हातमा लिएको घन आकाशतिर ठड्याएर जोरले बुढोको देब्रे खप्परमा बज्राउछे | बुढो मुस्कान दिँदै तत्कालै भुइँमा बजारिन्छ र अन्त्य हुन्छ एउटा हिँसाको काहानी | तर दुर्गाको काहानीले बल्ल सार्थकता पाउने वाला थियो किनकि एक कहानीको अन्त्य नै अर्को कहानीको सुरुवात हो |

(भाग दुइ छिट्टै पढ्न पाउनु हुनेछ |)
-विवेक अरुण्य काफ्ले

2 Responses

Leave a Reply