Register
A password will be e-mailed to you.

वसुधार
(Stream of gifts)

गाउँघरमा बिस्तैरै परिस्थिति फेरियो, भय को वातावरणले सबैको मनको चैन उडायो | त्यस बखत इध्या र मेरो सम्बंधामा पनि धेरै किसिमका समस्याहरु आए तर जस्तो सुकै परिस्थितिमा पनि हामीले समाएको एक आर्काको हात छोडेनौं | हाम्रो वैवाहिक जीवनको सुरुवात भएको सत्ताइस वर्ष पुरा भैसक्यो, विवाहको गाँठोमा बाधिएको चौथो वर्ष पुरा भैसक्दापनि सन्तान नजन्मिएपछी हाम्रो सम्बन्ध ध्रामराउला झैँ भएको थियो | “यतिका बेला सम्म पनि किन छोराछोरी नजन्माका?” भनेर कुरा काट्ने लहर चलेको थियो गाउँमा | परिस्थिति जे भए पनि इध्याले मलाइ गर्ने मायामा कुनै बदलाव महशुश गरिन मैले | हाम्रो प्रेम भोगाइमा शारीरिक मात्र हैन आत्मीय तृप्तता थियो, हामीलाई एकअर्का सँग कुनै गुनासो थिएन | तर, सन्तान सुख पनि प्रेम भोगाइको महत्वपूर्ण पाटो रहेछ त्यहीमाथि नारिमा सन्तानको चाहानाको भोक अलग्गै हुनेरहेछ | तेतिका प्रयासका वाबजुदपनि सफलता प्राप्त नहुदा इध्यामा निकै छटपटी थियो, उसको मुहारको कान्ति हराउंदै थियो सन्तानको चाहानाले | परिस्थिति यतिसम्म नकारात्मक भयो कि घरमा पारिवारिक मनमुटावको अवस्था आयो, घरबाट, आफन्तीबाट अर्को विवाह गर्न दवाब समेत दीइयो मलाइ | तर, इध्याबाट मलाइ भने कुनै कुराको आवश्यकता थिएन र मैले इध्याबाट पाउनुपर्ने सारा खुसि पाएकै थिएँ , एक्लैमा रुन्थी इध्या आसुँ झारेर, “तँ बाट मैले सबै सुख पाको छु, अरु चाइन्न” भन्दै आँसु पुसीदिन्थें | “तर मलाइ सन्तान चाइयो, बा आमा लाइ नाति दिनुपर्छ तपाइले” भन्दै आँखाभरी आँसु पारेर मेरा गाला सुम्सुमाउथी | इध्या पनि चाहन्थी मैले अर्की भित्राएर सन्तान जन्माउँ तर मैले भने सबैको विपरित रहेर अडान लिएको थिएँ अर्को विवाह नगर्ने | “नामर्द भर तेइ एउटीको पछी लाइछ” भनेर बुवा आमाले समेत निकै गरेर सुनाएपछी त्यो घरमा यतिका वर्ष सेवा गरेर बसेकी इध्याको महत्व एउटा वस्तु जस्तो मात्र रहेछ भन्ने बुझें मैले | नारि भएकै कारण काम लागे राख्ने नत्र फाल्ने वस्तु झैँ तुच्छ मानिएकी इध्याको बिक्षिप्त मनलाई सम्झाउन मैले उसलाई वचन नै दिएको थिएँ | किनकि इध्या मेरो लागि सामान्य वस्तु झैँ थिइन, इध्या त विशेष स्थान ओगटेर बसेकी छ मेरो जीवनको हरेक पाटोमा | सुक्कसुक्क रोएकै बेला “बाचुन्जेल तँ बाहेक अरु कसैको हुनेछैन” भनेर उसको हात समातेर उसलाई वचन दिएँ | त्यो दिन दिल खोलेरै रोइ इध्या मेरो अँगालोमा |

गाँउमा हो हल्ला मच्चियो, राजा र राज परिवार युवराजद्द्वारा सखाप पारिए अरे | रेडियोमा बजेको त्यो एकलहरे ध्वनीले झनै सबैको मन आत्तिएको थियो, राजाको मालाम जाने एक लर्को हाम्रो गाउँबाट पनि गएको थियो त्यसबखत | राष्ट्रले तेस्तो सङ्कट कहिल्लै बेहोरेको थिएन, अभिभावक गुमाएका आम जनतामा ठुलो सन्ताप फैलिएको थियो | त्यो माहोल सम्झिदा कोइ जनता राजाको विरुद्द लागेर युद्द गरिरहेछन जस्तो लाग्दैनथ्यो, त्यस घटना पछी सारा देशले अभिभावकको कमि महशुश गरिरहेको थियो | त्यस घटनापछी दबिएको झैँ लाग्ने क्रान्तिले कोलाहाल माहोल थपियो देशभर, बयालीस जिल्लामा भएको आक्रमण, त्यसपछिको संकटकाल घोषणा, प्युठान र रोल्पाको भिडन्त जस्ता घटनाहरुले सबै तिर अशान्ति थियो | शान्तिवार्ता र वार्ताका लागि पहल भएका कुरा पनि सुनिन्थे तर बढिरहेको युद्दबाट सबै आक्रान्त थिए |

मलाइ पनि पक्ष विपक्ष भनिने दुबैतिर बाट सहयोगको आपिल र दबाब नभएको हैन तर मेरो असंगलग्नताले नै म तथा मेरो परिवारलाई कसैले हानि गर्न सकेन | तल कालिगण्डकीको बगरमा वीर अभिमानको ढलेको शरीर परिवारले लिने कि क्रान्तिकारी समुहले सम्मानजनक अन्तेष्टि गर्ने भन्ने विषयमा विवाद भयो रे | कमरेड अभिमान भनिने व्यक्ति अरु कोइ नभएर केहि वर्ष अघि मलाइ खतरा हुनसक्ने चेतावनी दिएर अन्तिम पटक भेट दिएको मेरो आफ्नै साथि सोनाम थियो | सिद्दान्तले भरिएको उसको व्यक्तित्व र उसको उर्जा यो राष्ट्रलाइ महान बनाउन धेरै उपयोगी हुन सक्थ्यो तर आज उसको त्यो निर्णयले उसकै परिवार र समाजलाइ गहिरो चोट लागेको थियो | मैले त्यसबेला सोनामलाई “युद्दमा जितहार जसको भएपनि मारिने त नेपाली आमाहरुका सन्तान नै हुन्, रित्तिने त आमाकै कोख हो त्यसैले क्रान्तिको तरिका फेरेर तिम्ले र मैले शान्तिको बाटोबाट परिवर्तन सम्भव बनाउन नयाँ संगठन तयार गरौँ” भनेर उसलाई रोक्नुपर्थ्यो | तेती शब्दमा रोकिने अवस्थामा त उ थिएन, योद्दाको धर्म युद्द भनेर हिडेको उ अन्तमा शहिद भयो | उसको शहिद भएको शरीर कसको भन्ने झगडामा क्रान्तिकारीहरु टिक्न सकेनन्, नजिकै रहेको बेनी बजारको व्यारेक देखि त्रशित रहन्थ्ये क्रान्तिकारी सधैं | “कसैले नसोचेको कारवाही हुनेछ अब यो ठाउँमा” भनेर उनीहरु गएका थिए रे, यसरि परिवारले जितेको सोनामको मृत शरीरलाइ अन्तिम विदाई गर्यो सारा गाउँले | यो घटना पछी गाउँलेहरुको मनस्थितिमा ठुलो परिवर्तन आएको थियो, घरमा पनि इध्या र म निसन्तान हुनु ठुलो समस्या होइन बरु मर्दै गएको मानवता विकराल समस्या हो भन्ने सबैले बुझिसकेका थिए | सधैको टोकसो थामियो, आमा भन्नु हुन्थ्यो “राजालाइ सिध्याए, पिपलबोटेको छोरोलाइ मारिकन खोलामा फाले अस्ति, अझै को कोलाइ के के हुन पर्ने हो | पर्दैन, चाहिएन मलाइ सन्तान | जन्मेर पो के देख्ला तेस्ले, “मारकाट?” जन्मार हुर्काको सन्तान त पुतली जस्तो फुंग पारिदिए गोलीले, भो इश्वर शान्ति होस अरु केइ चाइन्न” यस्तो भावना भरिएका भारि शब्द बोल्दै आमाले दुइ हात जोडेर इश्वर पुकारा गर्नुभयो | आमाका ति शब्दले धेरै अर्थ राख्थे त्यसैले हामि सबैको आँखा बाट आँसुका भारि ढिका जमिनमा बजारीए | वास्तवमा जुन समस्यालाई हामि समस्या मानेर बसेका थियौ त्यो त केवल भ्रम रहेछ, समस्या त मानवता माथि, देश माथि, जनता माथि बजारिएको रहेछ भन्ने बोध गरायो आमाका शब्दले |

दरबारले जनताको लोकतान्त्रिक अधिकार अवमुल्यन गरेर सारा शक्ति आफ्नो हातमा लिएपछी क्रान्तिको आगोमा घिउ थपे झैँ भयो देशमा | हिजो सम्म सामान्य झिल्को लाग्ने शक्तिले आगोको रुप लिँदै गयो, नैतिक र राजनैतिक हिसाबले राजा कमजोर हुनु निश्चित थियो | साउने झरी दर्किरहेको थियो, गण्डकी कड्कीएको आवाज गाउँसम्म सुनिन्थ्यो, आशालाग्दो खाबर केइ नदिने बजिरहेको रेडियो बन्द गरेर इध्या मेरो समिपमा आएर मुस्कुराई | हो देशले नराम्रो दिन भोगिरहेको थियो, भोग्ने वाला थियो तर इध्याको मुश्कान अगाडी म सारा समस्यालाइ भुल्न सक्थेँ | उसले टास्सिएर मेरो कानमा खासखुस गरेर केहि भनि र लजाएर जुरुक्कै उठेर बाटो लागि | खुसीको खबर सुनाउने उसको तरिकाले म पनि प्रफुल्लित भएँ, जुरुक्क उठेर नाच्दै होहल्ला मच्चाएं तेतिबेला जब इध्या र मेरो प्रेम निसानी यस धर्तीमा आउंदैछ भन्ने चाल पाएँ | धड्कम मच्चाउनै पर्थ्यो, धेरै मन्दिर, देवीदेवता भाकलेर, धेरै उपचार अपनाएर, गुमिसकेको आशा पछी आएको खुसि जो थियो, हाम्रो चोखो प्रेमतप विवाहाको आठ वर्षपछी सफल जो भएको थियो अनि इध्याले अर्को ठुलो उपहार जो दिएकी थि |

हाम्रो मायाको चिनोलाइ इध्याको शरीरको कुनै अंगले जोगाएर हुर्काइरहेको थियो तेस्तोमा उसको शरीरको ख्याल राख्नु मेरो दाइत्व बन्थ्यो | इध्याले ओगटेका सारा काम बाट उसलाई रोकेँ र सकेको जति इध्या र इध्याले गर्ने परिवारको सेवामा आफुलाई व्यस्त राख्ने कोशिश गरें | पुरा लगावले काम गरेर इध्यालाई आराम दिएँ, सघाउला झैँ गरेर हरेकपल जब ऊ मेरो सामुन्ने आउँथि, सबैको अगाडी उसको निधार चुमिदिन्थे मैले, अनि भाग्थी | यता यत्रो खुशीले घर आँगन नै उज्यालो थियो उता देशको अवस्था भने झनै बिग्रिरहेएको थियो | तेसै बेला रामेछापको भिडन्तमा पनि दुबै पट्टिका धेरै मारिएका थिए, जनमुक्ति सेना झनै शक्तिशाली र संगठित भएर सिराहा र रुपन्देहीमा आक्रमण गरेका थिए, राजधानीमै शाही सेनाका कोलोनेलहरुको घरमै आक्रमण भएको थियो, खोटांग, गाईघाट, जनकपुर, भालुवाङ्, बाग्लुङ्, नेपालगंजको भिडन्तमा पनि दुबै तर्फका र आम नेपाली जनताका धेरै सन्तान मारिएका थिए | अशान्त त्यो माहोलमा इध्याको अँगालोमा बेरिएको बेला भने सारा शान्ति मिल्थ्यो मलाई, मेरा हात सन्तानको धड्कन महशुश गर्न सधै आतुर हुन्थे र पुग्थे संरक्षण गरिरहेको इध्याको पेटमा | कहिले त निकै समय हातले स्पर्श गरिरहन्थे र म सोच्थेँ “तिमि जुन शान्तिमा रमाईरहेका छौ, त्यो शान्ति बाहिर छैन | धेरै अशान्त छ संसार, तिमि रहेको संसारको शुन्यतामा कुनै कष्ट नहोस तिम्लाई, बाहिर कष्टपूर्ण संसार छ | तर पनि आउनु त पर्छ तिमीले, यहाँ आएर पनि त एकदिन शान्तिमा स्थित हुनै पर्छ, “सोनामजस्तो” त्यसैले तिम्रो आगमनको प्रतिक्षा छ मलाइ |” यस्तै भावनामा डुबेर इध्याको पेटलाइ सुम्सुमाउदै उसको आत्मालाइ बुझ्ने कोसिस गर्दै आशिर्वाद र उपदेश दिन्थे |

देशमा द्दोन्दले विकराल रुप लिँदै थियो तर मेरो समय इध्याको सेवामा समर्पित भएर, हाम्रो मायाको आसपास कतै भुलिएरै बित्थ्यो | त्यो दिन पनि म उफ्रिएर नाचें जुनदिन इध्याको पेट भित्र हाम्रो सन्तानपनि नाचेको थियो | बिस्तारै आकारमा परिणत इध्याको अवस्थाले म झन् उत्साहित हुन्थेँ, इध्याकोलागि आवश्यक पर्ने पोस, दबाई सारा कुरा बेनी बजारबाटै लिएर आउथे | उसको बडेमानको पेटमा हुर्किएको मायाको चिनोलाई स्नेहले चुम्नु मेरो नियमितता थियो | इध्या भन्थी “जात्तिबित्ति पनि नअर्नु क्या, दैवको नि नजर लाम्छ रे“ र म जवाफ दिन्थें “हाम्रो सन्तानसँग मैले धेरै कुरा देखेको छु, हामि दुइको भविष्यकर्ता हो यो चिनो, केइ हुन्न” | इध्या गारो मान्दै मलाइ झ्याप्पै अँगाल्थी |

लुकुम गाउँतिर लालसेनाले अड्डा बनाए रे, धेरै ठाउँबाट पैदलै तेता पुग्दै छन् रे भन्ने हल्ला गाउँमा सुनिन थालिसकेको थियो | लुकुममा तालिम, परेड दरो चल्छ आजकल, बालुवाको मुर्ति बनाएर कसरि मान्छे ढाल्ने सिकाको छ रे भनेर पोष्ट दाजुपनि सुनाउथे | त्यो विशाल सेनालाई आवश्यक पर्ने धेरै श्रोतहरुको व्यवस्था त आसपासका गाउँबाटै गरिएको थियो, अन्न तरकारी देखि खसीबाख्रा अनि धनसम्पत्ति र हातहतियार समेत आसपासका गाउँबाट व्यवस्था गर्न थाले अरे भन्थे सबैले | हाम्रो गाउँसम्म पनि आइपुगेका थिए बन्दुकसँगै मादल र सारंगी भिरेर, जे छ तेइ लिएर जानलाई | त्यसैदिन उनीहरुले नाचगान सक्किएपछी बेनी बजार नजानु भनेर उर्दी पनि गरेका थिए अरे | त्यो खबरले म निकै आत्तिएको थिएँ किनकि हाम्रो सन्तानले यो संसार देख्ने दिन आज होकी भोलि भैसकेको थियो र अप्ठेरो पर्दा प्रसुतिको लागि इध्यालाई बेनी लिएर जाने बाहेक अरु कुनै बाटो थिएन मेरो | “बेनी व्यारेक सिध्याउने रे” भनेर मैले आत्तिएको स्वरमा भनेपछि मेरो हात समाउँदै इध्याले भनेकी थीइ “नडराउनु, मलाइ केइ हुन्न, बेनी जानै पर्दैन” |

“माबादी त लुकुम बाट हिडिकन तकाम पो आइपुगे रे” चौतारामा गफ्फिन भेला भएका मध्ये एकले खुफिया जानकारी जति आफुसँगै मात्र भए झैँ गरेर बोल्यो | फेरी अर्कोले बोल्यो “माबादी हैनन्, सारा जनता उठेर आका हुन्, बरु यताको जनता पो जाग्ने कैले हुन कुन्नि ?” हुन पनि त्यो क्रान्तिमा जनताले दिएको साथ सुन्न लाएक थियो, बेनीतिर अघि बढिरहेको जनमुक्ति सेनाका बटालियनहरुलाई गाउँ गाउँमा खाने बस्ने सुविधामात्र नभएर गाउँ गाउँका जनता मोर्चामा थपिएर बेनी तिर आउदै थिए अरे |

“प्रकाश दाजु, भाउजुलाइ सारै भो रे” गफको तालमा भुल्लिएको म यो आवाजले आफुलाई थाम्न नसकेर वेगमा घर पुगेको थिएँ | घर पुग्दा गाउँका केइ महिलाहरु पुगिसकेका रहेछन् | कसैले सान्त्वना दिँदै थियो, “नआत्ति मोरा, यस्तै हो ब्याउने बेला” | यस्तो समयमा मैले इध्याको साथ मै रहनु पर्छ भन्दा मेरो गिल्ली गर्दै मलाइ भेट्न समेत दिएनन् | इध्या र सन्तानको सुस्वास्थ्यको कामना गर्दै बाहिरै बसिरहें धेरै बेर | इध्याको आवाज सुन्न नपाएर मेरो मन त्यस्सै आत्तिएको थियो, घन्टौ बित्दापनि केइ चाइचुइ नभएपछी मेरो छटपटी त्यस्सै बढ्यो | मलाइ त मुर्ख बनाइएको रहेछ, इध्यालाई त सारै भएर अचेत पो भैसकेकी रछे | इध्याको त्यो अवस्था बुझ्ने बित्तिकै सबैसँग रिसाएर डाक्टर लिएर आउन म बेनी तिर लागेँ | “चारै तिर माबादी छ्याप्छ्याप्ती भैसके, तेइमाथी बेनी तिर नजानु पनि भन्या छन्, शङ्का लागेसी फुङ्ग पार्दिन्छ , नजा कतै दशा लाग्ला” भनेर आमाले सम्झाउदा पनि नमानेर रातको त्यो अध्यारोलाई वास्ता नगरी म हिडें | रातिको त्यो समयमा हिडिरहेको बेला बाटोमा मानिसहरुको निकै ठुलो लाबालास्कर देखियो, त्यस लस्करमा युवा, बुढा, महिला सबै थिए, धेरै जसो निकै समय देखि ननुहाएका झैँ देखिन्थे |पछी थाहा पाएँ त्यो लस्कर जनमुक्ति सेनाको थियो जुन एक एक गर्दै कुश्मा, बाग्लुंग, घुमाउने ताल, पारिबेनी तिर छुट्टिदै यात्रा गर्नेवाला थियो | तरपनि इध्याको लागि भनेर म नडराई अघि बढें | राति एक्लै भेटिएपछी उनीहरुको शंकाको घेरामा म परिहालें, म माथि बन्दुकै तेर्साए तर मैले आफुलाई सम्हाल्दै अडिएपछी उनीहरुले बन्दुक झारेर सोधखोज गर्नथाले | मैले सारा वृतान्त जस्ताको तेस्तै उनीहरुलाई बताएँ | “तपाइँ अहिलेको अवस्थामा बेनी जान सक्नु हुन्न, आफ्नो घर फर्किनुस, हामि तपाइलाइ जान दिदैनौं | हाम्रो एक टोली यो गाउँमा पनि अढिनेछ, तेइ टोलीले तपाइँलाइ सहयोग गर्नेछ अब घर फर्किनुस !” त्यति ठुलो मानिसहरुको समूह देखेर आत्तिएको मैले लाचार भएर उनीहरुको सान्त्वना स्वीकार्दै घर फर्किनु पर्यो |

त्यसरात मेरो जीवनको सबै भन्दा कष्टपूर्ण रात बन्यो, इध्याको त्यो अवस्था देखेर मेरा आँखाले आसुँ थाम्न सकिरहेका थिएनन्, कसैको मुहारमा पनि उत्साह थिएन सबैले हारिसकेका थिए | म भने उसलाई होसमा फर्काउन उसका हात खुट्टा मुसार्दै, पानी छ्य्प्दै, हम्कदै थिएँ | त्यतिकैमा लालसेनाको महिला झुण्ड आइपुग्यो, उनीहरु केहि दबाई र सुइ सहित आएका थिए | हामि सबैलाई बाहिर जान भनेर उनीहरुले ढोका लगाए | “हामीले हाम्रो दिमागमा बनाएको चित्र झैँ हैन रहेछन क्रान्तिकारी, उनीहरुपनि मानव नै रहेछन” भन्ने बुझेर बार्दलीमा टोलाउदै बसिरहें | पारीपट्टी दरवांङ् गाउँमा पनि चहलपहल देखिन्थ्यो त्यो रात |

चैते घामले उज्यालो बनाएको भोलिपल्टको बिहानीले भने राम्रो दिनको सङ्केत गर्यो, बिहानै इध्याको पनि होस खुल्यो, त्यसपछि बल्ल आत्तिएको मेरो मनलाइ केइ शान्ति मिल्यो | क्रान्तिकारीहरु पनि जुनकिरी जस्तै रातमा मात्र देखा पर्ने, निकै सिपालु | रातिको अवस्थाको ठिक विपरित दिनको त्यो सामसुमको माहोल र जनतालाइ पनि गाउँमै बन्दी बनाएपछी बिचरा सरकारी भात खाएर व्यारेकमा बसेका सिपाहीहरुलाई कसले दियोस सुचना | घरघरमा क्रान्तिकारीहरु पसेपनि शान्त थिए त्यो दिन गाउँ र गाउँले | अबको तिन दिनपछी बेनीमा ठुलो हमला गर्ने तयारि छ भन्ने गाइगुइ बाहिरीएपछी त गाउँले कोहिपनी घर बाहिर निस्केनन् | शुन्यताको त्यो माहोलमा म भने आतंकित थिएँ, होस खुलेदेखि इध्या पीडाले छट्पटाउने, कहाल्लिने गर्थी, ‘चिच्याउथी’ | उसले पाएको पीडाले कता कता चोट मलाइ लागेझैँ दर्द हुन्थ्यो | त्यसदिन दिनभरी प्रशव पिडाले उसलाई छोडेन, आत्तिएको मैले त्यसदिन सबै देवीदेवता पुकारें “हे इश्वर भलो गर”, भगवती देवीलाई भाकल गरें “हे देवी रक्षा गर” | इध्या सँग पनि मनैमन माफी मागें “माफ गर!, तिमीले इच्छा गरेपनि यो पिडामा तिमीलाई कहिल्लै पर्न दिन्न!, एकचोटी उठेर बोलिदेउ “केइ हुन्न मलाइ”भनिदेउ”| केइ राम्रो आशा दिलाउने लालसेनाका महिला सिपाहीहरु सँग पनि बिन्ति चढाएँ “मेरो जीवन जोगाइदिनुस” | यसरि उसको दुखमा छटपटी हुँदा मलाइ पनि तेतिकै पिडा भोग्नु परेको थियो बार बार तेस दिन |

झमक्क साँझ परिसकेपछि मुक्तिसेनाका समुह फेरी गाउँभरि देखिन थाले | रातिको कारीब दश बजे दरवांङ् तिर बाट अचानक ठुलो ठुलो भएंकर आवाज फैलियो वातावरणमा | बन्दुक र बिष्फोटक बमको आवाजले त्रसित सबै जना घर भित्र लुक्न पुग्यौ, वास बसिसकेका चराचुरुंगी आकाशभरि फेरामार्दै महासंकटको लक्षण दिन थाले | बेनी बजारको घरघर र कार्यालयका झ्यालहरुमा पोजिसन सेट गरेर आक्रमण सुरु गरेका थिए क्रान्तिकारीले | मंगलघाट बजारतिर बाट पनि धेरै बेर सम्म गोलीको आवाज सुनियो, शाही सेनाले पनि ठुला ठुला बमले प्रतिकार गर्यो, त्यो बमिंगले पूर्वको डाँडामा पुरै आगो फैलियो | बेनीको जेलमा पनि आक्रमण सुरुभयो, सारा कैदीहरु मुक्त गरीए र कारागार ध्वस्त पारियो | बजारका घर, कार्यालय, पसलहरु पनि आगोमा दन्किन थालेको देखियो, महिला बालबच्चाको चित्कार हाम्रो गाउँसम्म सुनियो | यता त्यो महाभिडन्तको साक्षि बन्न नपाएको हाम्रो सन्तान नर्क झैँ यो कहालीलाग्दो संसारमा आउन अझै संघर्ष गरिरहेको थियो, इध्याको संघर्ष उस्तै थियो | तेसरात कोहिपनि सुतेनन्, सबै कामना गरिरहेका थिए ‘त्यो समयको अन्त्यको, सबैको सुरक्षाको’ | बम बारुद बर्सिरहेको, बन्दुक पड्किएको, जताततै चित्कारको आवाज गुन्जिएको त्यो अवस्था बिस्तारै साम्य हुँदै गयो | बिहानीको दुइ तिन बजेपछी शुन्यताले जित्यो र म बार्दलीमा उक्लेर भएंकर त्यो कालको साक्षि बनिरहें | आकाशमा चरा तेस्तै घुमिरहेकै थिए, सबैतिर चकमन्नता छाएको थियो | तेत्तिकै मा चकमन्नता तोड्यो एक आवाजले | त्यो आवाज थियो इध्याको पीडाको, उ हिजो भन्दा झन् जोरले चिच्याउन थाली मेरो मनमा भूकम्प ल्याउने गरि | सामसुमबाट सुरु भएको भिडन्तले जतिनै उग्र रुप लिएपनि अन्त्यको चकमन्नता नै सत्य रहेछ, इध्याको पीडाको पनि त्यो सायद चरम अवस्था थियो क्यारे, शान्ति छायो सबैतिर | एकछिनपछी च्या…. च्या गर्दै बच्चा रोएको आवाजले मेरा कान भरियो | इध्याले ठुलो संघर्ष गरेर मलाइ दिएको उपहार “हाम्रो सन्तान” जन्मियो |

क्रान्तिकारीहरुले कब्जा गरिसकेको बेनी बजारको आकाशमा भोलिपल्ट हेलिकप्टरहरु देखा परे | त्यसपछि दिनभरी जस्तो तनाबकै स्थिति बन्यो बेनी बजार र आसपासको क्षेत्रमा | हेलिकप्टर बाटै आक्रमण र हतियार ओसारपसार भयो, त्यसको भोलि पल्ट क्रान्तिकारी हरुले बजार छोडे तर आक्रमण भने जारि थियो | यसरि मैले बाल्याकाल देखि देख्दै आएको बेनी बजार, यति लामो इतिहास भएको बेनी बजार, मेरो जीवनको हरेक पाटो सँग जोडिएको बेनी बजार केहि दिनमै खण्डहर भयो, बेनी बजारका ति सुन्दर भवनहरु ध्वस्त भए, ठाउँ ठाउँ बाट आगोको मुस्लोको कालो धुवाँ केहि दिन सम्म उडीरह्यो | तिर्थयात्री भेटिने बेनीको शडकमा गोलीका छर्रा हरु देखिन्थे, व्यारेकमा ठुलो भिडन्त भयो “जनधनको क्षति निकै भयो” | बेनीका बिभिन्न मन्दिरहरु पनि ध्वस्त भएछन “भगवानपनि सखाप पारे, अब इश्वर छैन्, कलीले छोपीसक्यो” भन्नु हुन्थ्यो आमा | साच्चै भगवान द्द्वार सृजित यो सुन्दर संसार मानवले विथोल्दै छ अहिले पनि | त्यस घटना पछी गाउँघर रित्तियो, धेरै मान्छे पलायन भए | देशको लागि युद्दमा गाउँ रित्ताएर हिडेका मेरो पुस्ताका युवाहरु र आजकल देशकै लागि विदीशिने युवाहरुको पिडा त अझै पनि उस्तै देख्छु म |

दोभानको त्यो खेल मैदानमा खेल्दा खेल्दै धेरैपटक लडेको छु म, तर उठ्नै नसक्ने गरि चिर शान्तिमा स्थित भएका प्रहरी, विद्रोही र आम जनताका लासहरु तेइ मैदान मा लडेको देख्दा म निकै भावुक भएको थिएँ | तब मेरो साथि सोनामको पनि मलाइ झल्झल्ती याद आएको थियो | “मर्ने त सबै नेपालि आमाहरुका सन्तान हुन्” भन्ने सोचेर म व्याकुल भैरहेको थिएँ | हाम्रो सन्तान जन्मिएपछी मैले जीवनको श्रोत सुन्यता हो र अन्त्यपनि शुन्यता नै हो भन्ने बोध गरेको थिएँ | वास्तवमा बाचुन्जेल रोइकराई गर्ने हामीले शुन्यताको त्यो पहेली बुझ्ने कोशिश नै गर्दैनौ | हामीले मान्ने गरेका इश्वर तेइ शुन्यतामा अवास्थित छन् जहाँबाट सृष्टि र अन्त्य दुबै हुन्छ | इश्वरमा लिन हुनु तेइ शुन्यतामा लिन हुनु हो | ति शहिद भएका सबै चिर शान्तियुक्त शुन्यतामा लिन भएका हुन, ति सबै संसारिकताको पीडाबाट मुक्त भए भनेर मैले मन बुझाएँ, कालिगण्डकीको आसपास जन्मिएर, जीवन भोगेर तेइ कालीगण्डकीको बगरमा धुवाँ बनेर उड्यो सबैको जीवन |

इध्या तिमीलाइ दिएको वचनमा म अडिग छु, जीवनभर म तिमिबाहेक कसैको हुनेछैन | बाल्याकाल देखि तिमीले दिएका प्रत्यक पलहरु का प्रत्यक सम्झनाहरु म सँगालेर राख्नेछु | यो गाउँपनि म छोडेर जाने छैन इध्या किनकि यहाँको पधेरोमा, देउरालीमा, गुराँसको वनमा, खेतबारीमा जताततै तिमि मसंगै हुन्छौ | तिमीले दिएका प्रत्यक पल मेरा लागि उपहार हुन्, यसरि नै उपहारहरु पल्टाएर, केलाएर तिम्रो यादमा मरिसकेको आत्मा लिएर बाँच्ने छु |

प्रसव पीडाले छटपटिएकी इध्या र नेपाल आमाको दुख उस्तै लाग्यो त्यो दिन मलाइ र मनैमा नेपाल आमालाई कल्पिएँ “धिर हौ आमा, पिडा छिट्टै कम होस तिम्रो, शान्ति छिट्टै जन्मियोस, तिमीले मर्नु नपरोस् आमा, शहिद हुनु नपरोस् | डाक्टर र उपचार मिलोस, युद्दले तिमीलाई नाखावोस मेरी प्यारीलाई जसरी” |

सारा पिडाबाट मुक्त, शान्तिको गहिराइमा डुबेर एकोहोरो मन्द मुश्कान सहित चिताको बिछ्यौनामा सुतेकी मेरी प्यारी इध्यालाइ मैले आफ्नै हातले दागबत्ती दिएको थिएँ | त्यसदिन मैले आफ्नै प्राण, आफ्नै ज्यानमा आगो लगाएँ |

“बाबा आकाश तिर के हेरेको ?, त्यो चिम्टी र ऐना पनि किन फालेको त्यसरी बाबा?”

“बाबु, आकाशको त्यो गहिराइमा उपहारहरुको महासागर छ तेइ हेरेको, त्यो विशाल आकाशपनि साँघुरो भएको छ इध्याले दिएको उपहारै उपहारले, वसुधारले |”

विवेक अरुन्य काफ्ले

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X