Register
A password will be e-mailed to you.

मालाको हातमा एउटा झट्टै टुंग्याउनुपर्ने काम थियो-आफ्नो श्रीमान प्रितमको निम्ति खाजा बनाएर टिफिनमा हाली दिनुपर्ने। बाथरुमको दहिलोमा परेको पानीको छरकाईले बुझिन्थ्यो कि प्रितम अब आधा-उधी नुहाई सकेका थिए। उनी चाँडै नै तयार भएर अफिस हिंड्नेछन्। तर यता भान्साघरमा भने खाजा नपाकेर केवल सोचाईहरु पाकी रहेका थिए- मालाको दिल-दिमागमा।

अघिल्लो रात, ‘यी छ महिना सारै नै गाह्रो परि बित्यो मेरो’ निराशापूर्वक यती भनी प्रितम थपक्क भित्तापटि फर्कि निदाएका थिए। हिजो रातिको यो कुरोलाई मालाले सयौं पटक मनमा ओल्टे-कोल्टे पारि खेलाई सकेकी थिई। जति नै बिर्सने प्रयत्न गरेपनि त्यो वाक्य अड्किएको टेप रेकर्ड झैं घरीघरी मालाको मस्तिकमा बजि नै रहेको थियो।

दुई पनिउ चाम्रे भुट्ने काम आज पहाड़ हल्लाउनु पर्ने ज्योतिको गाह्रो लागिरहेथ्यो मालालाई। न दुखेको भन्नु न पोलेको भन्नु, हजारौ सुईहरुले मनमा एकैचोटी प्रहार गरेको जस्तो लाग्ने, उकुस-मुकुस पार्ने र सास फेर्न गाह्रो भएको जस्तो मालाको हालत थियो। मनलाई अलिक हल्का बनाउनमा माला एउटा लामो स्वास फेर्छे अनि लसुन काट्न र प्याज कुच्चाउन थाल्छे। होइन हो यो त उल्टो काम पो भएछ भनी दिमागलाई अलि ठेगानमा ल्याई उ प्याज काट्न थाल्छे अनि त्यस पछि लसुन पिस्छे। आँखाबाट तरर आँसु चुइन्छ। यस चोटी ल्याएको प्याजका दाना निकै नै रागिला रहेछन् भन्दै उ आफ्नो मन बुझाउँछे।

कराईमा खारिँदै गरेको तोरीको तेलको पिरो राग नाक भित्र लिँदै उ फेरि हिजो रातीको कुरा सोची विचलित हुन्छे। त्यो पिरो रागले जल्दै गरेको उसको मुटुलाई अझै ज्वाला दिन्छ। बिहेका ई छ महिना बिताउन प्रितमलाई यति गार्हो परेको रहेछ भन्ने कुरा उसलाई थाहा थिएन। उ भने कति खुशी थी ती दिनहरुमा। आफुले सोचेको जस्तो कहाँ हुँदोरहेछ र संसारमा! मालाको मनले यी सबै व्यथा खेलाइरहेको बेला उससका हात तेज गतिले चल्दै हुन्छन् र अब भान्साघरमा प्रितमको खाजा पनि पाकी सक्छ।

काममा जान अघि हत्तार-हत्तार चिया पिउँदै प्रितम टेबलमा फैलिएको पत्रिकामा ध्यान गाड़ी बसिरहेका थिए। उनको छेउमा एउटा कुर्सीमा माला अत्यन्त शान्त भई बसेकी थिई। प्रितमको नजरले मालाको त्यो होंठको बंगाई र पसिनासरीको निधार हेर्न भ्याएकै थिएन। चिया सिध्याई प्रितम कुर्सीबाट उठ्छन् र हिँड्ने तत्पर गर्छन्। माला पनि कुर्सी छोड़ी उठ्छे र प्रितमको पछि उभिन्छे।

चिसो स्वरमा पछिबाट माला भन्छे- ‘मलाई त थाहा नै थिएन कि हाम्रो बिहेको 6 महिना बिताउन हजुरलाई कस्तो गाह्रो परेको रहेछ।’ झट्ट माला पट्टी फर्की सानो स्वरमा प्रितम भन्छन्- ‘मलाई माफ गरिदेउ माला। मेरो कामको चिन्ताहरुमा म तिमीलाई भागी बनाउन चाहन्न थिएँ तर मेरो बिग्रिएको मिजाजले गर्दा शायद तिमीले चाल पायौ होला। हो नी ई ६ महिना मलाई अफिसमा अति नै गाह्रो परि रहेको थियो। हाम्रो बिहेपछि अफिसमा आएका मेरा नयाँ म्यानेजरले मलाई साह्रो काम दलाउँछन्। एक सेकेण्ड स्वास फेर्न पनि दिँदैनन्।’

यो सुनेर मालाको मुखमा दही जामे जस्तो हुन्छ। उ एक भन्नु न दुई भन्नु हुन्छे। प्रितम भन्छन्- ‘त्यो सबै मैले अब सम्हालिसकेको छु। तिमीले सुरताउनु पर्ने छैन। आज चाँडै घर फिर्ने प्रयास गरौंला है। लू अब म हिंडे’- भन्दै प्रितम खाजाको डब्बा बोकी अफिसतिर लाग्छन्। त्यसदिन उपरान्त मालाले पूरा कुरा नबुझी व्यर्थमा दिमाग तताउने काम नगर्ने निश्चय गर्छे।

Leave a Reply