रेफ्रिजेरेटर(part2)
घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृहमा थुनियो | हत्याको दोष दुर्गाले स्वीकारेपछी प्रहरीले तत्कालै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारि पनि थाल्यो | तर दुर्गाको अनौठा हर्कातहरुले प्रहरीलाइ थप अनुसन्धान गर्न भने बाध्य बनायो |
चकमन्नताका बीच दुर्गाका कानमा घन र बुढोको टाउको जोरले ठोक्किएको आवाज मात्र थर्किरह्यो | आफ्नै पतिको हत्या गरेर धर्मलाइ जिताउने दुर्गा एक पुण्यात्मा थिइ तर नारीको विजय भएको त्यो क्षण उल्लासमय भने हुनसकेन | केहि पलको लागि आफ्नो अस्तित्व प्रमाणित गर्न आएको अलौकिक दैवी उर्जा पुन आफ्नै लोक प्रश्थान भयो | दुर्गाले बिस्तारै आफ्नो मुन्टो तलतिर झुकाई, उसको बुढोको मृत शरीर झुकेको थियो र फुटेको टाउकोले उसका दुबै खुट्टा ढोगीरहेको थियो | त्यो देखेर दुर्गा खराब स्वप्नबाट बिउझेझैँ झसङ्ङ भएर तर्सि, हातमा रहेको घन चिप्लिएर भुइँमा झर्यो | घन डङ्रङ्ङ पछारिएको आवाजले ऊ पूर्ण रुपमा होसमा आइ | उसको अगाडी उसको पतिको लास लडीरहेको थियो र हत्यारा ऊ स्वयं थिइ | यो सच्चाईले उसका हात खुट्टा काप्न थाले, नसा नसा झमझमाए, घाँटी र ओठको पानी सुके, सारा संसार उसलाई शुन्य महशुस भयो |
आँसुजति डरले आँखाभित्रै सुकिसकेका थिए | अघिसम्म सासको आडमा घमण्ड गरिरहेको मान्छे एक पलमै सजिलै लास भयो | साच्चै कति सजिलै हाम्रो रिस, घमण्ड, लोभ र आरिस हामीबाट टाढिने रहेछन | आफ्ना पापकर्म बाट मुक्त भएको उसका कान,नाक मुखबाट अचानक रगतको भेल बग्न थाल्यो | दुर्गा डरले दुइ बित्ता पर भागि, उसले त्यो लाससँगै मरिरहेका आफ्ना आकांक्षाहरुलाइ जिन्दगिसँग हारेर श्रद्दान्जली दिईरहेकी थिइ | ‘आत्महत्या गर्दा वा पुलिसलाई आत्मसमर्पण गर्दा उद्दव र उषाको भविष्यमा मेरो पापको दाग लाग्ने छ’ भन्ने सोचेर आँफुलाइ डरले सम्हाल्नै सकिन | चिन्ता र डरको कारण अरु केइ हैन उद्दव र उषा नै थिए र हिम्मत को कारण पनि | उद्दव र उषा स्कुलबाट आउने समयपनि भैसकेको रहेछ त्यसैले डरले अढिन नसकेका खुट्टालाइ तागत दिँदै ऊ आत्तिएर बाहिर निस्की | कापिरहेका हातहरुले बल्लतल्ल बाहिरबाट ढोकामा ताल्चा लगाई |
डराएको मन लिएर आत्तिदै ऊ हतार हतार रत्नराज्य स्कुलतिर दौडीई | धन्न उद्दव र उषा बाटैमा भेटिए | ति अबोध कलिला सन्तानलाइ देखेर उसले आफुले आफुलाई धिक्कार्दै नजिकै गइ | ति निर्दोस मनहरु आमालाई देखेर ज्यादै खुशी भए | दुर्गा आफ्ना सन्तानले आमा हत्यारा हो भन्ने कुरो कतैबाटपनि पत्तो नपाउन भन्ने चाहान्थी | त्यसैले आँफुलाइ सामान्य बनाउने प्रयास गर्दै उसले उद्दव र उषालाइ सम्झाई “आजनी बाबुहरु सुष्मा आन्टी कै तिर जाउ ल ! अनि भोलि मामु काममा पनि आउनु हुन्न रे भन्देउ है सुष्मा आन्टीलाइ |” आफ्नो आमाको नक्कली हाँसो उनीहरुले बुझ्न सक्दैनथे, “नाई मामु हामि तपाइँसँगै जान्छौँ” पनि भन्न सक्दैन थिए न त “मामु सबै ठिकै त छ नी?” भनेर सोध्न नै सक्थे | दुर्गाले एक एक प्याकेट चाउचाउ किनेर दिएपछी उनीहरु सुष्माको कोठातिर फर्किए |
अब अघि बढ्नलाइ दुर्गासँग धेरै बाटाहरु थिए तर काडाले भरिएका ति मार्गहरुमा कदम बढाउने हिम्मत उसलाई आइरहेको थिएन | हिजोराति खाएको खानाको एक कणपनि उसको शरीरमा बाँकी थिएन होला, अस्पतालमा चढाएको सलायन पानी कति समयसम्म काम गर्ने हो उसलाई थाहा थिएन | उर्जाहिन शरीरलाइ कमजोर खुट्टाहरुले अघि बढाउदै ऊ बेहोसीको अवस्थामै त्यहाँबाट नयाँबानेश्वरतर्फ लम्कीई | बाटोभरि बुढोले मायाले बोलेका वचन र दोषयुक्त तिता वाणी पालैपालो उसको कानहरुमा बजिरहेका थिए | आँखाका अगाडी उसले माया गरेका र कुटेका दृश्यहरु झल्झल्ती सँगै आइरहेका थिए | सम्झनाहरुसँग भुल्दा भुल्दै ऊ नयाँबानेश्वर पुगीछे |
जिन्दगीसँग थाकेकाहरुलाई केहि क्षण भएपनि आराम दिनको लागि बनाइएको शडक छेउको मेचमा गएर गलेको शरीरलाइ बिसाउदै ऊ चिन्तामा डुब्न थाली | आफुलाई र समस्यालाइ बिर्साउदै त्यो भिड र कोलाहललाइ एक मनले नियालीरही | सबै आफुमै व्यस्त थिए, कसैलाई कसैको मतलब थिएन | त्यो भिडमा उसले बच्चाबुढा, धनीगरिब, मजबुत अनि कमजोर सबैखाले मानिस देखि तर हारेका कोइ देखिन | सबै दौडीरहेका थिए, आफ्नो लक्ष्य तिर | त्यो भिडले उसलाई सास् रहेसम्म आश राख्नुपर्छ भन्ने पाठ सिकायो | अघिसम्म डराएकी दुर्गा बिस्तारै आफ्नो मनलाइ शान्त पार्दै समय व्यतित गर्दै त्यसै स्थानमा बसिरही | धर्मले त उसले गरेको पाप नमान्ला तर कानुनले छोड्नेवाला थिएन त्यसैले कुनै हालतमा पनि कानुनको फन्दामा नपर्ने उसले निश्चय गरी | हिम्मतले उर्जा दिएको उसको मस्तिष्कले अचानक बुढोको लडिरहेको लास सम्झियो | कोठा नफर्किए त्यो चिसो शरीरबाट निश्किएको गन्धले आफुनै समातिने खतरा उसले बुझी र समस्यासँग भाग्नु सट्टा जुरुक्क उठेर हिम्मतका साथ कोठातिरै फर्की |
एक गेडा अन्न अनि एक थोपा पानी पनि नपाएको उसको शरीरले कसरि त्यतिका उर्जा पाईरहेको थियो त्यो दुर्गा आफैले बुझ्न सकिरहेकी थिइन | कमजोरीका बाबजुद आफुलाई सम्हाल्दै सम्हाल्दै कोठा सम्मपुग्दा साँझ टरेर अध्यारो भैसकेको थियो | आफ्नो बचाउमा गरेको अपराध कसैले पत्तो पाउलान् कि भन्ने डरमा उसले ढोका थोरै खोलेर भित्र पस्नासाथै ड्याम्म लगाईहाली | कोठाको भुइँ पुरै रगतले छोपिएको थियो, घोप्टो परेको बुढो चिर निन्द्रामा थियो अनि सुक्दै गरेको रगतको गन्ध बन्द कोठाभित्र हुर्किदै थियो | डर भगाउने अचुक औसधी नै हिम्मत हो, दुर्गालेपनि हिम्मत गरेर त्यो असामान्य अवस्थासँग जुध्ने आँट गरिसकेकी थिइ | तर हिम्मतका बाबजुदपनि दिमागमा आफुलाइ बचाउने उपायहरु भने फुरिरहेका थिएनन् | खुट्टा अगाडीसम्म आइपुगेको रगतले विकल्पहिन बाटाहरुमात्र देखाईरहेकाले ऊ धेरैबेरसम्म ढोकामै ठडीइ |
टाढा भागेर जाउँ एकदिन पुलिसले पक्कै समात्ला, कतै नजाउँ बुढोको प्रेतात्माले सताउला कि भन्ने डर | तर, छोराछोरीको भविष्य सम्झेर नदेखिने भुतसँग भन्दापनि कानुनले तोक्ने सजायसँग उसलाई बढी डर थियो | त्यसैले ऊसँग नभागी, आत्मसमर्पण नगरी आफुले गरेको अपराध लुकाउनु मात्र एउटा विकल्प बाँकी थियो | नभागी परिस्थिति सामना गर्ने दृढता भएपनि लासलाइ लुकाएर कसरि सामान्य अवस्थामा फर्किने भन्ने कुरा भने उसले सोचिसकेकी थिइन | यावत सोचाइले दिमाग घुमाएपछी र कमजोरीले समातेपछि उसलाई अचानक चक्कर लाग्यो | ड्रेसीङ् गरिएका हातहरुले धिर्मिराएको भित्तोलाइ साहारा बनाउदै ऊ फ्रिज नजिकै पुगी | आफ्नो शरीरमा थोरै मात्र बाँकी रहेको सारा तागतले फ्रिज खोलेर एक बोतल चिसो पानी झिकी र तुरुन्तै घन्टौंको प्यास मेटाई |
टन्न चिसो पानी पिएर केहिसमय खाटमा आराम गरेपछी उसको शरीरले उसलाई बल्ल साथ दिन थाल्यो | आँखाले बल्ल उघारो र प्रष्ट दृश्यहरु देखाउन थाले | सारा पानी पिएर रित्तिएको बोतल भुइँमा बुढोको लासजस्तै लड़िरेको थियो, फ्रिजपनि खुल्लै थियो | रगतमा तैरिएको लास हेर्न नसकेर ऊ एकछिन उघारो, रित्तो फ्रिजलाइ हेर्दै टोलाईरही | रित्तो फ्रिजको दोस्रो तखतामा उसले हिजो बिहान दाल राखेको बटुको देखि | त्यो नियाल्दा नियाल्दै अचानक उसको दिमागमा अचानक अकल्पनीय उपाय फुर्यो | उपायले दिमागको ढोका बजाएपछी उसले लास र फ्रिजलाइ पालैपालो मुन्टो घुमाउदै हेर्न थाली, त्यसो गर्न सहि होला वा गलत होला भनेर |
उसको दिमागले कोठाको मैलो भित्तामा सुकेधाराको साहुले फ्रिज दिने बेला “यस्मा जे राखेपनि सधै ताजै बस्छ” भनेको दृश्य प्रोजेक्ट गर्यो | बिहानको खाना तेइ फ्रिजमा राखेर बेलुकी खाएको दृश्यपनि क्रमिक रुपमा दोहोरिए | समेटेर भन्नुपर्दा बुढोको लासलाइ तेइ रेफ्रिजेरेटर भित्र कोच्ने उपाय उसको मष्तिस्कमा जन्मिएको थियो | समय एकदमै कम रहेकाले वैकल्पिक मार्गहरुको बारेमा उसले सोच्नै भ्याइन | यो उपायले आँफुलाइ बचाउने भ्रममा उसले हतार हतार ड्रेसीङ् गरिएको हातका पट्टिहरु खोलिदीइ | जलेका हातका घाउ केहि हदसम्म निको हुने क्रममा रहेछन् | खोलिएका पट्टि खाटमै फालेर जुरुक्क उठी र थोत्रा कपाडालाइ ढोकाको चेपमा छिराई सबै चेपचाप बन्द गरी | उफ्रेर फ्रिज अगाडी पुगी र “कसरि यो लास अटाउने?” आँखैले नापजाँच गरी | फर्केर लासलाइ पनि हेर्दै आँखैले जाँच गरी तर त्यस फ्रिजमा लास कसरि अटाउने भन्ने सोच्न सकिन | त्यो जंघ लास रेफ्रिजेरेटरमा अटाउन कि रेफ्रिजेरेटर खोलखाल पर्नु पर्थ्यो कि लासलाइ नै खोलखाल गर्नु पर्थ्यो तर रेफ्रिजेरेटर खोलखाल पार्ने सिप उसमा थिएन |
अब सोच्ने, डराउने र भावनामा बग्ने काम दुर्गाले गर्नु उसैकोलागी हानिकारक सावित हुन सक्थ्यो | अन्यौलता अंगालेकी दुर्गा केहि समय स्तब्ध भएपनि तत्कालै निर्णय गर्नुपर्ने अवस्थामा थिइ त्यसैले तुरुन्तै उसले दुइ फट्को मारेर खाट नजिक पुगी र खाटमुनि बाट कहिलेकाहीँ मात्र प्रयोगमा आएको काठको टुक्रो अचानो र खुकुरी पालैसँग बाहिर निकाली | बुढोको शरीरमाथि अब दुर्गाकै प्राधिकार थियो, उसले त्यो लाससँग जे सहि लाग्छ त्यहि गर्न सक्थी, र उसले आँफुलाइ सहि लागेको गर्ने आँटपनि गरी | लास फर्किएकै पट्टि थचक्क बसेर लासलाइ अघिल्तिर पल्टाई र तानेर निलो घाँटीलाइ अचानोमा मिल्नेगरि सेट गरी | खिया लागेर कर्दमै जाम भएको खुकुरी जोरले बाहिर निकाली | दाइने हातमा ठडिएको भुत्ते खुकुरी, अगाडि लम्पसारिएको लास र अलिक पर सारा घटनाको साक्षि रेफ्रिजेरेटरलाइ पालैपालो नियाल्दै उसले अन्तिम पटक भगवानलाइ सम्झी | “आफ्नै बुढोलाइ लास बनाएर त्यो लासपनि टुक्राटुक्रा पार्दैछु, मलाइ नर्कमा पनि वास नदिनु भगवान” भन्दै खुकुरीसँगै कापिरहेको हात थोरै अघि बढाई | अक्मकिएको आँटलाइ उर्जा दिने महाशक्तिशाली तत्व पुन उसको मस्तक हुँदै दगुर्यो | सोहि क्षण जलेका दुबै हातले खुकुरी समातेर जोरले लासको घाँटीमा प्रहार गरी, तर चिसो घाँटी सजिलै छिनाल्न सकिन | रगतको फोहोराले उसका कपडा सारा रंगाए, तत्कालै देब्रेहातले टाउको थिचेर दाइने हातको खुकुरीले अलग हुन बाँकी अंश रेट्न थाली | अन्तत उसले उसको बुढोको दुइ टुक्रा बनाएरै छोडी | यसरि बच्चाले माटो खेलाए झैँ बुढोको रक्ताम्य लास ओल्टाउदै पल्टाउदै उसले सारा अङ्गहरु अलग गरेरै छाडी |
टाउको, पाखुरा, हात, छाति, ढाड, पेट, करङ्, पिडुला, घुँडा, खुट्टा सारा अङ्ग अलग गरिसकेपछि लामो सास् फेर्दै “अब भने कसैले पत्तो पाउँदैन” भन्ने कुरामा ऊ ढुक्क भइसकेकी थिइ | दिउसोसम्मको उसको पति केहि क्षण अघिमात्र लास भएको थियो र अहिले मासुको थुप्रोमात्र भएपछी उसका क्रोध र घमण्डपनि छियाछिया भएर नष्ट भएका थिए | शरीर भरि लत्पतिएको रगतले दुर्गालाई भने बेग्लै दुनियाँमा स्थापित गर्दै थियो | काँचो रगतले नुहाएकी दुर्गामा रगतप्रतिको पागलपनपनि बढीरहेको थियो | अब काट्न र रगत निकाल्न उसलाई मज्जा लाग्नु स्वाभाविकै भयो | रगत र मांशपिण्डसँग रमाउदै छुट्टाएका अङ्गहरु मध्य करङ्लाइ उसले अझै निकै मसिनो गरेर टुक्रा पारी | रगतको नसामा उसलाई निकै मज्जा आइरहेकाले करङ् र अन्य भित्री अङ्गहरुलाई अझै मसिनो पारेर एउटा ठुलो प्लास्टिक झोलामा हालेर प्याक गरी | सर्लक्क परेका, बोक्न र खाद्न सजिला अङ्गहरु भने एक एक गर्दै रेफ्रिजेरेटरमा खाँद लगाई |
रेफ्रिजेरेटरमा नअटाउने र राख्न नमिल्ने अङ्गहरुलाइ एकदमै मसिनो टुक्रा पारेर झोलामा प्याक गरेपछी अटेका अनि राख्नमिल्ने अङ्गहरुलाइपनि उक्त फ्रिजमा हालेर बन्द गरिदिएपछि उसले पुरानो कपडाले भुइँ छोपेको रगत पुस्न थाली | ऊ एक तिन्को प्रमाणपनि लुकाउन चाहान्थी त्यसैले उछिट्टेका साना साना मांशका टुक्रा अनि रागतका छिट्टा सबै सफाई गरेर हटाउन तिर लागि | रगतको रङ् अनि गन्ध दुवै उसलाई प्रिय लागिरहेको थियो, त्यस्तो रक्तखेलमा ऊ आत्तिने, डराउने गर्नु साटो खुशी खुशी सफाई गर्दै थिइ | बिना कुनै डर पानीले भिजेको टालोले रगत पुस्दै वाल्टिमा निचोर्दै उसले एक वाल्टी रगत शौचालयको दुलोमा लगेर खन्याई र गन्ध नआओस भनेर एक बट्टा पुरै फिनेल पनि घोप्टाई | तुरुन्तै कोठामा फर्केर रगतको टाटो लागेका जति कपडाहरु एकातिर थुपारी | यसरि आँफुलाई बचाउन उसले सारा सबुत नष्ट गरि अनि सफा कोठालाई निर्धक्क भएर एकछिन् नियालीरही |
सफा कोठालाई हेरेर बल्ल खुलेर हाँसी दुर्गा तर उसको हाँसोको किसिम एकदमै असामान्य थियो | उसले खेलाएको रगतमा रहेको सेप्टेसीमियाका तत्वहरुले उसलाई गाँजा तानेको मान्छे जस्तै झुल्ल बनाइदिएको थियो | नसामा बेहोसी भएपनि त्यस समय पेटको भोक भने चार गुणाले बढ्दो रहेछ | दुर्गालेपनि खाना नखाएको चौबिस घण्टा बितिसकेको थियो त्यसैले भोकले उसको पेटमा डङ्का बजाएको बल्ल उसले महशुश गरी | पतिको हत्या गर्दा डराएकी ऊ बुढोको शरीरलाइ टुक्राटुक्रा पार्दा सम्म मारकाटप्रति मोह राख्ने भैसकेकी थिइ | उसले चाहेर वा सोचेर केइ गरेकी हैन तर उसका क्रियाकलापहरुले उसलाई पिशाचीय दुनियाँमा पक्षग्रहण गराउंदै थियो | भोकको सुर र रक्तनसामा उसले तुरुन्तै हिटर बिजुलीमा जोडी र त्यसमा कराई बसाली अनि तुरुन्तै बन्दिलो फ्रिज खोलेर बुढोको पाखुरीको टुक्रो झिकी र खाटमुनिबाट फेरी अचानो र खुकुरी झिकी | केहिपलमै मोटा रक्तनली र पाखुरीको भित्री हुमेरस हड्डी अलग गराएर तिनलाइ मसिनो टुक्रा बनाइ अनि अघिकै प्लास्टिक ब्यागमा प्याक गरी | त्यसपछी छुट्टिएका मासुका केस्रामात्र एक भाँडोमा हाली, ऊ यति खुशी थिइ कि मानौ खसीको मासु तयार गरिरहेकी छे | त्यसपछि मज्जाले तातेको कराईमा टन्न भुटुन हालेर आवश्यक मसलासमेत झर्काइ राता मासुका केस्रापनि ओइर्याई | “हिजो मेरा हात यइ हिटरमा पोलेको थिस आज तलाई यइ हिटरमा भुट्दै छु” भनेर ऊ अस्वभाविक किसिमले हाँस्नपनि थाली |
हिंसा अवतरण भएको आत्मा अनि रित्तो भोको पेटले जे सही हो माने उसले त्यहि गरी किनकि रगतमासुसँग खेल्दाखेल्दै उसमा पिशाचको प्रवेश भैसकेको थियो | अब ऊ दुर्गामाया थामी नभई मान्छे खाने पिशाच भैसकेकी थिइ | मानव प्रवृति गुमाएकी दुर्गाले केइ अप्ठेरो नमानी भोकको सुरमा सारा मासु खत्तम गरी | बुढोको मासुको स्वाद कुनै जीवको मासुसँग तुलना गर्न नमिल्ने स्वादिलो लाग्यो उसलाई | पेट अघाउन्जेल हैन, अघाइसक्दा पनि मासु नसक्कुन्जेलसम्म दुर्गाले स्वाद लिएर खाइरही | बडो स्वादिलो खानेकुरा खाएपछी उसलाई सम्पूर्ण किसिमको उर्जाले शरीर भरिएको भान भयो | तृप्त पेटलाइ तन्काउँदै अगाडी हेर्दा मसिना टुक्रा पारिएका ठुला हाडहरु प्याक गरेको प्लास्टिक झोला लडिरहेको देखी | अब दुर्गालाई हत्यारा सावित गर्न सक्ने अन्तिम प्रमाण त्यहि झोला थियो त्यसैले तेसको व्यवस्थापन गर्ने बारे पनि दुर्गाले सोचिसकेकी थिइ |
त्यो मध्यरातको एकान्तमा दुर्गा निडर भै करङ्, आन्द्रा र अन्य भित्रि अङ्ग अनि हाडहरु मसिनो पारेर प्याक गरिएको झोला बोकेर बाहिर निस्की | त्यो सन्नाटा अनि अन्धकार रात भयवित भएपनि दुर्गालाई कुनै भुतप्रेतको डरले छुन सकेन किनकि दुर्गा आँफै धर्तिकि जीवित प्रेत भैसकेकी थिइ | अनकन्टार बाटोहरु दुर्गाकोलागि सुमार्ग जस्तै थिए, त्यो अध्यारो दुर्गाकोलागि अवसर थियो | सुन्ने बाटाहरु जहाँको त्यहि जस्ताको तेस्तै थिए तर मानिसहरुको भिड लाग्ने ति बाटोमा दुर्गा एक्लै थिइ | निडर भइ अध्यारो छिचोल्दै दुर्गा आँफु बस्ने टोलभन्दा अलि पर पुगी | टाढैबाट दुर्गालाई देख्नेबित्तिकै अलि परको गल्लीका कुकुरहरु बेतोडले भुक्न थाले | दुर्गा डराइन, बरु खुशी खुशी तिनै भुकीरहेका कुकुरहरु सामुन्ने पुगी | नजिक पुगेपछि कुकुरहरुले पनि भुक्न छाडे, दुर्गाले हतार हतार झोलाबाट हाडमासुका टुक्रा झिकेर प्रतेक कुकुरलाइ दिन थाली | एक क्षणमै दुर्गा कुकुरहरुकी प्रिय बनी, कुकुरहरुले एक टुक्रा नछोडी सबै खाइनसक्दा सम्म दुर्गा त्यहि बसेर हेरिरही | यसो गर्दा बुढोको आत्मा भड्किएर दुख देला भन्ने डरपनि उसमा थिएन बरु उसको ज्यानले धेरैको भोक मेटाएकाले ऊ त स्वर्ग जाला भन्नेमा दुर्गा विश्वस्त थिइ | हाडमासु खाइसक्दा कुकुरहरुले त्यहाँ न दुर्गालाई देखे न उसको झोलालाइ, त्यस अन्धकारमा दुर्गा बिलाएपछी अघाएका कुकुरको आत्माले दुर्गालाई कोटीकोटी धन्यवाद र आशिर्वाद पक्कै दिए होलान् | यसरि दुर्गाले त्यस रात आफ्नै बुढाको हाडमासुले कुन कुन गल्लिमा पुगेर कति भोका कुकुरको पेट भरी भन्नेकुरा दुर्गा र ति कुकुरहरुलाइ मात्र थाहा छ |
बिहानको करिब तिन बजेतिर झोला रित्ताएर ऊ कोठा पुग्छे | थकाइ, निन्द्रा अनि सुरक्षित् भैसकेको महशुशले उसलाई सुत्नको लागि केइले पनि रोक्न सक्दैन थियो | निकैदिनको अनिदो अनि कामले गर्दा होला ऊ घाम माथि पुगिसक्दा समेत उठिन | तर जब निन्द्रा खुल्यो निरपराधि दुर्गासँगै सुतिरेको पिशाचीय तत्वपनि ब्युझियो | उठ्ने बित्तिकै उसलाई बेलुका चाखेको मासुको स्वाद याद आयो | पागल झैँ ऊ अत्तासिदै हिटर जोडेर कराई बसाएर फ्रिजबाट अर्को पाखुरी झिकेर हिजोकै जसरि काटेर अनि भुटेर खाइ | जसरि नसा गर्ने व्यक्ति नसाको लागि पागल हुन्छ त्यस्तै ऊपनि एक स्वादमै मानवमांशको पूर्ण प्रशंशक भैसकेकी थिइ | हिजोकै जसरि नसक्किदा सम्म मासु खाएपछी थुपारेर राखेको रगत लागेका कपडा धुने सोच बनाइ उसले किनकि ति कपडा फालिदिए समातिने सम्भावना पहिल्लै जानेकी थिइ | त्यसैले बाथरुमको ढोका मज्जाले थुनेर उसले सारा कपडा सफा गरी | उसले यसरि सारा प्रमाण नष्ट गरिसक्दा समेत वरपर सँगै बस्ने कसैले घटनाको एक सुइँको पत्तो पाएका भने थिएनन् |
अब कसैले आँफुलाई समात्न नसक्ने कुरामा विश्वस्त भएकी दुर्गा कपडा धोइसकेपछि ढोकामा ताल्चा मारेर बाहिर निस्की | कतै भागेर गाएब हुनलाइ हैन किनकि मासुको स्वादले कोठा छोड्नसक्ने सम्भावना त शुन्य बनाइसकेको थियो | ऊ त बुढो मर्नु अघि सहकारीमा जम्मा गरेको पैसा झिक्न जाँदै थिइ | सहकारिबाट सबै पैसा झिकेर ऊ सिधै साथी सुस्माको कोठातिर लागि | दुर्गा त्यहाँ पुग्दा सुष्मा काममा जाने तयारि गर्दै रैछे, उद्दव र उषापनि स्कुल गैसकेछन् | अन्तिमपटक आफ्ना छोराछोरी भेट्ने उसको इच्छा पनि पुरा भएन किनकि दुर्गा उद्दव र उषालाइ त्यस रक्तनदि बगेको कोठामा लग्न चाहान्नथी, त्यहिमाथि उसलाई त्यो मासु स्वाद लिदै खानुपनि त छ | त्यसैले सुस्माको हातमा दश हजार दाम थमाएर दुर्गाले आफ्नो टाढा काम परेकाले दुइ तिन हप्ताको लागि उद्दव र उषालाइ सुस्मासँगै राखिदिन आग्रह गरी | परेको बेला दुर्गाले पनि सहयोग गरेकाले सुष्माले नाई भन्न नसकेर दशहजार अनि छोराछोरीको जिम्मा लिदीई | अन्तत त्यस रेफ्रिजेरेटर भित्रको रहस्य दुर्गा बाहेक अरु कसैले थाहा नपाउने कुरामा ऊ शतप्रतिशत विश्वस्त भइ | त्यसपछी रित्तिएको खाना पकाउने ग्यास फेरेर र टन्न मरमसाला किनेर ऊ निकै हौसिदै कोठातिर लागेकी थिइ |
निकैदिन दुर्गा र उसको बुढो सम्पर्कविहिन भएपछी सुस्मालाई शंका लाग्यो त्यसैले एकदिन काम बाट फर्किदा दुर्गाको कोठातिर गएर घरपेटी वा वरपरकालाइ सोधपुछ गर्ने सोच बनाएर सुस्मा उसको कोठा गइ | त्यहाँ पुग्दा टाढा काम परेर गएको भनेकी दुर्गाको कोठाको ढोकामा सुस्माले कुनै ताल्चा झुन्डिएको देखिन | सुस्माको कौतुहलता झनै व्यग्र भयो, त्यसपछि उसले ढोकालाइ हल्का धक्का दिई | अचम्म, ढोका त भित्रबाट पनि लगाइएको रहेनछ , सजिलै खुल्यो | सुष्मा बिस्तारै कोठाभित्र पसी, कोठा भित्र उल्टी आउला झैँ हरक फैलिएको थियो | नाक थुन्दै सुष्मा कोठाभित्र पस्दा दुर्गा अनौठो अवतारमा सुतिरहेकी देखी | दुर्गाले लगाएका कपडा निकै मैला देखिन्थे, उसका कपाल मोटा, घुन्ग्रिएका, गन्धा देखिन्थे | दुर्गालाई त्यो अवस्थामा देखेर सुष्माले टाढैबाट डराउँदै मसिनो आवाजमा घुरेर र्याल काडेर सुतिरहेकी दुर्गालाई बोलाइ “दुर्गा” तर दुर्गाले प्रतिक्रिया दिईन | दुर्गा नब्युझेपछी सुस्माका आँखा अन्यत्र मोडिए, कोठामा सबै चिज पुरानै देखिन्थे तर रेफ्रिजेरेटर नयाँ देखियो | रेफ्रिजेरेटर देखेर सुस्मा दङ्ग परेर तेतैतिर मोडीइ | रेफ्रिजेरेटर अगाडी पुगेर बिस्तारै उसले त्यसको ढोका खोली, आँखा बाहिर निस्केर झर्न ठिक्क परेको, फुटेर कुच्चिएको मानव मस्तक सुस्माको खुट्टामा बजारियो | फ्रिजबाट झरेर आफ्नो खुट्टामा परेको तेस्तो डरलाग्दो खोपडी हेर्न नसकेर आँखा बन्द गरेर आफ्नो हंश नसम्हाली ऊ जोरले चिच्याई “आ……..”|
दुर्गाले जुन रेफ्रिजेरेटरले उसलाई बचाईरहेको ठान्दथी त्यहि रेफ्रिजेरेटरले गर्दा अन्तत प्रहरीले दुर्गालाई अत्यन्तै खतरनाक अपराधीको रुपमा पक्राउ गरेको थियो | आँफुलाइ बचाउँनका लागि अति लोलुप दुर्गा अन्तत आफैले तुनेको बखडाको जालोमा आफै फसेकी थिइ | यतिका दुख गरेर, मानव धर्म समेत त्यागेर बाँच्ने आशा गरेकी दुर्गाले सुरुवातमै आत्मसमर्पण गरेकी भए कमै कष्ट भोग्नुपर्ने थियो होला | तर, सबैकोणबाट हारेकी दुर्गा अन्तत कारागारमा अपराधीको रुपमा बन्दी भइ | दुर्गाको अपराध, रोग, प्रकृति अरुभन्दा फरक हो भन्ने कुरा प्रहरीले सुरुवातमै बुझ्न नसकेकाले उसलाई अन्य कैदीबन्दीसँगै राखियो | तर, थुनिएको पहिलो दिनै उसले थानाका अन्य दुइ कैदीलाइ टोकेर रगतपिच्छे बनाइदिएपछी दुर्गालाई अलग राखेर गम्भिर अनुसन्धान थाल्ने तयारि भयो | त्यसैक्रममा उसलाई “मार्क नेपाल” पुर्याइएको थियो |
अनुसन्धानले दुर्गा क्यानिबलिजम अर्थात नरभक्षिताको शिकार भएको निष्कर्ष निकाल्यो, दुर्गाको मानोदसा कमजोर भएकाले उसले त्यस्तो आदत लगाएकी पनि प्रष्ट्यायो | अन्तत कसैले त स्वीकार्यो दुर्गा अपराधी हैन मनोरोगी हो भनेर | जुन कुरा उसको बुढोले बुझिदिनु पर्ने थियो, जुन कुरा उसको घरपेटी, डाक्टर अनि सुष्माले बुझिदिनु पर्ने थियो त्यो कुरा दुर्गा मासु टोक्न नपाएर मानसिक रोगी भैसकेपछी प्रहरीले बुझिदियो | त्यसैले मार्क नेपालमा भर्ति भएकी दुर्गाको विशेष उपचार तुरुन्तै सुरु गरियो |
दुर्गा समातिएको पत्तो पाउने जति सबैले उसलाई राक्षस्नी, पिशात्नी भनेर निकै गाली गरे | तर, ति सबैले भुलेका थिए कि साँझमा बासेको भालेको तुरुन्तै मुन्टो निमोठ्ने चलन हाम्रै समाजको हो भनेर | कसैको जीवन बली दिएर चाडपर्व मनाउने हामी सबैमा त्यो निरिह दुर्गा छे, तर दुर्गा एक्लै कसरि अपराधि हुन सक्छे ? को हो र धर्मात्मा ? आफ्नो अनि सबैको प्राणको अस्तित्व बुझ्ने जो कोहि हो धर्मात्मा हो | यदि दुर्गा अपराधिनी हो भने अरुको ज्यानका अङ्गहरु भुटी,पोली खाने जति सबै दुर्गा हुन् |
आँफुलाई धर्मी र दुर्गालाई पापी मान्ने मानिसहरुको जमातले “त्यो डङ्किनी मरेपनि हुन्थ्यो” भनेर सरापेकैले होला मार्क नेपाल स्थित मानसिक रोग उपचार केन्द्रमा उपचाररत दुर्गाले अन्तत देह त्याग गरि | उसले अन्तिम घडीमा समेत “मासु ..मासु” भन्दै बोख्लाई रही तर निकै किसिमका शारीरिक र मानशिक रोगहरु देखिएका शरीरलाइ उसको आत्माले धेरै समय डोर्याउन सकेन | उसले बुढोको टाउको बाहेक सारा अङ्ग खाइ त ?, ति कुकुरहरुलाई पनि त खुवाई होला कि ? उसले उद्दव र उषालाई सम्झेर रोइ पनि होला र ? जस्ता अनेकौ अगाडी ठडिएका प्रश्नहरुपनि उसको देहवासानसँगै ढलेर गए | उसको मृत्युसँगै प्रमाणको रुपमा जफत भएको रेफ्रिजेरेटरलाइ पनि जलाएर नष्ट गरियो | यसरी दुइ जीवन र जीवनकहानीपनि रेफ्रिजेरेटर जलाएपछि सबैले भुलाईदिए, सुनेर उडाईदिने यस्ता कहानीहरुको कमि कहिले पो भाछ र ? सबैले भुलिसकेका उद्दव र उषा अहिलेपनि रत्नराज्य स्कुलमै अध्ययनरत छन् |
– विवेक अरुण्य काफ्ले
Leave a Reply
You must be logged in to post a comment.